Sunday 17th November 2024

षडयन्त्रमा फसेको राज्यसत्ताको विकल्पमा कार्यकारी प्रणाली


जय नारायण माझी थारू – सिके राउतहरु पेन्टागन छाडेर त्यसै तराई मधेशको मसिहा बन्न खोजेको छैनन् । मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यतिकै भएको होइन । माओवादीबाट विप्लवको रहस्यमय वहिर्गमन र अहिले बिप्लवप्रतिको राज्यको निषेध र क्रुर ब्यवहार अनि मोहन बैद्यलाइ एकलै बनाएर बादलहरुको “एकता” लाई सामान्य परिघटनाका रूपमा लिन हुदैन , माओवादीको वीउ पनि रहन दिन्न भन्ने चहाना भारतीय संस्थापन पक्ष र भारतिय निति सार्थक भैइसकेको छ । बिखन्डणनको नारा बोकेर हिँड्नेलाई काँधमा बोक्नु, एउटा निर्वाचित सांसदलाई जेल कोच्नु , प्रेस स्वतन्त्रता माथि हमला गरेर जनताको आवाज दवाउनु र उता प्रगतिशील र गतिशिल नेता भनिने बाबुरामलाई एक्लै पारेर देशलाई गतिहिन्ता तिर धकेल्ने कोशिस भैइरहेकोछ भन्ने कुरालाई पनि गम्भीरताका साथ लिनु आवश्यक छ ।

नेपालको राजनितिक वर्तमान अवस्थामा सुतुरमुर्ग मार्ने वनमरा जस्तै जनता मार्ने तानाबना बुनेको एउटा समान्तवादी अधिनायकवादी समुह ( सन्जाल) बनेको छ ,संसारले राजनितिक ब्यवस्थाको उचाई लिएपनि , सगरमाथा जस्तो शिर उच्च हुनुपर्नेमा नेपालको राजनितिक उचाई दिन दिनै घट्दै छ। शान्तीका दुत बुद्धको भूमिलाई अशान्त बनाउने , पशुपतिनाथलाई काल भैरव बनाउने, जानकी माताको मन्डपमा दाईजो मागेर कोलाहल मचाउने,स्वतन्त्र र सार्वभौमता साथ बाच्ने जनतालाई एक आपसमा फुट गराएर आफ्नो नीजि स्वार्थ पुरा गर्नेहरुको झुन्ड जस्तै देखिन्छ वर्तमान सरकार ।

नेपालको राजनीतिका खेलाडीहरूले कहिले पृथ्वी नारायणको शालिक ढाल्छन त कहिले एकताको प्रतिक मान्छन । कहिले राजा महेन्द्रलाई रास्ट्रवादी मान्छ त कहिले रास्ट्रघाती । कहिले महामानव बुद्धको पुजा गर्छन, त कहिले त्यहि महामानव बुद्धको मुर्तीलाई छतबिछत पार्छन । कहिले मधेसी थारुलाई सिमाको रक्षक देख्छन त कहिले सिमा पारीको बुहारी । कहिले रास्ट्रको सच्चा सेवक कुलमान घिसिङ् र रवि लामिछाने जस्तालाई भ्रस्टाचारी र हत्याराको बिल्ला भिडाउन पनि पछि पर्दैनन् । नेपाली राजनितिका महापुरूषहरूको राज्यको बागडोर सम्हाल्ने तरिका कति आश्चर्य लाग्दो छ हगि ! कहिले संसदमा छिर्छन त कहिले वन पस्छन र हजारौ जनताको सिकार गर्छन । कहिले मिलन बिन्दुमा उहि पालै पालो सिंहदरवारको  कुर्शी ताक्छन र जनताको रगतबाट होलि खेल्न पनि पछि हट्दैनन् । नेपाली राजनीतिका मतियारहरुलाइ जे गरेपनि हुन्छ नेपालमा ! यहाँ त दिउँसै खसीको टाउको झुण्डियाएर कुकुरको मासु बेच्ने खेल भैइ रहेको छ । नेपालाको राज्यसत्ता कतातिर जाँदै छ ..? हाम्रो देशमा षडयन्त्रै षड्यन्त्रको खेल हुदैछ । कि फेरि २०१७ साल तिरका भुतहरु मौलाउदै त छैन..? यतिखेर सबैमा हाम्रो देश कता तिर जादै छ ? भन्ने प्रस्नवाचक चिन्ह खडा भएको अबस्था छ ।

विश्वको इतिहासमा कतै पनि नपाईने दुई विशाल उदाँउदै गरेको शक्तिशाली देशहरुको बिचमा स्वतन्त्ररुपमा रहेको नेपाल र नेपाली जनता स्वतन्त्र पुर्वक बाचेकोछ भन्ने यथार्थबाट आजको पुस्ताले लिनुपर्ने सन्देश र उर्जा, ज्ञाण लिन सकेको छैन । झन आउने भावी पुस्ताले कसरी लिन सकिएला ? कस्तुरी आफ्नो नाभीको सुगन्ध खोज्न भौंतारिए जस्तै नेपाली राजनीतिकर्मीले अन्य देशका नेतालाई र उसको विदेश नीतिलाई महान देख्ने र नेपाल राष्ट्रको स्थापना र निरन्तरताका आधारहरु भेटिने इतिहास र अनुभवलाई अपहेल्ना गरेकैकारण नेपालले स्वतन्त्रता सार्वभौम र स्वाभिमान गुमाउंदै दक्षिण एशियाको सबैभन्दा गरिब देशमा दर्ता हुनुपुगेको दृष्य साच्चै नै हृदयविदारक छ ।

अब नेपालको अस्थित्व बचाउन हामीले आउने २० बर्ष भित्र चिन र भारत भन्दा बलियो आर्थिक हैसियत बनाई सक्नु पर्छ । यसको लागि नेपाल भित्र रहेको प्राकृतिक सम्पदा अर्तगतको खानी , खनिज, चुना डुङ्गा, बन पैदावर, पानी, जडिबुटि आदिको अधिकतममा एक चौथाई मात्र प्रयोग गर्दा पुग्छ । देशमा भैइरहेको सबै किसिमको भाडभैलो , भ्रस्टाचारी , आतङ्क , ब्यभिचारी , अधिनायकवाद अवसरवाद ,परिवारवाद , आसेपासे पोस्ने सबै किसिमका वादबाट देशलाई मुक्त गर्नको लागि बैकल्पिक बाटोको अवस्था खड्किएको छ ।

त्यसैले अब नेपाल र नेपालीको बिकल्पको बाटो जनता द्वरा निर्वाचित कार्यकारी प्रणाली ब्यवस्थाको हो । हाम्रो देश नेपालको बहु जातिय बहु भाषिक , क्षेत्रीय ,वर्गिय , बहुधार्मिक , बहु सास्कृतिक विविधताका आफ्नै चुनाैतिहरु छन ।खस-आर्य , मङ्गोल मुलका आदिवासी जनजाति र मधेशी, थारु गरि मुख्य देशमा तिन वटा क्लस्टर छन । स्थिरताको लागि यि जातिय/ भाषिक क्लस्टर बिचमा एकता कायम गर्नु पर्छ । तिनवटै समुदायलाई राज्यका सबै निकायमा पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेर मात्र देशमा स्थायित्व आउछ ।त्यस्तै महिला दलित मुस्लिम अल्पसङ्खयक , सिमान्तकृत लगायत पछाडि पारिएका समुदायलाई राज्य सत्तामा समानुपातिक समावेशी प्रतिनिधित्व गराएर मात्र राजनितिक स्थिरता हासिल हुन सक्छ  र बिकास र समृध्दिको प्रतिफल सबैमा पुग्न सक्छ ।

नियमिततामा क्रमभङ्ग र खास खास बिन्दुमा छलाङ अर्थात टेक अफ गरेर नै विकासको शुरुवात गर्न सकिन्छ । चाहे युरोपका देशहरु होउन वा रुस वा चिन अथवा पछिल्लो चरणको सिङ्गापुर , मलेसिया र कोरिया र हालको इथोपिया नै किन नहोउन, यि मुलुकहरुले खासखास बिन्दुमा क्रमभङ्ग र छलाङ मरेका छन । नेपालले पनि अब त्यो क्रमभङ्ग र छलाङ लगाउने बेला आएको छ ।

स्थिरता प्राप्त गर्न समानुपातिक समावेसी प्रणाली खारेज गरिए, देश पुरानै ब्यवस्थामा पुगिन्छ । बिभिन्न जातीजाती, बर्ग, क्षेत्रको प्रतिनिधित्व गराउन सकिदैन र समानुपातिक मात्रै गर्दा राजनितिक स्थिरता हुदैन । त्यसैले यि सबै तह र तप्कालाई न्याय दिलाउनका लागि पुर्ण समानुपातिक समावेशी प्रणाली चाहिन्छ । आर्थिक बिकास र समृध्दिका निम्ति राजनितिक स्थिरता पनि चाहिन्छ । यि दुई अन्तरबिरोधी पक्षलाई समाधान गर्न ब्यवस्थापकीय अङ्ग र कार्यकारी अङ्गको निर्वाचन प्रणाली फरक-फरक गर्नुपर्छ । ब्यवस्थापकीय अङ्ग अर्थात संसदमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, त्यसमा बिभिन्न जातिय क्लसटरहरु, महिला, दलित, मुस्लिम, श्रमिक वर्गलगायत सबैको समानुपातिक प्रतिनिधित्व हुने ब्यवस्था गर्ने र त्यो ब्यवस्थापिका संसदले ऐन कानुन बनाउने, निति निर्माण गर्ने काम मात्र गर्ने र कार्यकारी अङ्गको चाहि प्रत्यक्ष निर्वाचन गर्ने र त्यसका निम्ति प्रत्यक्ष निर्वाचित रास्ट्रपती वा प्रधानमन्त्रीको नामले कार्यकारीको प्रत्यक्ष निर्वाचन गर्ने जसले ५ वर्षको आफ्नो पुरा कार्यकाल काम गर्न सकोस।

यसरी प्रत्यक्ष निर्वाचित कार्यकारी, अझ त्यसमा रास्ट्रपती नै भयो भने राजनितिक स्थिरता कायम हुन्छ । प्रत्यक्ष निर्वाचित रास्ट्रपतीले बिभिन्न क्षेत्रका बिज्ञहरुलाई लिएर चुस्त दुरुस्त मन्त्रीपरिसद गठन गर्नु पर्दछ। त्यसलाई नियन्त्रण ( चेक एन्ड ब्यालेन्स ) गर्न पुर्ण समानुपातिक आधारमा निर्वाचित संसद हुन्छ । यसरी प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपती र पुर्ण समानुपातिक निर्वाचित सांसद, यि दुईको संयोजनबाट नया खालको शासकिय प्रणाली कायम गर्न सकिन्छ। बिबिधतामा एकता गरेर स्थिरता कायम गरि बिकास र समृध्दि हासिल गर्न सकिन्छ । एकाईसौ सताब्दीको उतरार्धमा छौ हामी यो एकाईसौ सताब्दी पैदल हिड्ने युग होइन रकेट चढ्ने युग हो भन्ने सोचको साथ तत्काल संविधान संशोधन मार्फत देशको शासकीय स्वरुपलाई बदलेर जनताद्वरा निर्वाचित कार्यकारी प्रणाली लागु गरौ , देश र जनताको भलो चिताउने काम गरौ ।


सम्बन्धित शीर्षकहरु

शुक्रबार, असम-मणिपुर सीमा नजिकै जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव फेला परेको खबर आएको थियो। यसपछि, शनिबार भीडले…

महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती कुवेतमा विशेष कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ। कार्यक्रमको उद्घाटन महागुरुको तस्बिरमा माल्यार्पण…

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

प्रतिकृयाहरू
...