जय नारायण माझी थारू – “हिमाल,पहाड, मधेश तराई, कोही छैन पराई!” आज चरितार्थ भएको छ । डा.बाबुराम भट्टराईले राजनितिमा पद सबै भन्दा ठूलो होइन भन्ने कुरा जनता र समाजको मनोभावना नै सर्वोपरी हुन्छ भनेर आज फेरि सावित गरेर देखाई दिएका छन् । नेपालको इतिहासमा त्यागी नेताहरुको बिरलै जन्म भएको छ । पुष्पलाल , गणेशमान सिंह पछिको त्यागी नेतामा डा.बाबुराम भट्टराईको नाम दर्ज हुनमा कुनै दुबिधा छैन। नेपालामा प्रजातन्त्र पुन:स्थापनाको लागि गरेको संघर्ष देखिको होस वा गणतन्त्र स्थापनाको लागि होस,इतिहासलाई केलाएर हेर्ने हो भने डा.बाबुरामको अग्रणी भुमिका रहेको छ।
माओवादी जनयुद्धको बेला देशमा संविधान सभा मार्फत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली सहितको सैद्धान्तिक बहसको परिकल्पनाकार हुन बाबुराम भट्टराई। उनी जहिले पनि जनताको मुद्धालाई सकारात्मक रूपमा लिएर हिँडे अझै पनि हिँडिरहेका छन । बाबुराम अहिले राजनीतिक वृतचित्रमा भित्र र बाहिरका सबैलाई समेटेर अगाडि बढन सफल भएका छन।
डा. बाबुरामलाई अवगत छ, देशमा २०१७ सालको भुतहरु फेरि सलबलाउदै छ भनेर । हजारौ सहिदको सपनाबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई बचाउन सबैको साथ लिएर अगाडी बढे मात्र सहि अर्थमा गणतन्त्र सफल हुन्छ । उनी गणतन्त्रलाई संस्थागत गर्नको लागि कहिले राजावादीको शरणमा जान खोजेनन, गणतन्त्र सफल बनाउनका लागि रहे । अहिले हिन्दु राज्य पुनःस्थापनाका लागि लागेका कमल थापासँग गएनन् , गणतन्त्र बचाउनको लागि कहिल्यै लम्पसारवादीहरुसँग मिलेनन् , गणतन्त्र बचाउनको लागि कहिल्यै भ्रष्टाचारीहरुसँग मिलेनन् । डा. बाबुराम सधै नयाँ योजना सहित प्रगतिशील पार्टीहरुहरुलाई साथमा लिएर अगाडि बढ्न मात्र खोजेका हुन । यस्तै कारणहरुले अहिले राजनीतिक वृत्तमा धेरैको आँखाको कसिङगर बन्न पुगेका छन् बाबुराम भट्टराई । विश्वको २१औं सताब्दिको बैज्ञानिक समाजवादमा देशलाई विकास र समृद्धिको लागि अन्वेषण गर्दै विकास र समृद्धि तर्फ लिएर जानुपर्छ । नेपालमा अहिले पनि पीडित उपेक्षित, दलित , मुस्लिम , थारु, मधेसी, महिला, आर्य, खस, अल्पसंख्यकलाई समेटेर नेपालमा सप्तरङ्गी रास्ट्रवाद स्थपना गरेर मात्र विकास र समृद्धि सम्भव छ। त्यसैले बैकल्पिक शक्ति निर्माणमा होमिएको हुन् बाबुराम भट्टराई ।
एउटा बिद्धवान नेताले भनेका थिए -म पानी जम्मा भएर बसेको पोखरी जस्तो हुन सकिन, म निरन्तर बगिरहने नदी जस्तो भए । म त्यो नदी जस्तै कहिले कुईनेटोमा ठोकिन्छु त, कहिले छाँगा छहरा भएर खस्छु तर कहिले ताल (पोखरी ) जस्तो जमेर बस्न सकिन । हरेक बाधा अवरोध आए पनि आफ्नो गतिलाई निन्तर अगाडि बढाउने कोशिसमा रहन्छु । नदीको अनुकुलताले जता लान्छ म त्यतै जान्छु , मेरो जीबन त्यही नदि जस्तै छ । अर्थात सिद्धान्तलाई समाजको परिवर्तन अनुसार लागू गर्दै र समयसँग पौठेजोरी खेल्दै परिवर्तनमा होमिनु पर्दछ । डा.बाबुराम यहि सिद्धान्तलाई अनुशरण गरेर हिडेका छन् ।
वर्तमान राजनितिमा केही वर्गको जत्थाले तमाम उत्तपिडनमा परेका समुदायलाई हेर्ने हेह दृष्टिकोणलाई चिर्दै – राजनितीमा एउटा नयाँ बैचारिक र सैद्धान्तिक बहस सहित १.प्रजातान्त्रिक समाजवाद (काङ्ग्रेस ) र २.बहुदलीय जनवाद,एकाईसौ सताब्दिको जनवाद (नेकपा) लाई बैज्ञानिक समाजवादको सिद्धान्तले परास्त गर्ने बिचार सहित अगाडि बढेको देखिन्छ बाबुराम भट्टराई । बाबुरामको यो महानताले उत्पिडनमा परेका समुदायलाई फेरि पनि आफ्नो हकधिकार स्थापित हुन्छ भन्ने आसा पलाएको छ ।
अशोक राई र उपेन्द्र यादवहरु सँग एकता हुँदै गर्दा एकात्मक शासन सत्ताको ढ्याङ्ग्रो बजाउदै भनेका थिए कि मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलितको स्वतन्त्रताको जर्गेना गरेका भनेर आरोप समेत लगाएका थिए । अहिले झन राजपा सँग एकता गरेर दल दर्ता गर्दा एकात्मकवादीहरुको सातो उडेको छ । जुन कुरा गत २ अध्यादेश जारी र खारेजीले प्रष्ट पारिसकेका छ। जनताको शक्ति र शासनसत्तासँगको लडाइँ हुनैपर्छ ताकि सम्पुर्ण राज्यसत्ता लोकतान्त्रिक गणतन्त्रको मर्यादा बन्न सकोस ।
हिमाल, पहाड, तराई, मधेश जोड्दै आदिवासी जनजाती, थारु , मुस्लिम, महिला, दलित, अल्पसंख्यक एउटै फुलवारीमा ल्याउने अठोटलाई नेपाली जनताले सलाम गर्नै पर्दछ। नेता वा नेतृत्व कुनै पदमा नबसे पनि उनको बिचार भिजन, मिसन , सिद्धान्त, आवधारणाले यदि सबैलाई समेटेर निकास दिन्छ भने उही नै हो सफल राजनितिज्ञ । यस पटक पनि डा. बाबुरामले फलेको बृक्ष सधै निहुरिन्छ भनेर फेरि एकपटक पुष्टि गराईदिएका छन। वर्तमान राजनीतिमा उनको जति त्याग गर्ने नेता कोही देखिका छैनन् । उनीबाट अरू राजनीतिकर्मीहरुले पनि सिकुन् । आज फेरि डा.बाबुरामको पुन: जित दोहरिएको छ।
नाेटः पंतिकार जनता समाजवादी पार्टी कुवेत शाखाका उपाध्यक्ष हुनुहुन्छ ।