Friday 11th September 2026

कुवेतबाट नेपाल फर्कीएकी पुनमलाई विदेशले श्रम गर्न सिकायो


तितोपाटी- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मा डाँडागाउँकी पुनम राई सोमबार दिउँसो आफ्नो तरकारीबारीमा थिइन्। बारीमा फुलकोभीको अवस्था नियाल्दै गरेकी उनले भनिन्, ‘तीन वर्षको छोरा सुतेको मौका छोपी बारीमा आएकी हुँ।

पुनम र उनका श्रीमान् (रामकुमार राई) सोल्मामा कहलिएका किसान हुन्। उनीहरूले करिब १२ रोपनी जग्गामा तरकारीखेती लगाउने गरेका छन्। उनीहरूको उत्पादन स्थानीय बजारमै बिक्ने गर्छ। उत्पादित तरकारी कहिले पुनमले, कहिले रामकुमारले दिक्तेलमा शनिबार र बुधबार लाग्ने हाटमा पुर्‍याउँछन्। कतिपय तरकारी दिक्तेल बजारका तरकारी बिक्री केन्द्रमा खपत हुन्छ। ठेकेदारले पनि केही तरकारी खरिद गरेर बजारमा लैजाने गरेका छन्। यो दम्पतीको कृषिकर्म दशकौँ अघिदेखिको हो। रामकुमार आफैँले ०६२ देखि नै तरकारीखेती गर्दै आएका थिए। २०६४ मा पुनम र रामकुमारको विवाह भयो, त्यसपछि तरकारीखेतीले थप गति लिएको हो।

विदेशले पुनमलाई मेहनत गर्न सिकायो
पुनम कृषिकर्ममा लाग्नुअघि कुवेतमा रोजगारीका लागि गएकी थिइन्। मोरङ, रमाइलो गाउँकी पुनमले स्कुल पढ्दै गर्दा दाजुहरू भीमकुमार र श्यामकुमार विदेश पुगिसकेका थिए। ०५८ को एसएलसीमा फेल भएपछि उनले पनि विदेश जान सोचिन्। उनलाई घरमा खान–लगाउन दुःख थिएन। उनले विदेश जाने प्रस्ताव राख्दा सुरुमा उनका बाबुआमाले मानेनन्, तर सम्झाइबुझाइ गरेपछि स्वीकृति दिए। उनी ०६० मा कुवेत पुगिन्, घरेलु कामदारका रूपमा। उनका घरधनी दम्पतीमध्ये श्रीमान् प्रिन्सिपल थिए भने श्रीमती प्रोफेसर।

‘अहिले विदेशमै जस्तो मेहनत गरिरहेकी छु। घरखर्च चलाउनदेखि केही बचत गर्न पुगेकै छ। मेहनत गर्ने ठाउँ हुन्छ भने कमाउन गाह्रो छैन।छोरी मान्छे विदेश जाँदा मान्छेले नराम्रो सोच्छ, तर सबै ठाउँ नराम्रो हुन्छ भन्ने सोच्नु गलत हो,’ पुनम भन्छिन्, ‘घरधनी शिक्षित भएकाले मैले नराम्रो महसुस गर्नपरेन। परिवारमा जस्तै गरी बसियो। तलब पनि समयमै पाउँथेँ।’घरधनी दम्पती बिहान ७ बजेभित्र खाजा खाएर कार्यालय जान्थे। बालबच्चा पनि बिहानै स्कुल जान्थे। उनीहरू दिउँसो ३ बजे खाना खान आउँथे। पुनम त्यो घरमा खाना पकाउने लगायत काम गर्थिन्। उनीसँगै एक फिलिपिन्सकी महिला पनि थिइन्, सरसफाइको काम गर्ने। कुवेतमा राम्रै भइरहेका बेला घरमा बाबु बिरामी भएको समाचार पाएपछि उनी स्वदेश फर्किन्। घर आएको केही समयमा बाबुको मृत्यु भयो, त्यसपछि उनले विदेशको सपना त्यागिन्। उनले विदेशमा रहँदा श्रमको महत्व बुझेकी थिइन्। विवाहपछि उनले पतिलाई सघाउन थालिन्।

अहिले उनीहरूले बारीमा फुलकोभी, चाइनिज लसुन, प्याज लगायत लगाएका छन्। योसँगै दुई वर्ष अघिदेखि लोकल कुखुरा फर्म पनि चलाइरहेका छन्। त्यस्तै, आँगन नजिकै पोखरी बनाएर माछापालन पनि सुरु गरेका छन्। यो दम्पतीले १० वर्षकी छोरीलाई दिक्तेलकै स्याम्पल एकेडेमीमा पढाएको छ। पुनम भन्छिन्, ‘अहिले विदेशमै जस्तो मेहनत गरिरहेकी छु। घरखर्च चलाउनदेखि केही बचत गर्न पुगेकै छ। मेहनत गर्ने ठाउँ हुन्छ भने कमाउन गाह्रो छैन।’ -साभार नागरिकन्युज बाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...