Wednesday 14th May 2025

साउन दोस्रो साताबाट इजरायल रोजगारीको आवेदन खुलाउने तयारी, यस्तो छ छनोट प्रक्रिया


तीतोपाटी डटकम-सरकारले इजरायलमा ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन अनलाइन आवेदन खुलाउने तयारी गरेको छ।साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए।

‘साउन पहिलो साताबाट आवेदन खुलाउने भनेको थियो सकिएन। अवस्था सहज भयो भने दोस्रो साताबाट खुलाउन सकिन्छ,’ उनले सेतोपाटीसँग भने। सरकारले यसअघि नै केयरगिभरमा नेपाली श्रमिक पठाउन आवश्यक ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८’ जारी गरिसकेको छ। नेपाल–इजरायलबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा केयरगिभरमा पठाउने निर्देशिकामा उल्लेख छ।

इजरायल रोजगारीमा जाँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण शुल्क, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम तथा श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ। रोजगारदाताले नबेहोरेको खण्डमा श्रमिक आफैंले बेहोर्नुपर्नेछ।

केयरगिभरका लागि के–के योग्यता चाहिन्छ?

-२५ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको।
-उचाइ कम्तीमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।
-तौल ४५ केजी।
-शैक्षिक योग्यता कम्तीमा दस कक्षा उत्तिर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।
-अंग्रेजी भाषामा दक्ष।
-शारीरिक तथा मानसिक रूपमा स्वस्थ।
-असल चरित्र भएको।

छनोट कसरी गरिन्छ?

माथि उल्लेख भएका योग्यता पूरा गरेका नेपाली नागरिकले इजरायलस्थित केयरगिभरमा जान आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगार विभागले सूचना जारी गरेपछि सोही आधारमा अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने विभागले जनाएको छ।अनलाइनमार्फत बुझाएका सक्कल कागजातसहित उपस्थिति हुन विभागले पुनः मिति, समय र स्थान तोकी उपस्थितिका लागि सूचना जारी गर्नेछ। सोही सूचनाका आधारमा तोकिएको स्थानमा उपस्थित हुनुपर्नेछ।

आवेदकको तौल, उचाइ परीक्षण गरी सोको विवरण सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विभागले प्रविष्ट गरिदिने जनाएको छ। मापदण्ड अनुसार उचाइ र तौल नपुगे सूचीबाट नाम हट्ने छ। उचाइ तथा तौल मापदण्डअनुसार भएकाहरूले अंग्रेजी भाषा परीक्षामा सहभागी हुन पाउनेछन्।

अंग्रेजी भाषा परीक्षण तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिने व्यवस्था निर्देशिकामा छ। विज्ञबाट भाषा परीक्षण गरिएपछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले नै प्रविष्ट गरिदिने व्यवस्था छ।सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसार भन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्ने विभागले जनाएको छ।

सो नामावली विभागले इजरायलको पिआइबिएलाई पठाइ सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नेछ। विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्ने प्रावधान छ। पिआइबिएले छानेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ।इजरायलस्थित रोजगारदाताले सम्झौताको प्रतिमा हस्ताक्षर गरी छनोट भएका व्यक्तिको हस्ताक्षरका लागि विभागमा पठाउने व्यवस्था छ। रोजगार सम्झौताको प्रति प्राप्त भएपछि विभागले छनोट भएका व्यक्तिको हस्ताक्षर गराउँछ। हस्ताक्षर गरिसकेका व्यक्ति केयरगिभरका लागि इजरायल जान पाउँछन्।

विगतमा इजरायल गई काम गरेर फर्किएकाहरू भने यो प्रक्रियामार्फत जान नपाउने विभागले जनाएको छ। त्यस्तै आमा, बुबा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास गरिरहेका अथवा कार्यरत रहेका परिवारका व्यक्ति पनि केयरगिभरमा जान पाउने छैनन्। लागूपदार्थ तथा मादकपदार्थ दुर्व्यसनमा लागेका व्यक्तिहरू समेत इजरायल जान पाउने छैनन्।

इजरायल आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्यका दृष्टिले उत्कृष्ट मुलुक मानिन्छ। इजरायलमा केयरगिभरबाट मासिक एकदेखि डेढ लाखसम्म कमाइ हुने बताइएको छ।

-साभार-निर्मला घिमिरे-सेतोपाटो


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...