आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ ।
नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा बसेको हो । तासको जन्मदाताको रूपमा गोविन्दप्रसाद तिवारीलाई मानिन्छ ।
कास्कीबाट विक्रम संवत् ३०३५ सालमा चितवन सरेका थिए उनी । २०४४ सालमा भेटघाट रेस्टुरेन्ट खोलेर अफ्फ्नै घरायसी मसला प्रयोग गरेर तास पस्कन थालेका थिए ।
चितवनको तास बनाउन चाहिने सामग्री :
छाला, फलमासु र बोसो मिसिएको खसीको मासु ५०० ग्राम, तोरीको तेल ४० एमएल, थिचेको अदुवा लसुन ३ चिया चम्चा, मसिनो गरी काटेको प्याज ३० ग्राम, मसिनो गरी काटेको हरियो खुर्सानी ४ पिस, नून स्वाद अनुसार, जीरा धनियाँको धुलो एक र आधा चिया चम्चा, कुटेको सुकेको खुर्सानी आधा चिया चम्चा, मरिचको धुलो १/४ चिया चम्चा, बेसार १/२ चिया चम्चा, मसिनो गरी काटेको हरियो प्याज २ पिस, हरियो धनियाँ १/२ मुठा, गरम मसलाको धुलो १/२ चिया चम्चा, टिमुरको धुलो १/२ चिया चम्चा, कागतीको रस २ चिया चम्चा ।
चितवनको तास बनाउने तरिका :
मासुलाई सानो–सानो पिसमा स्लाइस गर्ने र दिइएको सम्पूर्ण नून मसला हालेर १ रात पहिला नै मोलेर फ्रिजमा राख्ने । पकाउनुभन्दा आधाघण्टा पहिला निकालेर रूम टेम्परेचरमा राख्ने । बाक्लो खालको तावा या प्यान तताउने र मासुलाई ओइराइदिने । मध्यम आँचमा चलाइचलाई पकाउने । १२–१५ मिनटमा तास पटपट गरेर पड्कदै मज्जाले पाक्छ । एउटा प्लेटमा भुजा या चिउरा हाल्ने र साइडमा काक्रो मुलाको अचार, सलाद र बीचमा पाकेको मटन तास राखेर काटेको धनियाँ हालेर सर्भ गर्ने ।
फरक–फरक रेस्टुरेन्टमा फरक–फरक तवरबाट पस्कने भए तापनि तासको महत्त्वपूर्ण पक्ष भनेको मासु भुट्दा मसलाको झुर्का आउनु जरुरी छ र डढ्नु पनि हुँदैन ।
पछिल्लो समय कुखुरा, रागो, बँदेल, बंगुर, टर्की, अस्ट्रिच, कालिज, बटाइ, लोकल कुखुरा, भेडा, च्यांग्रा, चौरी वा अन्य मासुको पनि तास बनाउन थालिएको छ तर पुरानो संस्कार भनेको खसीकै मासुबाट बन्ने हो र पुरानो मिठास पनि यसैमा मिल्ने तासका पारखीको राय छ ।
#दि सोल्टी काठमान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।