Wednesday 10th September 2025

प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत पाए, ओली पक्षिय सांसदले पनि विश्वासको मत दिए


तीतोपाटी – नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले आज संसदबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री बनेको एक हप्ता नबित्दै देउवाले संसदबाट विश्वासको मत लिएका हुन् । संसदमा आज भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।

देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । आजको मतदानमा केपी ओली पक्षकै सांसदहरूप्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवाको पक्षमा मतदान गरेका थिए ।

सर्वोच्च अदालतमा रिट दायर गर्ने बेलामा देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतले अन्तिममा आएर देउवालाई मतदान गरेनन् । भीम रावलले मतदान हुनुअघि नै सांसद पदबाटै राजीनामाको घोषणा गरे । माधव नेपाल र उनी पक्षका केही नेताले चाहिँ आफ्नो वचन अनुसार नै देउवाको पक्षमा मतदान गरे ।

प्रतिनिधि सभा विघटनविरुद्ध गठबन्धन बनाएर न्यायिक र राजनीति लडाइ गरेको एमालेको माधव समूहका केही सांसदले देउवाको पक्षमा मतदान गरेनन् । न त उनीहरूले विपक्षमा नै मतदान गरे । बरु उनीहरू देउवाले विश्वासको मत लिने बेलामा संसद् बैठक नै छोडेर बाहिरिएर देउवालाई ‘धोका’ दिएका थिए ।

एमालेको माधव समूहका केही नेताले धोका दिए पनि देउवालाई मतदान गर्ने अपेक्षा नै नगरिएका जसपा महन्थ ठाकुर पक्षका सांसदहरूले भने पक्षमा मतदान गरे ।

रेशम चौधरीको रिहाइ लगायतका मागहरू पूरा गर्ने देउवाले वचन दिएपछि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिएको हो ।

एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो । राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेको थियो भने नेमकिपाले विपक्षमा मतदान गरेको थियो ।

अब विश्वासको मत पाएसँगै देउवा सरकारको सुनिश्चितता कायम भएको छ । कुल १७ महिना कार्यकाल रहेको यो सरकारको काँधमा कोभिडले तहस–नहस पारेको अर्थतन्त्रलाई लयमा फर्काउने, खोपको प्रबन्ध गर्ने र स्थानीय एवं तीनै तहका आम निर्वाचनहरू सम्पन्न गर्नुपर्ने अभिभारा छ ।

संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले सबैसँग सहकार्य गरेर यी समस्याहरू समाधान गरिने र राष्ट्रिय एकता कायम गरिने बताएका छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको…

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

प्रतिकृयाहरू
...