तितोपाटी- युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर मानव तस्करले युवालाई फसाउने क्रम बढेको समाचार बाहिरिन थालेका छन्।
नेपाल सरकारले नेपालीलाई प्रतिबन्ध लगाएको मुलुक युद्धग्रस्त लिबियामा नेपाली युवा कसरी पुग्छन्? कस्तो प्रलोभनमा परेर उनीहरु मानव तस्करका पन्जामा फस्छन् यसबारेमा अघिल्लो शृङ्खलामा प्रस्तुत गरिसकेका छौँ। यस शृङ्खलामा युद्धग्रस्त लिबिया पुगेका युवा कस्तो जीवन भोग्न बाध्य हुन्छन्? पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै युद्धमैदानमा काममा कसरी खटाइन्छ लिबियाली नागरिकले नेपाली नागरिकलाई कस्तो व्यवहार गर्छन्? यीलगायत नेपाली युवाहरुको यथार्थ भोगाइ समेट्ने प्रयास गरेका छौं। यसका लागि मानव तस्करको प्रलोभनमा परी लिबिया पुगेर सास्ती व्यहोरी फर्किएका युवासँगको कुराकानीमा आधारमा यो सामग्री तयार गरेका छौँ।
सन् २०१८ सेप्टेम्बर २१ मा सैनामैना १० रुपन्देहीका गणेशबहादुर थापामगर लिबियाको राजधानी त्रिपोली पुगे।डेरिमिल्क कम्पनीमा सवारी चालकको कामका लागि भनेर गएका गणेशलाई त्यहाँको राइस मिलमा लेबरको काम लगाइयो।अफ्रिकी मुलुकको खपिनसक्नु गर्मी, लोडअनलोडको काम, तलब पनि मासिक, ३ सय अमेरिकी डलर मात्रै, खाने खर्च ३ सय डलरबाट, महंगी उस्तै, हरेक क्षण पृष्ठभूमिमा बम र बन्दुकको आवाज।
त्रिपोली नजिकका स्थानमा युद्ध भइरहन्थ्यो, ड्याङ्ड्याङ बन्दुकको आवाज पृष्ठभुमिमा राखेर काममा दैनिक १२ घन्टा खट्नुपर्ने बाध्यता थियो उनको त्रिपोलीस्थित युद्धमैदानमा बम बारुदको गोलीसँग आफूलाई जोगाउन संघर्षरत गणेशसँग नेपाल लाइभले फोन सम्पर्क गरेको थियो। फोनको पृष्ठभुमिमा समेत बम र बन्दुकको ड्याङड्याङ आवाज अनुमान गर्न सकिन्थ्यो। सुन्नु भयो त, पृष्ठभुमिमा आवाज नजिकै बम, बारुद र गोला बर्सिरहेका छन्। कुन बेला मरिने हो टुङ्गो छैन, जसरी हुन्छ हामीलाई उद्धारका लागि सहयोग गरिदिनु पर्यो,’ गणेशको बोली जीवनमरणको दोसाँधमा पुगरे बोलेजस्तो ठम्याउन सकिन्थ्यो।
सोचेजस्तो छैन लिबिया
मानव तस्करको प्रलोभनमा भनिए जस्तो सपनाको सहर थिएन लिबिया। बिहान बेलुका टाउको लुकाउने छाप्रो र दिनभर काममा खटिन मात्रै पाउँथे उनीहरु। ‘बाहिर तरकारी, चामललगायत खानेकुरा किन्न जान सक्ने वातावरण पनि थिएन। त्यहीँका स्थानीयले किनेर ल्याइदिन्थे। महिनाभर काम गरेको पैसाले १० दिनलाई पुग्ने खानेकुरा पनि आउँदैन थियो,’ गणेश दुखेसो पोख्छन्।
चामलमा धेरै पानी राखेर पकाउँथे र थोरै चामलको भात धेरै बनाएर पिउँथे उनीहरू। एकातिर बम र बारुदको त्रास, अर्कातिर गर्मी उस्तै थियो। ‘गर्मीले रातभर निद्रा लाग्दैन थियो, सिरकको खोललाई पानीले भिजाउथेँ। यही सिरकको खोल ओडेर केही बेर मुस्किलले निदाउन नपाउँदै फेरि बम र बारुद पड्किएको आवाजले ब्युँझाउँथ्यो,’ गणेशले सुनाए।
गणेशसँगै राइसमिलमा काम गरेर फर्किएका धरानका राजु विश्वकर्मा र उनका भाइ सनम विश्वकर्मा लिबियाको युद्धको चपेटामा उस्तै गरी फसेका थिए। राजु विश्वकर्मा गणेशसँगै राइस मिलमा काम गर्थे। सनम कृषि फर्म (मजरा)मा काम गर्थे। सनमसँगै काम गर्ने अन्य ६ जना नेपाली युवा पनि थिए।
सास अल्झाउन सङ्घर्ष
‘सास अल्झाउनु पर्ने थियो। कति अवस्थामा त हामीले बारीमा पाइने सखरखण्डका पात पनि पकाएर खायौँ,’ धरानका सनम विश्वकर्माले सुनाए। ‘लिबियाली नागरिकले मान्छेलाई मान्छे होइन, पशुलाई जस्तै व्यवहार गर्थे। काम गर्ने पनि बारीमा थियो। बस्ने पनि बारीनजिकै थियो, ओड्ने ओछ्याउने कपडा एकदमै पुराना थिए। बिजोगले बाँचेर फर्कियौँ,’ सनमले नेपाल लाइभसँग लिबिया अनुभव सुनाए।
‘लिबियामा जति सन्त्रास भोगियो, कसरी बाँचियो त्यो सबै शब्दमा बयान गरिसाध्य छैन। बस्ने क्याम्पको झ्यालबाट चिहाएर हेर्दा बमका छर्राहरु हावामा उडिरहेका हुन्थे। आफू नजिकै विद्रोहीहरु कुनबेला आएर कहिले बम पड्काउने हुन् कुनै टुङ्गो थिएन।’ बाँचेर फर्किन पाइन्छ जस्तो लागेकै थिएन। लिबियाबाटै फर्किएका सिन्धुपाल्चोकका कृष्ण कोइराला सुनाउँछन्।
भागेर आइएमओको सेल्टर
लिबियाको युद्धमैदानमा फसेका युवालाई उद्धार गर्न निकै कठिन थियो। १२ घन्टा निरन्तर काममा खटाइएको थियो। बाहिर कतै आवतजावत गर्न मुस्किल थियो। विद्रोही समूहले भेट्टायो भने बाँचेर फर्कने मौका नै थिएन।
रोजगारदातालाई नेपाल फर्कने खबर गरे। झन बन्धक बन्नुपर्ने बाध्यता हुन्थ्यो। इजिप्टको कायरोस्थित नेपाली दूतावासका कन्सुलर सुजन बिँडारीलगायत नेपाली शान्ति सेनाको टोलीले उनीहरूलाई कार्यस्थलबाट भागेर अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओको ) सेल्टरसम्म आइपुग्न भनेका थिए।‘धेरै दिनसम्म भाग्ने आँट आएन। कति प्रयास गर्यौं,’ गणेश सुनाउँछन्। एकदिन उनीहरु त्यहाँबाट ज्यानकै बाजी थापेर भागे।
‘नेपाली शान्ति सेनाका दाजुभाइले हिम्मत दिनुभयो। हामी त गोर्खालीका छोरा पो त। हिम्मत गर, आज तिमिहरू निस्किनुपर्छ। बाँचे घर फर्कौंला। मरेपनि मरियोस् भन्ने लाग्यो। हामी ट्याक्सी रिर्जभ गरेर त्यहाँ बाट भाग्यौँ,’ सनम विश्वकर्माले सुनाए। ट्याक्सीबाट आतंककारीको फन्दामा नपरी सुरक्षित रूपमा आइएमओको सेल्टरमा पुगिन्छ भन्ने ढुक्क थिएन। तर पनि उनीहरू हिम्मत गरेर त्यहाँबाट भागे। गत जेठ ५ गते इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ) र शान्ति सेनाको टोलीलगायत संघसंस्थाको समन्वय तथा सहयोगमा उनीहरुको सकुशल उद्धार गरियो। केही दिनमै उनीहरु नेपाल आइपुगे।
साभार नेपाल लाईभ