Friday 20th March 2026

बेहाल वैदेशिक रोजगार


तुलसी सुबेदी – विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्।

वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्। कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा बढी कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोनाले वैदेशिक रोजगार प्रभावित भएको बताए। ‘गन्तव्य मुलुकमा कोरोनाको कारण कायमै रहेकाले सहज हुन अझै समय लाग्ने देखिन्छ’, उनले भने। कतिपय देशमा राजदूतावासले प्रमाणीकरणमा ढिलासुस्ती गरेका कारण कामदार रोजगारीमा जान पाएका छैनन्।

कोभिडले कतार, साउदी अरब, दुबई, ओमन मलेसिया तथा युरेपियन मुलुक प्रभावित भएका छन्। जापान, इजरायल र दक्षिण कोरिया पनि प्रभावित भएका छन्। इजरायल पठाउने कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको छ।

जापान पठाउने कार्यविधि पनि पूरा हुन नसक्दा रोजगार प्रभावित भएको छ। दक्षिण कोरियाले कामदार लिन नमान्दा प्रतीक्षामा बसेका कामदार हैरानी भएका छन्। महासंघका महासचिव श्रेष्ठका अनुसार साउदीमा दूतावासले मागपत्र प्रमाणीकरण गर्न ढिलाइ गरेका कारण कामदार प्रभावित भएका छन्।

कतारमा अनिवार्य क्यारेन्टिन बस्नुपर्ने र त्यसको खर्च कामदार आफैंले तिर्नुपर्ने भएपछि कतार रोजगार प्रभावित भएको छ। क्यारेन्टिनका लागि मात्रै कतारमा कामदारले २१ सय रियाल तिर्नुपर्छ। सुरुदेखि नै मलेसिया बन्द छ। महासंघका अनुसार दुबई, कुवेत र बहराइन पूर्णरूपमा ठप्प छ। कुवेतमा अझै लकडाउन कायम छ।

गन्तव्य मुलुकमा कोरोनाको जोखिम कायमै रहेकाले वैदेशिक रोजगार तंग्रिन सकेको छैन। त्यसोतः गन्तव्य मुलुकबाट अझै डिमान्ड आउन नसक्दा रोजगार प्रभावित बनेको हो। नेपालमा कोरोनाको जोखिम कम भइसकेको छ। मौरीसस पनि कामदार जान पाएका छैनन्।

विभागका अनुसार फागुन महिनामा १९ हजार ८ सय ८, माघमा १७ हजार ८ सय ८७ जना, पुसमा १४ हजार ७ सय ५३, मंसिरमा १२ हजार ४ सय ३१, कात्तिकमा ७ हजार ७ सय ९७, असोजमा ८ हजार ९७, भदौमा १ हजार ५ सय २५, साउनमा ३ हजार १ सय ५२ जना कामदार विदेश पुगेका छन्। अन्य देशको तुलनामा साउदीमा बढी कामदार पुगेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार सहज बनाउन सम्बन्धित देशसँग वार्ता र छलफल अघि बढाइएको बताए। ‘हाम्रो तर्फबाट गर्नुपर्ने तयारी गरिरहेका छौं’, उनले भने ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...