Friday 28th August 2026

कविताः “किन हटेनन् अझै बिभेदहरु ?” -मुकुन्द कृष्ण थापा


रगत पसिनाले सिंचीत माटोमा
अङ्कुरित बिज हुर्काउँदै,
पल्लवित लोकतन्त्रको वृक्षमा
गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर
वीरताको अमर गाथा कोरेकाहरु,
परिबर्तनको प्रतिफलबाट बन्चित भएर
बाँचिरहेछन् ,
गुमनाम जिन्दगी !
जीवनोपयोगी शिक्षाबाट ठगिएर
व्यापारिकरणको नङ्ग्राले चिथोरिएर
ठालुहरुको होच्याइबाट थलिएर
थिलथिलो भएका पाठशालाहरुले
जन्माइरहेछन् ,
बेरोजगार बहादुर र कान्छाहरु ।
पुर्णीमालाई लखेटेर
औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
झलमलाई रहेछन् ,
पितृसत्तात्मक सोचका ताराहरु ।
असमानताको कालोपत्रे बिछ्याउँदै
एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् ,
एक्काइसौँ शताब्दीका अर्जुनहरु ।

पहिचान लुकाउनेहरुको विवशता देखेर,
सिर निहुराउँदै मानवता झोक्राइरहेछ ।
आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,
छुवाछूतले फाटेका मन सिलाउने मेसिन
आविष्कार नहुनुका कारणहरु,
खोजिरहेछन् आरनहरु ।
सङ्कीर्णताको माला भिरेर
अहङ्कारको टीका लगाएर
ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
शीतयुद्धमा भाग लिइरहेछन् ,
धर्मका अनुयायीहरु ।
हुरी बतास र बर्षादसँग
आत्मासमर्पण गरिरहेछन् ,
चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु ।
वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै
बगिरहेछन् निरन्तर,
भोकको आगोलाई निभाउन नसकेका
अभावलाई बगाउन नसकेका
पसिनाका नदीहरु ।

सुशासनको रटानले तिर्खाएर
धारा उपधाराहरुले
प्यास मेटेकाहरु सामुन्ने
ठडिरहेछन् प्रश्नका सगरमाथाहरु
आखिर,
किन हटेनन् अझै बिभेदहरु ???

मुकुन्द कृष्ण थापा
खोटाङ


सम्बन्धित शीर्षकहरु

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

काठमाडौं — चीनको तिब्बत सीमासँग जोडिएका नेपालका बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीहरू समयसँग प्रतिस्पर्धा गर्दै बेपत्ता तथा सम्भावित जीवित व्यक्तिको…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५९७ पुगेको छ भने सयौं मानिस अझै बेपत्ता रहेका छन्।…

प्रतिकृयाहरू
...