Saturday 1st August 2026

कोरियामा नेपाली विद्यार्थीले पनि ई-९ भिसा पाउने


तितोपाटी- दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ई-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी ईपीएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिइने भिसा (प्रवेशाज्ञा) हो ।

यहाँ अध्ययनरत विज्ञान र इञ्जिनियरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए ।
यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानुन मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानुन कार्यान्वयनमा ल्याउने गरी काम सुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानुन मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ ।
ईपीएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलो पटक चार वर्ष १० महिनाका लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानुन मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रूपमा निर्णय गरी लागू गर्नेछन् ।
हाल ईपीएसमार्फत ई-९ भिसामा आएका नेपाली औद्यौगिक र कृषिक्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा १ हजार ५ सयको संख्यामा रहेका स्नातकप्राप्त नेपाली विद्यार्थीले ईपीएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउनेछन् ।
यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदुरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै…

प्रतिकृयाहरू
...