Tuesday 17th March 2026

काबुलबाट फर्केका नेपाली भन्छन्- ‘सबै थोक पैसा नै रैन’छ


तितोपाटी- धनकुटाका विकासचन्द्र थापाले अफगानिस्तानस्थित अमेरिकी दूतावासमा ११ वर्ष काम गरे । एक महिनाअघिसम्म सबै ठीकठाक नै चलिरहेकाे छ । तर, एकाएक अफगानिस्तानमा तालिबान हाबी भयाे । नभन्दै राजधानी काबुल कब्जा गरिछाड्याे । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा थापा बेलायत हुँदै काठमाडाैं ओर्लिएका छन् ।त्रिभुवन विमानस्थलमा थापासँग हामीले केही बातचित गर्‍याैँ । ‘तालिबान काबुल छिर्दै गरेको थाहा पाउँदा तपाईंहरूले कस्तो महसुस गर्नुभयो ?’

थापाले अफगानिस्तानमा सानोतिनो लडाइँ, आक्रमण सामान्य लाग्ने गरेको जवाफ दिए । ‘यसअघि मैले आँखैअगाडि भयानक लडाइँहरू देखेँ । मृत्यु देखेको थिएँ । पछिल्लो घटनाले चाहिँ राजनीति नै उलटपुलट गरेकाले संसारको ध्यान खिचेको हो’, उनले भने ।
अफगानिस्तानमा विगतमा भएका आक्रमण कम भयानक नरहेकाे उनी सम्झिन्छन् । ‘हिजोको त्यो अफगानिस्तान बसाइँ सम्झिँदा सपनाजस्तै लाग्छ । दैनिक बम हमला हुन्थ्याे । कतिबेला मरिन्छ भन्ने टुंगो हुँदैन थियो’, उनले भने, ‘अफगानिस्तानमा मृत्युलाई रोजगारी ठानेर काम गरियो । पैसाभन्दा ठूलो संसारमा केही होइनजस्तो लाग्थ्यो ।’
अफगानिस्तानमा कुनै बेला भात खाँदा पनि बम हमला हुन्छ भनेर हतियार बोकेर बस्नुपरेको उनी स्मरण गर्छन् । हरेक दिन बम पड्किने र गोली चल्ने गरेको उनले सुनाए । उनी सेनाको जागिर छाडेर अफगानिस्तान हानिएका थिए ।यस्तै, अफगानिस्तानमा ९ वर्ष काम गरेर फर्किएका चितवनका सन्ताेष अधिकारी पनि मृत्युलाई साक्षी राखेर पैसा कमाएजस्तो लाग्ने गरेको बताउँछन् । उनी पूर्वमाओवादी कमान्डर हुन् । जीवनको मूल्य कति हुन्छ भन्ने कुरा अफगानिस्तान पुगेर थाहा पाएकाे उनी बताउँछन् । कतिपय गाउँका अफगानी नागरिकले युद्धका बेला दुई छाक राम्रोसित खानसमेत नपाएको घटना देखेको अधिकारी सुनाउँछन् ।

अमेरिकी सेना गस्तीमा हिँड्दा नेपाली सुरक्षा गार्डसमेत साथ लिएर हिँड्थे । अधिकारीका अनुसार त्यतिबेला तालिबान लडाकुको बम हमला परिन्छ भन्ने त्रासमा हिँड्नुपर्थ्याे । अमेरिकी र अन्य देशका सेनाले पक्रिएका लडाकुले खानका लागि युद्धमा लागेको बयान दिने गरेकाे उनी सम्झिन्छन् ।
कतिपय अफगानीले युद्धसँगै भोकमारीलगायतका समस्याका कारण अत्माहत्या गरेकाे, देशै छाेडेर हिँडेकाे दृश्य पनि अधिकारीले देखे ।
सन् २००१ यता अधिकारी र थापाजस्ता करिब १५ हजारभन्दा धेरै नेपाली अफगानिस्तानस्थित अमेरिकी, युरोपेली देश, जापान र क्यानडाका दूतावासमा सुरक्षा गार्डको रूपमा काम गरेका छन् ।
अफगानिस्तानलाई तालिबान लडाकुले कब्जामा लिएपछि रोजगारीका लागि त्यहाँ पुगेका नेपाली कामदारहरू स्वदेश फर्किन थालेका छन् ।
मंगलबार दिउँसो १ सय १८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका परराष्ट्र मन्त्रालयले जनाएको छ । अफगानिस्तानबाट फर्किएका नेपाली कामदारको खर्च सम्बन्धित देशकै नियोगहरूले बेहाेरेकाे मन्त्रालयकाे भनाइ छ । अफगानिस्तान तालिबान लडाकुले कब्जा गरेपछि यूएई, कुवेत, कतार र लण्डन हुँदै नेपाली कामदार फर्किन थालेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।
जर्मन र जापानकाे दूतावासमा कार्यरत ४ सय ३७ जना नेपालीहरू भने अफगानिस्तानमै छन् । उनीहरूलाई पनि यसै साता नेपाल ल्याउन तयारी रहेकाे मन्त्रालयले जनाएको छ ।  अफगानिस्तानस्थित अमेरिका, युरोपियन युनियन र डेनिस दूतावासमा कार्यरत ५ सय ४६ जनालाई अमेरिकी एयर फोर्सले कतारको दोहा पुर्‍याएको छ । उनीहरूलाई चार्टर्ड विमानबाट नेपाल ल्याइने छ ।
दुई वर्षयता १ हजार ५ सय नेपाली मात्रै वैधानिक बाटो भएर अफगानिस्तान गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । तर, यो अवधिमा ५ हजारभन्दा धेरै नेपाली रोजगारीका लागि अफगानिस्तान पुगेको सरकारी अनुमान छ । अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइटमा नामसहितका विवरण दर्ता गर्न भाइबर र हृवाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । यो समचार रमेश भारतीले शिलापत्रमा लेखेका छन


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...