Thursday 26th March 2026

कविता : “म रोपाहार हुँ” -रचना मोक्तान ‘यात्री’


कविता : “म रोपाहार हुँ”

पहाडका थुम्काहरूले
वर्षा ऋतुको रिमझिम बहारलाई
धर्ती भिज्ने गरी खन्याएपछि
आँखामा बिहान मिचेर
कानमा भालेको अलाराम सँगै
परेलीमा घाम जन्माउने रोपाहार हुँ म ।

चूल्ठोमा ईन्द्रकमल सिउरेर
कम्मरमा गुन्युको सप्को लगाउँदै
संगीनिको ओठ सँगै चाहना सुसेलेर
घुमको पछ्यौरीले कपाल ढाक्दै
खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ म ।।

हली दाई र बाउसे दाईले
गह्राका उबडखाबड हरु सम्याएपछि
राता चुराहरुको छनछनी संगीतमा
दबदबे हिलो भित्र हत्केला बजाउँदै
हरिया बीऊहरुको असारे लय रोपेर
पिठ्युँमा बतासको खुई कडाउने रोपाहार हुँ म ।।।

मानो खाएर मूरी उमार्ने समयमा
लाग्ने गर्छ किसान महोत्सव
निधारमा माटोको टीका
र शिरमा बीउको जमरा टाँसेर
कुलोको पानीले जवानी भिजाउँदै
दुःखको पटुकीले पेट बाँध्ने रोपाहार हुँ म ।।।।

हृदयको एउटा कुनामा वेदना लुकाएर
आँखाका क्षितिजमा खुशीको लाली पोत्दै
सुनको बाला मा धान झुलाएर
मनको खलामा यौवन फुलाएर
सुनौलो मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।।।।

बेठीमा बजेको पञ्चेबाजा सँगै
मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।।।।।

✍️रचना मोक्तान “यात्री”
१५ असार २०७७


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...