Monday 28th September 2026

रूसले कोभिड विरूद्धको खोप अभियान शुरू गर्यो


तीतोपाटी – रुसले कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ। कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको छ।

रुसमा निर्मित स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो। खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ। अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ।

राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौं सर्वसाधारणले आफ्नो नाम दर्ता गराइसकेका जनाइएको छ । तर रुसको उत्पादन क्षमता के–कति छ भन्नेबारे केही उल्लेख गरिएको छैन। उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ। तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार आगामी ६ साताभित्र सम्पूर्ण नागरिकलाई खोपको पहिलो मात्र दिइसकिनेछ।

खोप लिन योग्य ठहर्‍याइएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाइएको छ। खोप लिने केन्द्रहरू स्थानीय समयानुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछन्।

पछिल्लो ३० दिनमा कुनै अन्य खोप लिएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई कोभिड–१९ विरुद्धको खोप नदिइने जनाइएको छ। त्यसैगरी, दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोप दिइने छैन ।
रुसमा कोभिड–१९ संक्रमितको संख्या २४ लाखभन्दा बढी छ। भाइरसका कारण हालसम्म ४२ हजार २ सयभन्दा बढीले जनाले ज्यान गुमाइसकेका छन्। अधिकारीहरूका अनुसार शनिबार एकै दिन रुसमा २८ हजार ६ सय ८४ संक्रमित थपिएका छन्। राजधानी मस्कोमा शनिबार करिब ८ हजार संक्रमित थपिएका जनाइएको छ। पछिल्लो समय संक्रमण झन् थपिँदै गएसँगै अस्पतालहरू कोभिडका बिरामीले भरिएका छन्।
-बीबीसी


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...