Saturday 16th May 2026

९ हजार नेपालीलाई भिजिट भिसामा कसले पुर्‍यायो यूएई?


तितोपाटी- कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता झण्डै ९ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागका अनुसार गत १६ भदौयता अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि ८ हजार ९ सय ६४ नेपाली भिजिट भिसामा यूएई गएका हुन् ।

यो अवधिमा विभागले भिजिट भिसामा यूएई जान प्रक्रिया नपुगेका ५ सय ७६ जनालाई राेकेको छ ।भिजिट भिसामा जाने व्यक्तिलाई कडाइ गर्न थालेको र प्रक्रिया नपुगेका व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइरहेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । अध्यागमन विभागले आफ्नो क्षेत्राधिकार र आवश्यक कागजात राम्ररी जाँच गरिरहेको उनको भनाइ छ ।
भिजिट भिसाकै आवरणमा मानव तस्करी भइरहेको भन्ने गुनासोपछि याे विषयमा गहन तरिकाले अनुसन्धान भइरहेको उनले बताए । विभागले भिजिट भिसाका लागि सेटिङ मिलाउन सहयोग गरेको आशंकामा २५ जना कर्मचारीसमेत सरुवा गरेको छ ।
नेपालबाट भिजिट भिसामा यूएई जानका लागि ५ हजारभन्दा धेरै प्रक्रियामा रहेको सूचना आएको वैदेशिक रोजगार विभागले जनाएको छ । भिजिट भिसामा म्यानपावरले कामदार पठाइरहेका छन् । विभागले भिजिट भिसामा जाने व्यक्तिको क्षमता र आर्थिक अवस्था कस्तो छ भनेरसमेत अध्ययन गरिरहेको जनाएको छ ।
एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसामा भएकालाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिँदै आएको छ । यसरी भिजिट भिसामा जाने कामदारलाई सेटिङमा राति २ बजेको एयर अरेबियाको उडानमार्फत पठाउने गरेका छन् ।
भिजिट भिसामा यूएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ म्यानपावरसँग एजेन्टले उठाउँदै आएका छन् ।
भिजिट भिसामा कामदार पठाउने म्यानपावर र एजेन्ट
म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टले सबैभन्दा धेरै भिजिट भिसामा यूएई नेपाली पठाइरहेको पाइएको छ । यूएईसँग खाडीका अन्य देशमा समेत ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी र तिनैका प्रतिनिधि एजेन्टले भिजिट भिसाका नाममा रोजगारीमा कामदार पठाइरहेको पाइएको हो ।
NCell
एचएमटी म्यानपावर ओभरसिज, ओम ओभरसिज प्रालि, सिनामंगलस्थित स्काई अफ द वोड, इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालि, रोयल एचआर प्रालि, सुर्खेत ओभरसिज प्रालि र स्काई ब्लू इन्टरनेसनल ओभरसिज प्रालिले भिजिट भिसामा कामदार यूएई पठाइरहेकाे विभागले जनाएको छ । विभागका अनुसार मल्टिपल ट्राभल एण्ड टुर्स प्रालिले समेत भिजिट भिसामा कामदार पठाइरहेका छन् ।
यस्तै, धादिङका रमेश सुचिकार, रामलाल बोहरा, दिलीप श्रेष्ठ, कविता परिवार, काभ्रेका मदन मगर, पर्साका जीवन महताे र केही यूएईमा रहेका एनआरएनएसमेत संलग्न रहेको उजुरी परेको विभागले जनाएको छ । यूएईमा बसेर संगीता राई, राजन क्षत्री, विकास शाह, प्रदीप कुमार र केही भारतीय नागरिक भिजिट भिसामा कामदार ओसार्ने सेटिङ मिलाउन काम गरिरहेको उजुरी परेकाे स्रोतले जनाएको छ ।
विदेशमा बसेर कतिपय व्यक्तिले भिजिट भिसामा कामदार पठाउनका लागि नेपालमा एजेन्ट राखेर काम गर्ने गरेको पीडितले विभागमा उजुरी गरेका छन् । भिजिट भिसामा कामदार पठाउन म्यानपावर र व्यक्तिगत एजेन्टको खोजीसमेत गरिरहेको विभागका महानिर्देशक दहालले जानकारी दिए ।
विभागले भिजिट भिसाका नाममा युएई कामदार पठाउने म्यानपावर, ट्राभल र कन्सल्टेन्सीको केही महत्त्वपूर्ण कागजात जफत गरेको समेत महानिर्देशक दहालले बताए । ‘विभागले भिजिट भिसामा यूएई जान म्यानपावर, एजेन्ट, ट्राभल र कन्सल्टेन्सीमा राहदानी बुझाएका व्यक्ति सम्पर्कमा आउन आग्रह गरेको छ । विभागमा भिजिट भिसाका नाममा ठगिएका व्यक्ति उजुरी लिएर आइरहेका छन्,’ उनले भने, ‘भिजिट भिसाका नाममा मानव तस्करी गर्ने व्यक्ति र संस्थामाथि कानुनी कारबाही हुन्छ । हाल विभागले भिजिट भिसामा कामदार पठाइरहेका व्यक्ति र म्यानपावरमाथि कारबाही प्रक्रियाअगाडि बढाएको छ । मानव तस्करी र वैदेशिक रोजगार ऐनअनुसार उनीहरूलाई कारबाही हुन्छ ।’
विभाग म्यानपावर र ट्राभलले भिजिट भिसामा कामदार पठाउन प्रयोग गरेको राहदानी र केही महत्त्वपूर्ण कागजात भेटाएको छ । ट्राभल एजेन्सी, कन्सल्टेन्सीले समेत भिजिट भिसामा कामदार पठाइरहेको तथ्य फेला परेको थियो । ट्राभल एजेन्सी र कन्सल्टेन्सीले भने कार्यालयभन्दा बाहिर बसेर भिजिट भिसामा कामदार पठाउँदै आएको तथ्य फेला परेको महानिर्देशक दहालको भनाइ छ ।
यूएई हुँदै खाडीका अन्य देश
एजेन्ट र म्यानपावरले भिजिट भिसामा यूएई पठाइएका महिलालाई भने खाडीका अन्य देश पुर्‍याउने गरेका छन् । भिजिट भिसामा यूएई पठाइएका महिलालाई खाडीका अन्य देशमा घरेलु काममा लगिन्छ । भिजिट भिसामा यूएई भनेर कुवेत, ओमान, इराक, बहराइन, इरानलगायत खाडीका देशमा घरेलु काममा लगाइने गरेको भिजिट भिसामा गएका महिलाले नै उजुरी गरिरहेकाे विभागको उजुरी शाखाले जनाएको छ ।
विभागका अनुसार यूएई भनेर गएका महिला खाडीका अन्य देशबाट विभागको हटलाइन र फेसबुक पेजमार्फत उजुरी गरिरहेका छन् । म्यानपावरसँग मिलेर व्यक्तिले सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरेर कामदार पठाइरहेका छन् । यसरी सामाजिक सञ्जालमा भिजिट भिसामा कामदार पठाउने प्राय: म्यानपावरका एजेन्ट र वैदेशिक रोजगारीमा गएका नेपाली रहेका छन् । भिजिट भिसामा कामदार पठाउने सञ्जाल यूएईदेखि नेपालको गाउँसम्म रहेको विभागले जनाएको छ ।

यो समचार शिलापत्रमा रमेश भरतीले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...