Sunday 22nd March 2026

श्रम इजाजत लिएकालाइ पनि एयरपोर्टबाट फर्काइदै, श्रम विभागद्वारा आपत्ति


तितोपाटी – वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएको छ । त्रिभुवन विमानस्थलको यात्रु सेवा विभागबाटै विमान कम्पनीले कामदार फिर्ता पठाउने गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले गैरजिम्मेवार ढंगले कामदारलाई विमानस्थल फिर्ता गर्नु गलत भएको बताए । यसमा विमान कम्पनी र विमानस्थल प्रशासनको भूमिका रहेको उनको भनाइ छ । ‘अध्यागमनसँग त हामीले निरन्तर समन्वाय गरेका छौं, तर विमानस्थलमा विमान कम्पनीले नै विनाकारण कामदार फिर्ता पठाइरहेका छन्,’ भुषालले भने, ‘यो गम्भीर विषय भएकाले विभागले पहल थालेको छ ।’ उनले श्रम स्वीकृति लिएर गएकालाई रोक्नुपर्ने कुनै कारण नहुने भन्दै कुनै शंका रहे अध्यागमनले थप सोधपुछ र अनुसन्धान गर्न सक्ने बताए । तर, अध्यागमनमा नै पुग्न रोकेर यात्रुलाई फिर्ता पठाइँदा वैधानिक रुपमा जान लागेका कामदार पनि पीडित हुन परिरहेको उनको भनाइ छ ।

‘श्रम स्वीकृति लिएर गएका सोझासिधा व्यक्तिलाई विभिन्न बहानामा त्रिभुवन विमानस्थलमा बोर्डिङ पास नदिई र त्यसको कारण समेत नखुलाई फिर्ता पठाउने गरिएको गुनासो विभागमा प्राप्त हुने क्रम बढेको छ,’ भुसालले भने, ‘उनीहरुलाई फर्काउनुपर्ने कुनै जायज कारण भएमा लिखित रुपमा दिनुपर्छ । संविधानले प्रत्याभूत गरेको सूचनाको हक सबै नेपालीलाई छ ।’

यसरी फिर्ता गर्दा कामदारको टिकट बापतको रकम नोक्सान हुने गरेको र कतिपयले समयमै कम्पनीमा पुग्न नसकेर जागिर गुमाउन परेको भुसालले बताए । यस विषयमा विभागले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर ध्यानाकर्षण गराइसकेको छ ।

प्रस्थान अनुमति नपाएर फर्कने कामदारहरुबारे विमानस्थलस्थित श्रम कक्ष (वैदेशिक रोजगार विभाग) लाई समेत जानकारी नहुने विभागको कथन छ । वैदेशिक रोजगार विभाग तथा अन्तर्गतका कार्यालयमा कुनै समन्वयसमेत नहुँदा कामदारले अनावश्यक दुःख पाउनु परेको विभागको पत्रमा उल्लेख छ ।

विदेशी विमान कम्पनीको फिर्ता नहुने प्रकृतिको टिकट भएको अवस्थामा मुलुकको धनराशी विना प्रयोजन विदेशिने पत्रमा औंल्याइएको छ । पर्यटन मन्त्रालयलाई फिर्ता गर्नुको कारण लिखितरुपमा दिनुपर्ने प्रबन्ध गर्न आग्रह गरिएको छ ।

विमानस्थल प्रशासन भने यात्रुलाई प्रस्थान अनुमति दिन आफ्नो प्रत्यक्ष भूमिका नहुने बताउँछ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले कुनै कागजात नपुगेर विमान कम्पनीहरुले बोर्डिङ पास नदिएको हुन सक्ने बताए । ‘अध्यागमनले सरकारले तोकेअनुसार कागजात माग गर्छ, त्यस्ता कागजातको जाँच विमान कम्पनीले पनि गरेका हुन्न्छन्,’ उनले भने, ‘कुनै कागज नपुगेको भए बोर्डिङ पास नदिई फर्काउने गरिएको हुन सक्छ ।’ यात्रुलाई समस्या भए ‘टर्मिनटल ड्युटी अफिस’ मा यात्रुले सहयोग माग्न सक्ने तिवारीले बताए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...