Tuesday 7th May 2024

कुवेतबाट प्रधान मन्त्रीलाई पत्र


सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री कार्यलय ,सिंहदरबार ,काठमाडौं नेपाल
बिषय : उद्दार गरि पाऊँ भन्ने सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा अहिले येसु सम्बत ३१ डिसेम्बर २०१९ अथवा बिक्रम सम्वत १५ पौष २०७६ गते चाइनाको युवान प्रान्त बाट फैलिएको कोभिड १९ नोवेल कोरना भारसले विश्वलाई ३६० डिग्रीमा पुर्याएको कुरा अवगत नै छ ।अाजको मिति सम्म अाईपुग्दा कुल २१,८२,७७१ जनालाई यसले संक्रमित बनाएको छ भने १,४५,५४५ जनाले ज्यान गुमाउनु परेको छ । छिमेकी राष्ट्र को हिसाबले हाम्रो मुलुक पौष १६ गते नै उच्च सतर्कता अपनाउदै लकडाउन हुनुपर्ने थियो ; तर त्यसो हुँन तपाईंको चेतनाले भ्याएन । भ्यावोस् पनि कसरी, तपाई अाफ्नै जीवन रक्षामा दौडिरहनु भयो र आफ्नो मृगौला प्रत्यारोपणमा लाग्नु भयो र सफल पनि हुनुभयो ।त्यसको लागि चिकित्सकहरुलाई धन्यवाद साथै तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना ब्यक्त गर्दछु ।
तपाईको स्वास्थमन्त्रीले घरमा पाहुना अाएको कारण देखाई व्यस्त हुनु र जिम्मेवारी पाएका उप-प्रधानमन्त्री कमाउ धन्दामा लागेको कुरा घाम जस्तै छर्लङ्ग छ । १०/१५ दिन अगावै एस ई ई परीक्षाको स्थगित गर्नुपर्नेमा पूर्ण तयारी भइसकेपछि स्थगित गरेर कलिला केटाकेटीहरुले दु:ख पाएको तितो यथार्थ लाई पनि स्मरण गराउन चाहान्छु । खैर केही छैन मानिसको स्वास्थ्य भन्दा ठूलो केही होइन। ढिलो भए पनि सरकारको घ‌ैटोमा घाम लाग्यो भनेर सबैले जय जयकार गरेकै थियौँ ।त्यस पछि चैत्र दस गते बल्ल फोहोर गरिसकेपछि दैलो देखे झैं नेपाल सरकार लकडाउनको चरणमा प्रवेश गर्यो । यस्तो महामारीको वेलामा समेत देशलाई डुबाउने कुचेष्टा गर्नुभएका तपाईंका उप-प्रधानमन्त्री, मन्त्रीलाई कार्वाहीको कुरा त परै जाओस उल्टो विपद ब्यवस्थापन समिति को सयोंजक बनाउनुले तपाईं को नियत माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।
तपाईंलाई सबै कुराको ज्ञान छ । प्रवाशको वसाई कस्तो कष्टकर हुन्छ ,कारागारमा कस्तो सकस हुन्छ ,दुख के हो भन्ने तपाईंलाई पूरापूर हेक्का छ। अहिले भारत लगायत खाडीमा कार्यरत देशप्रेमि श्रमजीविहरु र अाफ्नो सुनौलो भविष्य बनाउन अध्यनको लागि गएका लाखौं विधार्थीहरु यस्तो संकटको घडीमा अाफ्नै देश फर्कन चाहान्छन् ।यस्तो महामारीमा अाफू बाँचौ र अरुलाई बचाँउ भन्ने नै मूल नारा हो । यसको लागि अाधारभूत अावश्यकता पूरा गरिदिने राज्यको दायित्व हो । लकडाउन मात्रै गरेर समस्या कदापि सुल्झिने हैन । भारतको सिमानामा रहेका नेपालीहरुलाई स्वास्थ परीक्षण गर्दै नेपाल भित्र्याउन पनि असमर्थ भएको हो कि निरीह भएको हो !? उनीहरुको पनि बाँच्न पाउने अधिकार छ होला ! अाफ्ना देशका नागरिकलाई ब्यबस्थापन गर्नुको साटो उल्टै छिमेकीसंग हार गुहार गर्नु कत्तिको लज्जास्पद हो !
ल यो पनि ठिकै छ; भारतीय नागरिकलाई हामीले ब्यस्थापन गर्ने शर्तमा अैँचो-पैँचो चलायौँ ।काठमाडौमा रोजगार गुमाएका कयौं मजदुरहरुलाई अाफ्नो गन्तव्य सम्म पुर्‍याउने दायित्व कस्को ?पाषाण युग ,अादिम साम्यवादको झझल्को अाउनेगरी चप्पलमा झिटि-झ्याम्टा माथि वच्चा बोकेर दिन रात सडकमा चाउचाउ र विस्कुटको भरमा खुट्टा रगताम्य बनाएर महिनौ पैदल हिडेर भएपनि घर पुग्ने साहस गर्दै गन्तव्यको यात्रामा तल्लिन साहासिक, ईमानदार ,अनुशासित ,महान् नेपालीहरुको व्यवस्थापन गर्नुको सट्टा उल्टै मुद्दा चलाउने निर्णयले सरकार प्रति वितृष्णा बाहेक केही उत्पन्न हुदैन । तिनीहरुको तत्काल उद्दार गर्न यो पत्र मार्फत जोडदार माग गर्दछु ।
सम्माननीय ज्यू ,विदेशको हालत उस्तै दर्दनाक छ रेमिटान्सले देशको अर्थतन्त्र धान्ने विशेषत मध्यपूर्व तथा खाडीमा वैदेशिक रोजगारमा गएका नेपालीहरुको दिनका दिन रोजगार खोसिदै छ । न तलब छ, न गाँस छ । छ त केवल बास मात्रै समस्यामा परेकाहरु छिटो भन्दा छिटो स्वदेश फर्कन चाहान्छन् । दुतावासमा सम्पर्क गर्यो जो जहाँ छन् त्यहि बस्नुस् भन्ने अादेश छ सरकारको , वाह सरकार ! कति सजिलो जवाफ !! तीन सेकेन्डमा नै समस्या समाधान । मानेँ सरकार मानेँ ,यस्तो सरकार त संसारमा कहीँ पनि छैन होला ! झन् श्रम मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति ; हामी जिम्मेवार छैनौं रे । त्यसो भए हामी सँग किन राजस्व लिइयो ? किन श्रम स्विकृति गर्नु पर्यो ?एक पटक कार्यलय बोलाएर झाँको झार्नु पर्यो यस्तो मन्त्रीलाई ।अाफ्नो नागरिकलाई उद्दार गर भनेर न्यायलयले अादेश दिनु पर्ने नीति सायद यही सरकारको पाला देखि शुरु भएको हुनुपर्छ ।
विद्यार्थीहरुको उस्तै पीडा छ । काम छैन ,कलेजमा तिर्ने शुल्क छैन , खाना छैन ,स्वदेश फर्कनुको विकल्प छैन, तर फर्कने उपाय छैन ।

समस्या संगै समाधान को पनि उपाय हुन्छ । हरेक अँधेरी रात संगै उज्यालो बिहानीको उदय हुन्छ ।सायद कोरोनाले हामीलाई एउटा अवसर पनि त दिएको हुनसक्छ ! अब देश फर्कन चाहाने विदेशवाट सीप सिकेर ,जाँगर बोकेर अाएका श्रमजीविहरुलाई हाम्रै देशमा परिचालन गर्नुहोस् । कृषिमा अाधारित अात्मनिर्भरता कार्यक्रमको खाका तयार पार्नुहोस् । बाँझो जमीन उर्बर बनाउन लगाउनु होस् । पातलिएको बवनजंगलमा वृक्षारोपण गरेर बाक्लो हरियो वन नेपालको धन बनाउनुहोस् । हामीलाई पानी जहाज चाहिएको छैन । हामीलाई रेल चाहिएको छैन ।हामी हाम्रो पिठ्युँले ढुवानी गर्न संक्षम छौ। हामी पैदल हिड्न सक्ने छौ ।बोराबाट कुहिएका अालुहरु छानि छानि फ्याँकिदिनु होस् ।संविधानमा लेखेको समाजवाद उन्नमुख राष्ट्रलाई व्यवहारमा उतार्न कसरत गर्नु होस् । यदि म सक्तिन जस्तो लाग्छ भने नमस्कार गर्दै विकल्पको लागि मार्ग खुल्ला गरिदिनुहोस् । कमसेकम अलि अलि बँचेको लोकप्रियता त जोगिन्छ ।धन्यवाद अभिवादन
निवेदक
माधब पौडेल
बलेेेेफि गाँउपालिका-७- सिन्द्धुपाल्चोक
हाल :कुवेत


सम्बन्धित शीर्षकहरु

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

धर्म हो पैसा मर्म हो पैसा देखेर हुन्न कर्म हो पैसा जवानी पैसा दिवानी पैसा मर्दको लागि शिवानी पैसा सेवा…

प्रतिकृयाहरू
...