तीन मुक्तकहरू
(१)
तिमीलाई देखे खुसी अनि हुन्थे दंग सबै ।
दिनमै देखें सपनाहरू हुन्थे निन्द्रा भंग सबै ।
धेरैपछि भेट भयो अनुहार हेर्दै छक्क परें
कस्ले चोर्यो होला तिम्रो रस अनि रंग सबै ।
(२)
पिर ब्यथा लुकाएर हाँसिरहने बानी रहेछ ।
जति गरे नरित्तिने मायाको यो खानी रहेछ ।
रिस राग मिसिएको काँडा बिच फूल सरी
मन पनि मन्दिर झैं चोखो निर्मल पानी रहेछ ।
(३)
समस्या जहाँ थियो त्यहीँ रोकिन पो थाल्यो ।
साना ठुला घटना बिस्तारै छोपिन पो थाल्यो ।
भनौ कसलाई को होला बुझ्ने वास्तविकता
मनमा धेरैपटक यहि प्रश्न ठोकिन पो थाल्यो ।
-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।