Tuesday 28th July 2026

यमनी हुथी विद्रोहीद्वारा साउदीको एक विमानस्थलमै आक्रमण हुँदा १ को मृत्यु, २१ जना घाइते


तितोपाटी – साउदी अरबको दक्षिणी भेगको एक विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । यमनी हुथी विद्रोहीले गरेको आक्रमणमा ज्यान गुमाउने व्यक्ति सिरियाली नागरिक भएको बीबीसीले जनाएको छ । अभा विमानस्थलमा आइतबार राती गरिएको आक्रमणमा २१ घाइते भएका साउदी अधिकारीले जनाएका छन् । आक्रमणमा घाइते हुनेमा साउदी अरब, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरू रहेका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ । पछिल्लो आक्रमणमा एक म्याक डोनाल्ड पसल तथा करिब दुई दर्जन सवारीसाधनमा क्षतिग्रस्त भएका जनाइएको छ । साउदी टेलिभिजन अल एखबरियाले प्रसारण गरेका दृश्यहरूमा विमानस्थलस्थित म्याक डोनाल्ड रेस्टुरेन्ट तथा पार्किङमा राखिएका गाडीहरूमा क्षति पुगेको देखिन्छ । हुथी विद्रोहीले एक साताको अवधिमा अभा विमानस्थललाई लक्षित गरी दोस्रो आक्रमण गरेका हुन् । जुन १२ हुथी विद्रोहीको आक्रमणमा दुई बालबालिकासहित २६ सर्वसाधारण घाइते भएका थिए ।

मानवअधिकारवादी संगठनहरूले ‘हुतुको नागरिक लक्षित आक्रमणलाई युद्धअपराधको संज्ञा दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणमा ड्रोन प्रयोग गरिएको जनाए पनि साउदी अधिकारीले हतियारबारे केही उल्लेख गरेका छैनन् । हुथी टेलिभिजन अल मासिराहका अुनसार ‘आफ्ना लडाकुहरूले ड्रोनको प्रयोगले अभा र नजिकैको जिजान विमानस्थलमा आक्रमण गरेका’ हुन् । साउदी अरबले जिजान विमानस्थल आक्रमणबारे भने केही उल्लेख गरेको छैन ।

हुथी प्रवक्ताले विमानस्थलस्थित साउदी सैनिकलाई लक्षित गरी ‘क्वासेफ–२ के’ ड्रोनले आक्रमण गरेको जनाए । उक्त ड्रोन जमिनबाट करिब २० मिटर माथि रहेको लक्ष्यमा आक्रमण गर्न तयार पारिएको हो । हुथी विरुद्धको गठबन्धनले उक्त ड्रोन इरानले उपलब्ध गराएको दाबी गरेको छ । यद्यपि, इरानले विद्रोहीलाई कुनै पनि हतियार नदिएको दाबी गर्दै आएको छ । अभा विमानस्थल यमनको सीमा क्षेत्रबाट करिब ११० किलोमटिरको दूरीमा छ । हुथी टेलिभिजनमार्फत प्रवक्ताले भनेका छन्, ‘यमनमाथि साउदी नेतृत्वको हमला जारी रहे अझै दर्दनाक आक्रमण गरिने छ ।’

आक्रमणमा इरानसँगको तनाव बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तीव्र बनाएका छन् । सन् २०१५ को मार्चमा हुथी विद्रोहीले देशका पश्चिमी क्षेत्रसहित अधिकांश स्थान कब्जा गरेपछि राष्ट्रपति अब्दराबुह मन्सुर हादीले देश छोडेर भागेका थिए । तर हुतुलाइ इरानी सिया मुस्लिम विद्रोहीहरूको सहयोग रहेको दाबी गर्दै सुन्नी बाहुल्य रहेका साउदी अरब र अन्य ८ देशले हादीको सरकार पुनःस्थापित गर्न हवाई आक्रमण गर्दै आएका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...