Tuesday 27th January 2026

सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौं : भट्टराई


पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे ।

‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ भट्टराईले भने, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षाको छ ।’संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले औंल्याए ।

संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको भट्टराईको विश्लेषण छ । ‘सबै कुरा सेटिङमा भएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा सेटिङ भएको छ,’ डा. भट्टराईले भने, ‘अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न, तर अरुले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय, संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर सबै अंग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद विघटन भएको छ ।’

असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।

‘तेस्रो जनआन्दोलनको खाँचो’

प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्नेमा भट्टराईले बताए । संसद विघटनको घटना हिमशिखरको टुप्पो देखिएको अवस्था मात्र हो भन्दै भट्टराईले अदालतबाट यो नसच्चिए हिम शिखर फुटेजस्तै जोखिम हुने औंल्याए । ‘संसद विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो,’ भट्टराईले भने, ‘नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ, त्यसले मात्रै संसद पुनस्थापना गर्नसक्छ ।’

ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईको धारणा छ । नेपाली कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको भट्टराईले बताए ।

पत्रकारको जिज्ञासामा भट्टराईले संसद पुनस्थापनापछि आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे । ‘म प्रधानमन्त्रीको आकांक्षी होइन, मलाई त्यसो भनियो भने घोर अन्याय हुन्छ,’ भट्टराईले भने ।

अर्को प्रश्नमा भट्टराईले प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आफ्नो पार्टी प्रदेश सरकारमा पनि सहभागी नहुने बताए । ‘मृत्यु संस्कारमा भोजभतेर र दक्षिणाको कुरा नगरौं,’ पत्रकारको प्रश्नमा भट्टराईले भने ।

-अनलाइन खबर

सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...