Tuesday 28th July 2026

चलचित्र जगतका दुई हस्ती केशब र दिपकको भयो अन्त्येष्टि


चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्दासम्म उनी अचेत अवस्थामा रहेको परिवारले जनाएको छ । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो ।भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ । अभिनेता क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहेका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ ।

क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । उनको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो । आज दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो ।भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जली दिए ।सोमबार आर्यघाटमा नेपाली चलचित्र क्षेत्रका दुई हस्ती एकसाथ धुवाँमा विलिन भए । दाहसंस्कारका क्रममा दुवैतर्फ दारुण दृष्यले सबैको आँखा रसायो ।पुराना अभिनेता दिपक क्षेत्रीको शनिबार र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राति निधन भएको हो । तर, भवितव्यले दुवैको दाहसंस्कार एकै साथ पर्न गयो ।
केशवलाई सोमबार चलचित्र विकास बोर्डको प्रांगणमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो । जहाँ उनका परिवार, चलचित्रकर्मी र शुभचिन्तक पुगेका थिए । केशवका १५ वर्षीय छोरा त्यहाँ थिए । उनको आँखाबाट अविरल आँशुका धारा खसिरहेका थिए । घरी–घरी भक्कानिएर ‘बाबा’ भन्थे ।

बोर्डको प्राङ्गणबाट केशवलाई आर्यघाट लगियो । त्यहाँ पनि केही बेर श्रद्धाञ्जलीको लागि राखिएको थियो । छोराको हालत त्यहाँ झन् खराब भयो । बुबाको मृत शरीर वरिपरी घुम्दै उनी चिच्याइरहेका थिए, ‘बाबा‘ उठ्नु न । बाबा ‘, बा.. बा‘ उठ्नु न ।’

छेउमा उनकी आमा पनि घुमिरहेकी थिन् । छोराको चिच्याहटले उनको बेदना झनै उम्लिन पुग्थ्यो । आफ्नो सिउँदोको सिन्दुर पुछिँदाको पीडा आँखाबाट पोखिइरहेको थियो । वृद्धावस्थामा रहेकी केशवकी आमा पनि पशुपति आर्यघाटमै पुगेकी थिइन् । पुत्र वियोगको यो घडीमा आफूलाई सम्हाल्न उनलाई कठिन भएको थियो । छोराको अनुहार सुम्सुम्याउदैँ सुकेको स्वरमा उनी धेरै समय रोइन् । त्यहाँको दृष्यले जोकोहीलाई पनि स्तव्ध बनाएको थियो । सबैका आँखा रसाए ।

बिबाह गरेको लामो समयपछि भट्टराई दाम्पत्तिलाई सन्तानलाभ भएको थियो । उनीहरुले ०६२ सालमा टेस्टट्यूव प्रविधिबाट छोरा जन्माएका थिए । उनै छोराले आज दागवत्ती दिएका छन् ।
यस्तै सोमबार केशवसँगै कलाकार दीपक क्षेत्रीको पनि अन्तिम दाहसंस्कार गरियो ।

दीपकलाई पनि चलचित्र विकास बोर्डको प्रांगणमा केशवसँगै श्रद्धाञ्जलीको लागि राखिएको थियो । दीपककी श्रीमती कलाकार विपना बस्नेत त्यहाँ थिइन् । उनी आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । चिच्याइरहेकी थिइन्, ‘दीपक, ओइ दीपक‘ बोल् न । ओइ बोल् न भनेको । म यहाँ छु के । मसँग बोल् न ।’

धेरै जना उनलाई सम्झाउन प्रयासरत थिए तर उनको विलौना झन् बढिरहेको थियो । उनी भन्दै थिइन्, ‘म बाहिर जाँदा छिट्टै आऊ है भनेको थियो । म आउँदा त उसले मलाई छोडेर गइसकेछ । मलाई भन्दै नभनी । ए दीपक । विपनाको छेउमा बसेकी दीपकको छोरीको हालत पनि उस्तै थियो । उनी पनि ‘बाबा, बा.. बा’ पुकारी रहेकी थिइन् । उनको आँखा रुदाँरुदैं सुन्निएको थियो ।

सयौंको संख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जली दिए । जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासङ्घका केन्द्रीय सचिवालय सदस्य समेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली दिए ।

अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिङ्गो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए । ‘उहाँ बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो’, राईले भने, ‘प्रिय व्यक्ति गुमाउनु पर्दा निकै पीडाबोध भइरहेको छ ।’ अभिनेता दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको बताए ।

‘उहाँमा कुर्सीमा बस्दा केही राम्रा काम गरेर देखाउनु पर्छ भन्ने भावना थियो’ डिसीले भने, ‘उहाँका अधुरा सपना पूरा गर्न हामी लागि पर्नेछौं ।’ अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनु परेको बताइन् । उनले एकै पटक दुई जना असल कलाकार गुमाउनु पर्दा चलचित्र क्षेत्रले अपूरणीय क्षति ब्यहोर्नु परेको बताइन् ।

गत चैत ७ गते भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । उनका श्रीमती र एक छोरा छन् । उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन् । उनले आफै निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन् । भट्टराईले कोसेला, दक्षिणा, आफ्नो मान्छे, पाहुना, कर्मयोद्घा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, यात्रालगायतका चलचित्र निर्माण गरेका छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...