Monday 27th January 2025

थोरै दाम धेरै काम कतारमा रंगशाला बनाउँदै गरेका नेपालीको पिडा


तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ ।

हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय रहेको छ । विभिन्न समयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि कतारमा रंगशाला निर्माणमा काम गर्ने श्रमिकमाथि चरम शोषण भइरहेको तथ्यहरु बाहिर ल्याइसकेका छन् । रंगशालामा काम गर्ने विदेशी श्रमिकलाई १६ घन्टासम्म निर्माण कम्पनीले काम लगाउने गरेको गुनासो विदेशी श्रमिकले गर्दै आएका छन् ।

रंगशालामा पेलिँदै नेपाली श्रमिक

निर्माणधिन रंगशालामा काम गर्ने पुगेका नेपाली श्रमिक पनि १६ घन्टासम्म काम गर्ने बाध्य छन् । इलामका राजु भण्डारी गत वर्षको वैशाख महिनामा रोजगारीका लागि कतार गएका थिए ।उनलाई नेपालबाट म्यानपावर कम्पनीले कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने भनेर कतार पठाएको थिए । नेपालबाट कन्स्ट्रक्सनमा सामान्य काम गर्ने भनेर म्यानपावरले कतार पठाएको भण्डारीले बताए । तर कतार पुगेपछि रंगशालामा १४ घन्टासम्म खटिनु परेको उनको भनाइ छ ।

‘रंगशालामा धेरै नेपाली कामदार रहेका छन् । प्राय सबै लेबर काम गर्नेले १६ घन्टा त काम गर्नेपर्छ । मैले नै १४ घन्टासम्म काम गरेर आएको हुँ’ उनले भने, ‘रंगशालाभित्र काम गर्ने विदेशी कामदारमाथि चरम शोषण भइरहेको छ । त्यहाँ काम गर्ने ठेक्का पाएका कम्पनीले विदेशी कामदारलाई दवाव दिएर धेरै काम लगाउँछन् । रंगशालामा कार्यरत विदेशी कामदारले बाहिर निस्कन नै पाँउदैनन् ।’

कतारमा रंगशालाभित्र काम गर्ने श्रमिकले १ हजार २ सय रियाल पाउनेगरेको उनको भनाइ छ । यस्तै, काभ्रे बनेपाका दिलाराम गिरी पनि २ वर्ष कतारको रंगशालामा वेल्डिङको काम गरेर नेपाल फर्किएकको बताउँछन् ।

शनिवार स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका गिरीले १४ महिना कतारको रंगशालामा काम गरेको बताए । ‘खाने र सुत्ने ढुंगो हुँदैन थियो । म ९ महिना बाहिर ननिस्किइ काम गरें । म जस्ता लेबर काम गर्ने नेपालीसँग विदेशी श्रमिकले घामपानी कस्तो हुन्छ थाहा पाँउदैन् । म कम्पनीमा काम गर्ने गएको मान्छे सप्लाई कम्पनीमा परेर रंगशालामा काम गर्ने पुगें,’ उनले भने, ‘कतारको रंगशालाभित्र काम गर्ने विदेशी श्रमिकलाई पछिल्लो समय ठेकेदारले मोवाइल फोन र इन्टरनेटको सुविधा बन्द गरेका छन् । त्यहाँ काम गर्ने कामदारलाई विभिन्न संघसस्था र मिडियासँग भेट गर्न दिने गरेका छैनन् । जसका कारण रंगशाला भित्र काम गर्ने श्रमिक समस्या बाहिर आउन सकेका छैनन् ।’

पैसा कमाइ राम्रै भएपनि ज्यान जोगाउन मुस्किल हुने रंगशालामा काम गर्ने कामदारको भनाइ छ । आफूहरु जस्ता करिब ६० हजार नेपाली श्रमिक रंगशालामा कार्यरत रहेको उनीहरुको अनुमान छ । ती मध्ये अधिकांशले तल्लो तहको मजदुरी ‘लेबर’ काम गदै आएका छन् । नेपाली युवाका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यभित्र कतार पर्छ । गत आर्थिक वर्षमा संख्या १ लाख ६५ हजार ३ सय २८ जना पुरुष र महिला संख्या ४ हजार ८ सय ८७ जना गरी १ लाख ६१ हजार २ सय १५ जना कतार रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो आर्थिक वर्षमा सवैभन्दा धेरै रोजगारीका लागि नेपाली कतार पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । यो आर्थिक वर्षमा रोजगारीका लागि कतार पुगेका १ सय ६५ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।

कतार रोजगारीका लागि गएका धेरै नेपाली श्रमिकले कार्यस्थलमै ज्यान गुमाउने गरेको विषयमा गत जेठ २२ गते अरब न्युजले एउटा समाचार प्रकाशित गरेको थियो । कतारमा विश्वकपका लागि रंगशाला निर्माण हुन थालेपछि ९ वर्षको अवधिमा रंगशाला निर्माणमा काम गर्न गएका करिब १ हजार ४ सय नेपाली श्रमिकले ज्यान गुमाएको समाचारमा उल्लेख गरिएको थियो ।

रंगशालामा काम गर्न पुगेका ठूलो संख्या नेपाली कामदारको मृत्यु र अंगभंग भएपनि यस्तो घटना तत्काल बाहिर आउँदैन । कतारमा रहेका नेपालीको संस्था (बीडब्लुआई)का संयोजक जेबी गुरूङ कतारको रंगशालामा काम गर्ने आएका नेपाली कामदारको अवस्था नाजुक भए पनि बाहिर नआउने गरेको बताउँछन् । संयोजकका गुरूङका अनुसार रंगशालामा काम गर्ने विदेशी कामदार अवस्था बुझ्न मानव अधिकार आयोगले पनि कुनै ठोस कदम चाल्न सकेको छैन । रंगशालाभित्र काम गर्ने श्रमिक दास नै भएको उनको भनाइ छ ।

सरकार मौन

रोजगारीका लागि कतार मात्र होइन, खाडीका देश र मलेसिया पुगेका धेरै नेपाली कामदारले ज्यान गुमाइरहेका छन् । गएका ११ वर्षमा वैदेशिक रोजगारीमा गएका ११ हजारले ज्यान गुमाएका सरकारी तथ्याङ्कमा छ । वैदेशिक रोजगारीमा गएका वार्षिक १ हजारभन्दा धेरै नेपाली श्रमिकले स्रोत देशमै मृत्यु भएर शव नेपाल ल्याउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्याङ्कमा छ । तर, सरकारले के कारण रोजगारीका लागि गएका नेपाली श्रमिकको विदेशमा मृत्यु भइरहेको छ भने विषयमा खासै अध्ययन गरेको पाइदैन ।

मलेसिया पछि धेरै नेपालीको मृत्यु कतारमा हुने गरेको बोर्डको तथ्याङ्कमा छ । सरकारले यति ठूलो संख्यामा रोजगारीमा गएका नेपालीको विदेशमा मृत्यु भएपनि यो समस्याको समाधान भने खोजेको पाइँदैन् ।यति ठूलो सख्यामा मृत्यु भइरहेको देश कतार कामदार पठाउन विषयमा सरकार गम्भीर पनि देखिदैन । अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओे) को मापदण्डमा धेरै कामदार मृत्यु हुने देश श्रमिक आपूर्ति नै रोकेर समस्या समाधान खोज्नु पर्ने व्यवस्था छ ।

साभार खबरहब


सम्बन्धित शीर्षकहरु

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

प्रतिकृयाहरू
...