Monday 16th February 2026

जसलाई दसैंले बैदेशिक रोजगारीको लागी जोर्डन बाट रोक्न सकेन


तितोपाटी- बिहीबार बर्दियाकी मनमाया मोक्तानसहित ६ जना महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिए।

उनीहरु रोजगारीका लागि जोर्डन जाँदै थिए। हामी जोर्डनमा हाउस-मेड कामका लागि जाँदैछौं,’ मनमायाले सुनाइन्।दसैं मनाउनका लागि सबैजना परदेशबाट फर्कने बेलामा उनीहरु भने वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता आइलाग्यो। हाम्रो बिदा दसैंमा ठ्याक्कै मिलेन। अलि अगाडि आएका हामी यतिबेलै जानुपर्ने भयो। काम नै छाडेर दसैं मनाउन यतैबस्ने हो भने देशमा काम छैन,’ मलिन अनुहार बनाउँदै मनमायाले भनिन्, ‘अब मिलेछ भने अर्को वर्षको दसैं चाहिँ यतै मनाउन पर्ला।


मनमायाले मलिन अनुहार बनाउँदै आफ्ना कुरा राख्दा आडैमा बसेका उनका साथीहरुको पनि आँखा टिलपिल देखिए। उनीहरुलाई बिदाइ गर्न विमानस्थल आएका केही आफन्तहरु डाँको छाडेर रुँदै थिए।दसैंको मुखमा विमानस्थलमा आफ्ना आफन्तलाई बिदाइ गर्न आएका अन्यको अवस्था पनि त्यस्तै देखिन्थ्यो।

यद्यपि जबरजस्ती बिदाइका हात हल्लाएर फर्किनुमा उनीहरुसँग अन्य कुनै विकल्प थिएन। रोजगारीका लागि पहिलोपटक ओमान जाँदै गरेका काठमाडौं थानकोटका सन्तोष सूचिकार पनि विमानस्थलमै भेटिए। योभन्दा अगाडि जति प्रयास गर्दा पनि भिसा लागेको थिएन, दसैंकै बेलामा भिसा लाग्यो, नेपालमा जागिर छैन, के गर्नु बाध्यताले हिड्नैपर्‍यो,’ गहभरी आँसु पारेर सन्तोष प्रस्थान कक्षबाट ओझेल भए।

बिदाइका समय मलिन अनुहारमा उनका आफन्तहरु सन्तोषलाई हेरि मात्रै रहेका थिए। दसैंको मुखमा परिवारको सदस्य टाढिँदै गर्दा कसलाई सहज अनुभव हुन्थ्यो र? सन्तोषलाई बिदाइ गर्न आएकी उनकी दिदीले भनिन्, ‘हाम्रो परिवारबाट कोही पनि विदेश गएको थिएन, भाइ नै पहिलोपटक जाँदैछ, त्यो पनि दसैंको बेलामा पर्‍यो, कति नरमाइलो लागिरहेछ,’ आँखाका आँशु पुछ्दै’ उनी त्यहाँबाट बाहिरिइन्। दाङका त्रिलोचन यादव पनि रोजगारीका लागि कतार जान यहिबेला भिसा लाग्यो।

उनको वैदेशिक रोजगारीको यात्रा भने पहिलोपटक थिएन। उनी योभन्दा अगाडि पनि रोजगारीका लागि मलेसिया पुगेका थिए। मलेसियामा काम गर्दा उनको ३ वर्षसम्म दसैंमा घर फर्किन पाएनन्। पहिले मलेसिया जाँदा पनि दसैं मनाउन पाइएको थिएन, यसपाली पनि यतिबेलै भिसा आयो, हाम्रो दसैंमा भन्दा पनि दिपावलीमा बढी रमाइलो हुन्छ, अब यसपालीको दसैं-दिपालली सबै उतै हुने भो,’ यादवले सुनाए।सन्तोष र मनमायाजस्ता दैनिक १ हजारभन्दा बढी श्रमिकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट रोजगारीको खोजीमै विदेशिन्छन्। दसैंमा पनि त्यो संख्यामा खासै कमी आउँदैन देशमा प्रशस्त रोजगारीका अवसर नहुँदा चाडपर्वको उल्लास र रमाइलो तथा परिवार सबैकुरा भुलेर उनीहरु परदेश जान बाध्य छन्। यही बीचमा आगमन कक्षमा भने हर्ष र उल्लासको माहोल देख्न सकिन्छ।

आफन्तहरु खुसीका साथ परदेशीलाई स्वागत गर्ने पर्खाइमा देखिन्छन्। सोही विमानस्थलको प्रस्थान कक्ष बाहिर हेर्दा भने जो कोहीको मन कुँडिन्छ‍। गहभरी आँसु पार्दै बिदाइको हात हल्लाइरहेका परदेशीहरु छिनभरमै आँखाबाट ओझेल पर्छन् र आँसु बनेर परिवारको आँखाबाट खस्ने गर्छन्। जर्बजस्ती आँसुलाई आँखा भित्रै दबाउने कोसिस गर्दै आफन्तहरु घर फर्कन्छन्। परदेशीहरु आफन्नो गन्तव्यतर्फ लम्कन्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यतिबेला खुसी र पीडाको संगम (दोभान) जस्तै बनेको छ।

साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...