Wednesday 18th March 2026

वैदेशिक रोजगारीको लोभमा युवा ठगिँदै, रमिते बनेको छ स्थानीय सरकार


तितोपाटी- दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार छन् । विदेश पठाउने भनी पैसा बुझाएर ठगिएका घोराहीका जीवन घर्ती, खुमबहादुर खड्का र तुलसीपुरका श्यामलाल चौधरी ठगी गर्ने व्यक्तिको खोजीमा छन् ।

विदेश जाने लोभमा ठगिएका श्यामलाल भन्छन्, “शुरुशुरुमा केही समय कुर्नुस् पठाउँछु भनेर छल्दै गयो । पछि पैसा फिर्ता गर्छु पनि भन्यो तर, अहिले सम्पर्कविहीन छ ।”

श्यामलालका अनुसार उनीहरुलाई विदेश पठाउँछु भनेर ठगी गर्ने इन्द्रबहादुर अहिले कहाँ, के गर्दैछ भन्ने कसैलाई पत्तो छैन । ‘न फोन लाग्छ न कहाँ बस्छ भन्ने थाहा नै छ”, उनी भन्छन्, “ऋण गरेर पैसा दिएको अहिले ब्याज तिर्दातिर्दै बेहाल भएको छ ।”

लमही नगरपालिका–५ निवासी दामोदर धिताल, शान्ताराम चौधरी र सन्दीप बुढाथोकीले वैदेशिक रोजगारको क्रममा रुस जाने भन्दै गुल्मीका टामलाल रिजाललाई प्रतिव्यक्ति रु चार लाखका दरले रु १२ लाख दुई पक्षबीच कागज बनाएरै बुझाए। रुसमा मासिक एक हजार २०० डलर कमाइ हुने भन्दै चार वर्षअघि पैसा दिएका थिए तर लामो समय बितिसक्दा पनि उनीहरुले न त विदेश जान पाउनुभयो, न पैसा नै फिर्ता पाए। पीडितमध्येका एक दामोदरका अनुसार पैसा लगेको दुई वर्षसम्म विदेश नपठाएपछि प्रहरीको सहयोगमा ठगी गर्ने टामलाललाई पक्राउ पनि गरियो तर केही दिनभित्रै पैसा दिने सहमति गरेर प्रहरीबाट छुटेका टामलाल अहिले बेपत्ता छन् । वैदेशिक रोजगारीका नाममा ठगिएका तीनै जना दुई वर्षदेखि उनकै खोजीमा छन् ।

घोराही उपमहानगरपालिका–७ का १० युवाले पनि कामदारको रूपमा मलेशिया जाने भन्दै काठमाडाँैमा भेटिएका शिवबहादुर कार्कीलाई प्रतिव्यक्ति रु ५० हजारका दरले रु पाँच लाख बुझाएका थिए । एउटै गाउँका तीन थारू युवासँग न त पैसा लैजाने कार्कीको सम्पर्क नम्बर छ न बस्ने ठेगाना नै थाहा छ । ठगीमा परेको भन्दै बिनाप्रमाण प्रहरीमा पुगेपछि प्रहरीले समेत आफूहरुको मुद्दा दर्ता नगरेको पीडितमध्येका प्रमोद चौधरीले बताए।

पछिल्लो समय वैदेशिक रोजगारमा जाने क्रम बढेपछि ठगी धन्दा पनि बढ्दो छ । वैदेशिक रोजगार ऐन, २०७५ ९संशोधन० मा कसैले पनि वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानावापत असुल गरिने व्यवस्था छ । साथै त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई ठगी गर्ने व्यक्तिलाई रु तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था छ । यद्यपि जिल्ला प्रहरी कार्यालय दाङसँग वैदेशिक रोजगारसम्बन्धी के कति मुद्दा परेका छन् भन्ने त्यसको कुनै छुट्टै तथ्याङ्क छैन । छिटपुट आउने गुनासालाई जिल्ला अदालत वा वैदेशिक रोजगार विभागमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखाका पदमप्रसाद बोहोरा बताउँछन् ।

पछिल्लो समय वैदेशिक रोजगारमा लगाइदिने बहानामा होस् वा लोभलालच देखाएर गैरकानूनीरूपमा विदेश पठाउने क्रम बढ्दो छ । यसलाई नियन्त्रण गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले गत असार १ गते जिल्लाका सबै जिल्ला प्रसाशन कार्यालयलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्न भन्दै पत्रसमेत पठाएको छ ।

गृहकै पत्रबमोजिम जिल्ला प्रशासन कार्यालय दाङले पनि मुद्दा दर्ता गर्न थालेको छ तर वैदेशिक रोजगारसँग जोडिएको मुद्दामा दोहोरो छलफल चलाउने, क्षतिपूर्ति असुलउपर गर्ने कार्य भने अझसम्म हुनसकेको छैन । वैदेशिक रोजगारसँग जोडिएको ठगी मुद्दा प्रशासनले हेर्ने जिम्मेवारी भए पनि आफूहरुले दर्ता गरेर प्रहरीलाई सिफारिस गर्ने गरेको जिल्ला प्रसाशन कार्यालय दाङका मुद्दा शााखा प्रमुख कुवेरजङ्ग खड्का बताउँछन् । रासस


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...