Sunday 22nd March 2026

साउदीस्थित कार्यरत ४हजार बढी नेपालीले दुतावास गुहारे


तितोपाटी-सुख खोज्दै वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरब पुगेका नेपाली त्यहाँ झन् ठूला समस्याले घेरिने गरेका छन्। म्यानपावर कम्पनीको प्रलोभन, रोजगारदाता कम्पनीको जालझेल र साउदी अरबको परिवेशबारे जानकारी नहुँदा उनीहरू त्यहाँ पुग्नेबित्तिकै स्वदेश फर्कन बाध्य हुने गरेका छन्।

‘कामदारका धेरै समस्या आउने गर्छन्। हामी विस्तारै समस्या समाधान गर्दैछौं,’ साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख दिलीपकुमार पौडेलले नेपालन्युजसँग भने, ‘समयमा तलब नपाउने, करारपत्रमा उल्लेख भएअनुसार सेवासुविधा नपाउने, स्वदेश फर्कन नपाउनेलगायत समस्या बढी आउने गरेका छन्।’

दूतावासको तथ्याङ्‍कअनुसार पछिल्लो चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा मात्र दूतावासले नेपाली कामदारका ४ हजार ४३ भन्दा बढी समस्या समाधान गरेको छ। समस्या लिएर आउनेको सङ्ख्या निकै ठूलो छ।

चार महिनाको अवधिमा दूतावासले नेपाली कामदार समस्यामा परेका साउदी अरबका ६४ कम्पनीसँग कुराकानी गरेको छ भने श्रमिक समस्या लिएर ४१ पटक त्यहाँको श्रम कार्यालय पुगेको छ। जबकि, यो अवधिमा साउदी अरबका रोजगारदाता कम्पनीले १९ हजार ४ सय ६५ नेपाली कामदारको माग गरेका थिए।

पछिल्लो चार महिनामा मात्र तलब समयमा नपाएका समस्या १ हजार ९ सय २६, बहिर्गमन भिसा समस्या १ सय ११, बिरामी तथा अस्पताल भर्ना समस्या २८, करार समाप्त नगरी घर फर्किन चाहनेको समस्या ७२, करार सम्झौता उल्लङ्‍घनले सिर्जित समस्या ४ सय २७, अस्थायी आवासीय अनुमतिपत्र नवीकरण नभएका कारण सिर्जना भएका समस्या १ हजार ३ सय ७६ र भगौडा कामदार समस्या १ सय ६ गरी कूल ४ हजार ४३ समस्या दूतावासले समाधान गरेको छ।

चार महिनाको अवधिमा दूतावासले नेपाली कामदार समस्यामा परेका ६४ कम्पनीको भ्रमण गरेको छ भने श्रमिक समस्या लिएर ४१ पटक त्यहाँको श्रम कार्यालय पुगेको छ। दूतावासका कर्मचारीले ८ हजार ९ सय जना नेपाली कामदारसँग पछिल्लो चार महिनामा समस्या समाधान गर्न टेलिफोनमा कुराकानी गरेको छ।

‘संस्थागत रूपमा आएका महिला पनि समस्यामा परेको भेटिएपछि अहिले कडाइ गरिएको छ,’ उपनियोग प्रमुख पौडेलले भने। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ हजार ४ सयभन्दा बढी नेपाली महिला संस्थागत रूपमा काम गर्न साउदी अरब पुगेका थिए। साउदीमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई विदेश जान तीन वर्षअघि रोक लगाइएको भए पनि अस्पताल, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा संस्थागत रूपमा जान खुला गरिएको थियो। तर, सप्लाइ कम्पनीले संस्थागत भनी लगेका नेपाली महिलालाई सम्बन्धित काममा नलगाई अन्यत्र प्रयोग गरेको पाइएपछि थप कडाइ गरिएको हो। यसकारण चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा ३७ जना नेपाली महिला मात्र संस्थागत रूपमा साउदी पुगेका छन्।

‘अस्पताल, विद्यालय, विश्वविद्यालयले सप्लाई कम्पनीमार्फत् महिला कामदार माग गरे हामी स्वीकृति दिँदैनौं। यस्ता संस्थाले सिधै नेपाली महिला कामदार माग गरे र संस्थाभन्दा बाहिर काम नलगाउने ग्यारेन्टी गरेमात्र स्वीकृति प्रदान गर्ने गरेका छौं,’ उनले भने। सप्लाइ कम्पनीमार्फत् साउदीमा काम गरिरहेका दुई-तीन सय महिलासँग भेटेर अन्तक्र्रिया गरेपछि यस्तो निर्णय लिइएको हो।

अहिले दूतावासको सेल्टरमा ६ जना महिला छन्। घरेलु कामदारका रूपमा रहेका उनीहरू घर मालिकको यातना सहन नसकेपछि ज्यान जोखिममा राख्दै भागेर दूतावास आइपुगेका हुन्। पछिल्लो चार महिनामा दूतावासले यस्ता महिलामध्ये ९ जनालाई सबै कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काएको छ। दूतावासले चार महिनाको अवधिमा ट्राफिक दुर्घटनामा परी निधन भएका नेपाली कामदारको क्षतिपूर्ति रकमका लागि विभिन्न अदालतमा ८० वटा मुद्दा दायर गरेको छ। यीमध्ये १० वटा मुद्दाको फैसला भएका छन्, जसबाट मृतकका परिवारले ८ लाख साउदी रियाल (करिब साढे २ करोड रुपैयाँ) क्षतिपूर्ति पाएका छन्।

रोजगारको लागि साउदी पुगेको ८९ जना नेपाली कामदार अहिले त्यहाँको जेलमा रहेका छन्। साउदीको साकाकामा १ जना, जुवेलमा १२ जना, दम्माममा ४४ जना र हायर जेलमा ३२ जना रहेका छन्। रोजगारदाता कम्पनी, म्यानपावर कम्पनी र कामदार स्वयंको गैरजिम्मेवारीका कारण जटिल अवस्थामा पुगेका ४१ जना नेपाली कामदारलाई दूतावासको सेल्टरमा राखी उनीहरूको समस्या समाधान गरिएको छ।नेपाल न्युजमा सुरेन्द्र पौडेलले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...