Wednesday 1st May 2024

विदेश अध्ययनमा जाने ३० हजार घटे, परामर्श व्यवसाय जोखिममा


भवानीश्वर गौतम – अघिल्लो वर्ष ६३ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लगेकामा ०७६-७७ मा ३३ हजार ३७ मात्र पुगे, १० महिनामा वैदेशिक अध्ययनमा झन्डै २५ अर्ब बाहिरियोविश्वभर फैलिएको कोभिड–१९ का कारण आर्थिक वर्ष ०७६-०७७ वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ । आव ०७५-७६ मा विदेशमा अध्ययनका लागि ६३ हजार दुई सय ५९ नेपालीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लगेका थिए । आव ०७६-७७ मा ३३ हजार ३७ जनाले मात्र एनओसी लगेका छन् । यो अघिल्लो आवभन्दा ३० हजार दुई सय २२ जनाले कमी हो ।कोभिडको जोखिम बढेसँगै अतिप्रभावित देशमा गत चैत पहिलो सातादेखि नै एनओसी दिन शिक्षा मन्त्रालयले रोकेको थियो । मन्त्रालयले चैत महिनायता एकदमै न्यून संख्यामा पुराना विद्यार्थीलाई मात्र एनओसी दिएको छ ।

गत आवमा सबैभन्दा बढी एनओसी भदौ महिनामा ६ हजार २१ जारी भएका छन् । साउनमा चार हजार पाँच सय २७, असोजमा दुई हजार आठ सय ३९, कात्तिकमा दुई हजार आठ सय ४१ विद्यार्थीले एनओसी लगेका छन् । त्यसैगरी, मंसिरमा चार हजार आठ सय ९६, पुसमा तीन हजार आठ सय ३२, माघमा चार हजार एक सय ३५, फागुनमा तीन हजार ६ सय २५ जनाले एनओसी लगेका छन् । चैतमा दुई सय ६१, वैशाखमा आठ, जेठमा तीन र असारमा ४९ विद्यार्थीले एनओसी लगेका छन् ।

विगत केही वर्षयता निरन्तर रूपमा नेपाली विद्यार्थीको पहिलो गन्तव्य अस्ट्रेलिया बनेको छ । गत आवमा समेत अस्ट्रेलिया अध्ययनका लागि एनओसी लैजाने विद्यार्थीको संख्या सबैभन्दा धेरै छ । ०७२ साउनदेखि ०७७ असार मसान्तसम्म अस्ट्रेलिया अध्ययनका लागि एनओसी लैजानेको संख्या एक लाख १४ हजार एक सय ७२ छ ।

शिक्षा मन्त्रालयका अनुसार गत आवमा पनि सबैभन्दा बढी अस्ट्रेलियाका लागि १० हजार ७२ विद्यार्थीले एनओसी लगेका छन् । तर, यो संख्या विगत केही वर्षयताकै सबैभन्दा कम हो । ०७५-७६ मा अस्ट्रेलियाका लागि मात्र ३६ हजार तीन सय २४ ले एनओसी लगेका थिए । ०७४-७५ मा ३२ हजार दुई सय १२, ०७३-७४ मा २४ हजार दुई सय ३३ र ०७२-७३ मा ११ हजार तीन सय ३१ विद्यार्थीले एनओसी लगेका थिए ।आव ०७६-७७ मा अस्ट्रेलियासँगै जापान, साइप्रस, भारत, दक्षिण कोरिया, बेलायत, चीन र न्युजिल्यान्ड विद्यार्थीको रोजाइमा परेका छन् । अमेरिका यस वर्ष ११औँ स्थानमा परेको छ । पछिल्ला वर्षमा साइप्रस अध्ययन गर्न जाने आकर्षक देशमध्ये तेस्रो स्थानमा पर्दछ ।

०७४-७५ मा साइप्रस अध्ययनका लागि सात सय ४१ विद्यार्थीले एनओसी लिएकामा ०७६-७६ मा सो संख्या बढेर दुई हजार तीन सय दुई पुगेको थियो । ०७६-७७ मा अघिल्ला वर्षभन्दा घटेको समयमा साइप्रस जानेको संख्या बढेको छ । गत आवमा साइप्रसका लागि दुई हजार चार सय ७८ ले एनओसी लगेका छन् । साइप्रस जान सजिलो रहेको र त्यहाँबाट युरोपलगायतका देशमा जानसमेत सहज भएका कारण विद्यार्थीको संख्या धेरै बढेको हो ।

श्रम गन्तव्य मुलुक दुबई विद्यार्थीको आकर्षक १० गन्तव्यभित्रै

दुबई नेपालबाट श्रमिकहरू कामको खोजीमा जाने मुलुकका रूपमा चिनिएको छ । तर, पछिल्लो समय दुबई विद्यार्थीको आकर्षक १० गन्तव्यभित्र परेको छ । विगतमा विद्यार्थीको आकर्षक गन्तव्यमा परेको अमेरिका यस वर्ष ११औँ स्थानमा परेको छ ।

केही वर्षयता श्रम गन्तव्यका रूपमा चिनिएका मलेसिया, कतारलगायतका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् । यो वर्ष मलेसियामा ५८ र कतारमा ५७ विद्यार्थी अध्ययनका लागि गएका छन् । मलेसियामा अध्ययनका लागि परामर्श गर्दै आएका स्टडी प्लसका कार्यकारी निर्देशक उमेश अधिकारी अध्ययन गर्ने उद्देश्यले मलेसिया जाने विद्यार्थीको संख्या बढेको बताए ।

कमजोर अवस्थाका देशमा पनि नेपाली विद्यार्थी

कतिपय शैक्षिक गुणस्तर कमजोर भएका र आर्थिक अवस्थासमेत कमजोर भएका देशमा समेत नेपाली विद्यार्थी पुगेका छन् । शिक्षा मन्त्रालयका अनुसार ०७६-७७ मा ६८ देशमा नेपाली विद्यार्थीले अध्ययनका लागि एनओसी लिएका छन् । केही देशमा एक-दुईजनाको संख्यासमेत छ । इजिप्ट, कोस्टारिका, क्रोसिया, अजरबैजान, बोस्निया एन्ड हर्जगोभिना, लक्जेम्बर्ग, स्वाजिल्यान्डमा एक-एकजना नेपाली विद्यार्थीले एनओसी लगेका छन् ।

शैक्षिकस्तर खासै राम्रो नभएको माल्टा नेपाली विद्यार्थीको रोजाइको १७औँ नम्बरमा पर्दछ । गत आवमा एक सय ५६ विद्यार्थीले माल्टा अध्ययनका लागि एनओसी लगेका छन् ।स्लोभानिया, इस्टोनिया, लिथुवानिया, साउथ अफ्रिका, कीर्गिस्तान, रोमानिया, कम्बोडियालगायतका देशमा समेत नेपाली विद्यार्थी अध्ययनमा गएका छन् । परामर्श व्यवसायीका अनुसार कतिपय विकसित देशमा जान सहज हुने भएकाले पढाइमा उत्कृष्ट नभएका देश पनि रोजाइमा परेका हुन् ।

संकटमा शैक्षिक परामर्श व्यवसाय

कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये परामर्श व्यवसाय पनि एक हो । चैतयता परामर्श व्यवसाय ठप्प भएको छ । सरकारले अहिले लकडाउन खुकुलो बनाए पनि विदेश अध्ययन गर्न चाहने विद्यार्थीको तयारी कक्षा, परामर्श, प्रक्रियाका कुनै पनि गतिविधि भएका छैनन् ।नेपाल शैक्षिक परामर्श केन्द्र (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले भने, ‘परामर्श व्यवसायी सबैभन्दा बढी प्रभावित छौँ, परामर्श क्षेत्रमा केही गर्न सक्ने अवस्था छैन, शून्य आम्दानीमा छौँ ।’ अबको तीन चार महिना यस्तै अवस्था रहेमा पूरै वर्ष नै लगभग शून्यतामा जाने उनले बताए ।

परामर्श व्यवसायको अबको सम्भावना के हुने भन्ने देश तथा विदेशका गतिविधिमा निर्भर रहन्छ । अन्तर्राष्ट्रियस्तरमा हुने ट्राभल कहिलेदेखि हुने, विद्यार्थी लैजान चाहने देशको अवस्था र नयाँ विद्यार्थी लैजान चाहन्छन् कि चाहँदैनन्, कोभिडअगाडिको आर्थिक स्थिति बलियो भए पनि पछि परेको प्रभावका कारणले भविष्य बताउने इक्यान अध्यक्ष पाण्डेको भनाइ छ । शिक्षा मन्त्रालयले नयाँ विद्यार्थीका लागि एनओसी जारी गरेको छैन ।नयाँ प्रक्रियाका लागि तयारी कक्षा सञ्चालन गर्ने वातावरण, नेपालका बोर्डका परीक्षा र नतिजामा समेत भर पर्छ । विद्यार्थीको परीक्षा र नतिजा नआईकन विदेश अध्ययनको सम्भावना रहँदैन । अहिले नेपालमा परीक्षासमेत समयमा सञ्चालन भएका छैनन् ।

देशभर तीन हजारभन्दा बढी शैक्षिक परामर्शका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन् । तीमध्ये करिब दुई हजार सक्रिय परामर्शमा लागेको पाण्डेले बताए । उनका अनुसार परामर्श क्षेत्रमा १० हजारले प्रत्यक्ष र २५ हजारले अप्रत्यक्ष रोजगारी पाएका छन् ।यो क्षेत्रमा विदेशबाट पाँच अर्ब र स्वदेशमा दुई अर्ब रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको उनले बताए । सरकारले विदेश अध्ययनमा जाने विद्यार्थीबाट दुई प्रतिशत शिक्षा सेवा कर लिँदै आएको छ । विभिन्न कर गरी वार्षिक एक अर्ब राज्यको कोषमा जाने पाण्डेको दाबी छ । बाहिर जाने मात्र होइन, रेमिट्यान्सका रूपमा धेरै रकम आउने गरेको छ । अमेरिका, अस्ट्रेलिया, जापानलगायतका देशबाट विद्यार्थीले धेरै रकम रेमिट्यान्सका रूपमा पठाउने गरेका छन् ।

१० महिनामा वैदेशिक अध्ययनमा झन्डै २५ अर्ब बाहिरियो

आव ०७६ को १० महिनामा अध्ययनका लागि नेपालबाट २४ अर्ब ८६ करोड रुपैयाँ बाहिरिएको छ । गत आवमा सोही अवधिमा शिक्षाका लागि ३७ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको थियो । १० महिनामा नेपालमा कुल ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६.१ प्रतिशत कमी हो । पढ्नका लागि मात्र जाने देशहरू अमेरिका, अस्ट्रेलियालगायतका देशबाट समेत रेमिट्यान्स आएको छ । जापानमा कामका लागि जाने संख्या भए पनि अध्ययनका लागि जाने विद्यार्थीको समेत राम्रो योगदान छ ।

०७५-७६ को ११ महिनाको अवधिमा वैदेशिक अध्ययनमा नेपालबाट ४० अर्बभन्दा बढी बाहिरिएको थियो । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार आव ०७५-७६ को ११ महिनाको अवधिमा ४० अर्ब नौ करोड ५० लाख रुपैयाँ बाहिरिएको थियो । आव ०७४-७५ भन्दा पछिल्लो वर्षमा शिक्षामा १९.७ प्रतिशतले वृद्धि भएको थियो । आव ०७४-७५ को ११ महिनामा शिक्षामा ३४ अर्ब २२ करोड ८३ लाख बाहिरिएको थियो । आव ०७४-७५ मा कुल ३८ अर्ब आठ करोड ९५ लाख, आव ०७३-७४ मा जम्मा ३५ अर्ब दुई करोड ४९ लाख रुपैयाँ शिक्षामा बाहिरिएको थियो ।

विदेश अध्ययन रोकिएको होइन, शिथिलता आएको हो :रामशरण सापकोटा, सहसचिव शिक्षा मन्त्रालय

विगतमा विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीको संख्या धेरै बढेको थियो । तर, कोभिड–१९ का कारण आव ०७६-७७ मा सो संख्यामा कमी आएको छ । विदेश अध्ययन गर्न जानु नराम्रो होइन, नेपाललाई चाहिने जनशक्ति सीप सिकेर आउँछन् ।नयाँ ठाउँमा अध्ययन गर्दा नयाँ सीप र इनर्जेटिक पनि हुन्छन् । तर, कतिपय देशमा पुगेपछि उतै पलायन हुने प्रवृत्ति पनि देखिएको छ । विकसित देशमा गएर जिन्दगीभर दुःख गर्ने, तर नेपालमा सीप र पैसा नआउनु ठूलो समस्या हो ।वातावरण सहज भएपछि विदेश अध्ययन गर्न जानेक्रम बढ्छ । सधैँ यही अवस्था नरहन सक्छ । नेपालकै विश्वविद्यालयले राम्रो कार्यक्रम सञ्चालन गर्न सके, गुणस्तर बढाउन सक्यौँ भने विदेश जान चाहनेको संख्या घट्न सक्छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको…

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश…

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

प्रतिकृयाहरू
...