Thursday 25th April 2024

लघुकथा “विचार र अनुभूति” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – एक दर्जन भन्दा बढी पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित आदरणीय साहित्यकार नन्दलाल आचार्यले मिति २०७८/६/२१ गते हाम्राे लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “विचार र अनुभूति ” पढेपछि मेराे पाठक मनमा आएका विचार र अनुभूतिलाई यहाँ पस्कने जमर्को गरेकी छु । केहि भुलचुक भएमा साहित्यकार ज्युले ओैल्याईदिनु हुनेछ भन्ने आशा गरेकी छु ।

साहित्यकार नन्दलाल आचार्यलाई मैले लघुकथा समाज प्रदेश १ काे प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कथा ” छुटप्रसाद” पढेपछि सुनेकी र चिनेकी हुँ । त्यसपछिका दिनमा म उहाँका कथाहरु देख्नेबित्तिकै पढछु । उहाँ बेलका नगरपालिका -२, सिध्दार्थटाेल, गल्फरिया, उदयपुरका स्थायी बासिन्दा र श्री जनता माद्यमिक बिद्यालय गाेलबजार-४, सिराहाका शिक्षक हुनुहुन्छ ।

उहाँका प्रकाशित कृतिहरु युग उचाल्ने अक्षरकर्मीकाे अबसान( नाटक २०६६), गरुराहा ( उपन्यास २०७६),
एक हाते जीवन ( निबन्ध २०२१), पुण्य कार्कीको कथाकारिता ( समालाेचना २०७७), समय शल्यक्रिया (कथा संग्रह) , इच्छुक बकपत्र ( निबन्ध संग्रह ),टुक्के दिदी र उखाने दाइ ( बाल एकाङ्की ),जुइनाे (कथा संग्रह) र छुटप्रसाद ( लघुकथा संग्रह) रहेका छन् ।

प्रस्तुत लघुकथा बिचार र अनुभुतिमा मनुष्य भित्र दुई शत्रुका रुपमा रहेका विचार र अनुभुती दुई पात्र रहेका छन् । शत्रु १ र शत्रु २ ।

एकपटक यस सृष्टिको खातिर भन्दै दुई शत्रुका बिच अन्तरक्रिया भएको थियाे । एकले अर्कोलाई दाेषाराेपण गर्ने क्रम जारी थियाे । पहिलाेले भन्याे – तँ मान्छेलाई अलमल्याउन माहिर छस् ।वर्तमानलाई ओल्टाईपल्टाई गरेर जीवन चल्छ र ? अर्कोले निकैबेर साेचविचार गरिकन दिव्यज्ञान प्राप्त भएझैं आफ्नै स्वभाव विपरीत बाेलेझैं मान्दै सतर्क बन्याे ।
पुन: पहिलाे नै बाेल्याे मेराे प्रश्नको जवाफ दिन नसके म सँग लम्पसार परेर क्षमा माग्दा भईगयाे नि । किन आलटाल गर्नुपर्याे ? यस्तो पहिलाेकाे विचार सुनेर दोस्रोलाई खपिनसक्नु भयाे रिस उम्लेर आयाे ।तुरुन्तै उसले आफुलाई सम्हाल्दै रिसाााउनु र रिस प्रकट गर्नु अर्कोकाे काम हाे भन्ने साेच्दै सहज भावमा भन्याे सरी, अहिले केहिबेर छुट छ भन्दैमा मख्ख नपर तिमी र म बिच आकाश जमिनकाे सम्बन्ध छ ।म भएको ठाउँमा तिम्रो प्रवेशमा निषेध छ । तिमीकहाँ म आफ्नो स्वभाव लिएर आउने कुरै आउदैन ।पहिलाे साेचमा डुवेकै बखत दोस्रोकाे स्वर थपियाे तिमी मनुष्यलाई दास बनाउछौं म मनुष्यलाई सम्पूर्ण रुपमा दासताबाट मुक्ति दिलाउछु ।
अन्त्यमा दुवैको अन्तरक्रियाबाट बाहिरी जगत पहिलाेले र भित्री जगत दाेस्राेले घुमाउने निचोड निस्कयाे र आ आफ्नो स्थानमा रवाना भए । ती दुई शत्रु १ काे भुमिकामा मनुष्यकाे विचार र शत्रु २को भुमिकामा मनुष्यकाे अनुभुती रहेकाे थियाे । यसरी कथाकाे अन्त्य भएको छ ।

कथामा दुई शत्रु विचार र अनुभूति मनुष्य जीवनमा सदैव रहिरहन्छ र एकअर्कालाई शत्रुको रुपमा हेरेपनि दुवैको सहकार्य विना जीवन चल्न सक्दैन भन्ने शाश्वत सत्यलाई कथाले उजागर गरेकाे छ । एउटा जीवनकाे दुईपाटाकाे रुपमा विचार र अनुभूतिलाई लिईएकाे छ । बिचारले एउटा बाटाे देखाउछ भने अनुभूति वा अनुभवले अर्को । विचार भन्दा अनुभव केही परिपक्व रहेकाे हुन्छ भन्नेकुरालाई सम्वादकाे माध्यमबाट प्रष्ट पारिएको छ । याे बिचमा जबसम्म दुईको सहमति हुन सक्दैन तबसम्म मनुष्यले कुनै निर्णय लिन सक्दैन अनिर्णयको बन्दी हुन्छ भन्दै अन्त्यमा कथाकारले दुईको सहकार्य, सहयाेग र सहयात्रामा जाेडदिदै कथाकाे अन्त्य भएको छ ।
कथालाई प्रतिकात्मक रुपमा हेर्दा कुनै पनि दुई शक्तिले आफुलाई नै ठुलाे ठान्छन् तर परिवर्तनको लागि दुवैको उत्तिकै महत्व रहेको हुन्छ । एक रथका दुई पाङ्ग्रा जसरी सँगसँगै हिडेमा मात्रै परिवर्तन हुनसक्छ भन्नेतर्फ पनि कथाले संकेत गरेकाे छ ।

२४० शब्दमा लेखिएको कथा सरल र सुवाेध्य छ । जीवन र जगतकाे सत्यता उजागर भएको छ । कथा सकारात्मक परिवर्तनको बाहक रहेकाे छ । सहयोग र सहकार्यमा जाेड दिदै जस्तोसुकै समस्या पनि अन्तरक्रिया वा वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने शाश्वत सत्य उजागर गर्न सफल हुनुभएको छ कथाकार ।कथा शत्रुता बाट शुरु भई सहमतिमा अन्त्य भएको छ यसकारण लघुकथाकाे मानकमा थपक्क बसेकाे अनुभव भएकाे छ मलाई ।

अन्त्यमा सिध्दहस्त साहित्यकार नन्दलाल आचार्यज्युकाे साहित्यिकयात्राले सगरमाथाको शिखर चुमाेस । शैक्षिक क्षेत्रमा नेपालका सरकारी बिद्यालयका शिक्षकहरु सिर्जनशील छैनन भन्ने जनमानसको भ्रम चिर्न सफलहुनुहाेस भन्दै उहाँको सु-स्वास्थ्य, दिर्घायु तथा अटल श्री बृध्दीकाे कामना गर्दछु ।

गठ्ठाघर, भक्तपुर

लघुकथा– विचार र अनुभूति
–नन्दलाल आचार्य

एक पटक यस सृष्टिको कल्याणका खातिर भन्दै दुई शत्रु बीच आमनेसामने भएर अन्तरक्रिया भएको थियो ।
‘एई, तँ मान्छेलाई अलमल्याउन माहिर छस् । वर्तमानलाई ओल्टाईपल्टाई गरेर पनि जीवन चल्छ र ?’
शत्रु–१ को विचार सुनेर शत्रु–२ को अनुभूति केहीबेर अलमलमा पर्यो । उसले शत्रु–१ का कुरामा निकैबेर गम खायो । केहीबेरमै उसलाई दिव्यज्ञान प्राप्त भएझैँ लाग्यो । आफूले आफ्नै स्वभाव कुल्चेको ठहर भयो र तुरुन्तै सतर्क बन्यो ।
‘मेरो प्रश्नको जवाफ दिन नसके मसँग नै लम्पसार परेर क्षमा माग्दा भइगयो नि ! किन आलटाल गरिराख्नु पर्यो ?’
शत्रु–१ कोे व्यङ्गयात्मक विचार र कटु कुरा सुनेर शत्रु–२ को अनुभूतिलाई खपिनसक्नु भयो । भित्री मनदेखि नै रिस उम्लेर आयो ।
रिसाउनु र रिस प्रकट गर्नु शत्रु–१ को काम हो; आफ्नो हुँदै होइन भन्ने सोचेर शत्रु–२ ले सहजभावमा भन्यो; ‘सरी, अहिले केहीबेरलाई छुट छ भन्दैमा मख्ख नपर । म र तिमी बीच आकाश–जमीनको सम्बन्ध छ । म भए ठाउँमा तिम्रो प्रवेश निषेध छ । तिमीकहाँ म आफ्नो स्वभाव लिएर जाने कुरै आउन्न ।’
शत्रु–१ सोचमा डुबेकै बखत शत्रु–२ को अर्को स्वर थपिएको थियो; ‘तिमी मनुष्यलाई दास बनाउँछौ अर्थात् कैद गर्छौ । म मनुष्यलाई सम्पूर्ण रूपले दासत्वबाट मुक्ति दिलाउँछु ।’
अन्ततः दुबैको अन्तरक्रियाबाट मनुष्यलाई बाहिरी जगत् शत्रु–१ ले विचरण गराउने कुरा भयो । भित्री जगत् भने शत्रु–२ ले घुमाउने निचोड निस्कियो । यसै कुरामा ल्याप्चे लगाएर उनीहरू दुबै आआफ्नो स्थानमा रवाना भए ।
ती दुई थिए– शत्रु–१ को भूमिकामा मनुष्यको ‘विचार’ र शत्रु–२ चाहिँ मनुष्यको ‘अनुभूति’ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...