Sunday 2nd August 2026

आमहडतालको मारमा वैदेशिक रोजगारीमा विदेशिने र भित्रिने यात्रु


तितोपाटी- अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सवारीसाधन कुरिरहेका काभ्रेका मनोज क्षेत्री बिहीबार बिहान ९ बजे ओमानबाट नेपाल आइपुगेका हुन् ।

विमानस्थलमा उत्रिएपछि सवारीसाधनको पर्खाइमा क्षेत्रीले एक घन्टादेखि त्यत्तिकै बिताए । गन्तव्यमा पुग्ने सवारीसाधन नपाएपछि उनी के गर्ने कसो गर्ने भन्ने समस्यामा थिए ।

विदेशबाट आउँदा आमहडतालको हल्ला थिएन । विमानस्थलबाट बाहिरिएपछि भने उनले आमहडतालबारे थाहा पाएका थिए । ‘बाटोमा हिँड्दाहिँड्दै आन्दोलनकारीको आक्रमणमा परिन्छ कि भनेर केहीबेर विमानस्थलमै बसेँ’, क्षेत्रीले भने, ‘नेपालमा धेरै पछि आन्दोलन र बन्द भएको थाहा पाएँ ।’
त्यस्तै, साउदीबाट स्वदेश फर्किएका झापाका नरेन्द्र कार्की बन्दमा हिँड्न डर लागेपछि करिब २ घण्टा विमानस्थलमा बसेको सुनाए ।

विदेशमा बस्दा नेपालमा आमहडताल र बन्द हुँदैन भनेर सुनेको कार्कीले बताए । ‘एकातिर बन्द छ, अर्कोतिर ठाउँठाउँमा नाराजुलुस भइरहेको समाचार पढेको छु । यस्तो बेलामा कसरी हिँड्नु ?’, उनले भने, ‘देशमा बेरोजगारीदर बढ्दो छ । रोजगारी नपाएर हामीजस्ता युवा विदेश जान बाध्य छौँ। हाम्रा नेताहरूकाे चेत अझै किन नखुलेकाे होला ?’
विदेशबाट फर्किएका ग्रुपमा रहेका सबै जना एउटै गाडीमा चढेर होटलसम्म जाने विषयमा छलफल गरिरहेका थिए । गाडीलाई समेत तोडफोड हुने हो कि भनेर उनीहरू डराइरहेका थिए ।
Shikhar InsuranceLiberty College
यसैगरी, ललितपुरका राजकुमार गौतम दिउँसो १ बजेको यूएईको उडान भएपनि बन्दका कारण घरबाट ९ बजे नै विमानस्थल पुगेको बताए ।
आमहडतालका कारण समयमा विमानस्थल पुगिँदैन भनेर बिहान खानासमेत राम्रोसँग नखाएर हिँडेको उनले सुनाए । ‘घरबाट विमानस्थलसम्म आइपुग्दा बाटोमा कतै तोडफोड र आक्रमणमा परिन्छ कि भनेर डर मान्दै आएँ । ट्याक्सीले दोब्बर भाडा तिर्दा पनि हिँड्न मानेको थिएन ।’

नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहडतालका कारण गाडी नचलेपछि मुस्किलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भई बाहिर आउने र विदेशिनेका लागि समस्या परेकाे छ । अहिले पनि गाडी नपाएर सास्ती भाेगिरहेकाहरू यात्रुहरूको चाप विमानस्थलअगाडि बढेको छ ।
विदेशबाट आउने र जाने नेपाली कामदार गाडी नपाएपछि लगेज गुडाएरै हिँडिरहेकाे देखिन्थ्यो । साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...