Friday 26th June 2026

घरमै पनिर कसरी बनाउने ?


आरबी बुढाथोकी-तीतोपाटी डटकम-घरमै पनिर कसरी बनाउने भन्ने सवाल धेरैका हुन्छन् । पनिर बनाउन खासै गाह्रो पनि छैन र धेरै सामग्रीको आवश्यकता पनि पर्दैन ।पनिर दूधबाट बनाइने एक शुद्ध शाकाहारी परिकार हो । पनिर बनाउन भैसीको पानी नमिसाएको शुद्ध बाक्लो दूध भयो भने उत्तम हुन्छ ।

लगभग ५ प्रतिशतभन्दा माथि फ्याट भएको दूध पनिर बनाउन उत्तम मानिन्छ । पनिरबाट सयौं विभिन्न परिकार बनाउन सकिन्छ । पनिरका परिकारहरू विश्वभरका होटल रेस्टुरेन्टमा सहज पाइन्छ र पछिल्लो समय घरायसी प्रयोजनमा पनि व्यापक उपयोग हुन थालेको छ । माछामासु नखानेका लागि पनिर उत्तम विकल्प मानिन्छ ।

पनिर बनाउन चाहिने सामग्रीः

धेरै फ्याट भएको बाक्लो दूध २ लिटर, कागतीको रस या भिनेगर १५ एमएल, पातलो सुतिको कपडा १ मिटर

पनिर बनाउने विधिः

सर्वप्रथम दूधलाई बाक्लो कराइ या डेक्चिमा उमाल्ने र एकछिन हल्का चिसो हुन दिने । केही चिसो हुनासाथ कागतीको रस या भिनेगर हालेर छाडिदिने । २ या ३ मिनेटपछि बिस्तारै चलाउने र दूध फाटेर चोक्टा पानी छुट्टिँदै जान्छ।यसरी फाटेको दूधलाई पातलो कपडामा छान्ने र पानीको मात्रा सबै छुट्याउने । यसरी तयार भएको छेक्रालाई छेना भनिन्छ र यो धेरै इन्डियन मिठाइ बनाउन पनि प्रयोग गरिन्छ ।

तयार भएको छेनालाई कपडाले बाँधेर बराबर लेबल मिलाएर माथिबाट केही गहकिलो वस्तुले थिचेर १ रात फ्रिजमा चिस्याउने । भोलिपल्ट पनिर सेट भएर तयार हुन्छ ।यसरी कडक भएर सेट भएको पनिरलाई ब्लक–ब्लकमा काटेर पानीमा भिजाएर स्टोर गर्न सकिन्छ र लामो समयसम्म प्रयोग गर्न मिल्छ । पनिर तयार भएपछि यसबाट यावत परिकारहरू पनि घरमै बनाउन सकिन्छ ।

पनिरबाट के–के परिकार बन्छ ?

माथि भनिएजस्तै पनिरबाट सयौं परिकार तयार गर्न सकिन्छ । जस्तो कि पनिर टिक्का, जाफरनी पनिर, पनिर बटर मसला, मटर पनिर, कडाइ पनिर, कुर्चन पनिर, पनिर लबाबदार, पनिर करी, पनिर भुजुरी, पनिर टिक्की, पनिर नान, पनिर पराठा, पनिर काठी रोल, पनिर जाल्फ्रेजी, तिरङ्गा पनिर, अचारी पनिर, तावा पनिर, पनिर चिल्ली, पालक पनिर, दम पनिर, पनिर बिर्यानी, शाही पनिर, मुग्लाई पनिर, पनिर कोफ्टा, पनिर पकोडा, पनिर कोर्मा, मेथि पनिर, अम्रितसरी पनिर, नवाबी पनिर, पनिर पसन्द, कोल्हापुरी पनिर, कास्मिरी पनिर आदि प्रसिद्ध छन् । जुन परिकारहरू व्यावसायिक रूपमा विश्वभर चलेका छन् ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...