Wednesday 4th November 2026

श्रीमनसँगको खटपट पछि दोहोरो नागरिकता


तितोपाटी – उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् । कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ । दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र मनसरी राईकी छोरी धनमायाको जन्म ४ वैशाख ०५२ मा भएको नागरिकतामा उल्लेख छ ।

 श्रीमान्सँग मनमुटावपछि  अविवाहित नागरिकता 
धनमायाको ०६७ मा जातीय परम्पराअनुसार सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि हालको दुधौली नगरपालिका साबिकको ककुर ठाकुर गाविसमा विवाह दर्ता भएको थियो । विवाह दर्ताअनुसार श्रीमान्को नामबाट नागरिकता लिएकी थिइन् । सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २३ माघ ०६९ मा पतिको नाममा लिएको २०/०१ र ६९ र ०३३७५ नम्बर भएको नागरिकतामा धनमाया राई नाम उल्लिखित छ ।

 परिचय फेरेर नक्कली नागरिकता
कटारी–४ गबुवा घर भएकी धनमायाले इलाका प्रशासन कार्यालयबाट शीतल राईको नामबाट दोहोरो नागरिकता लिएको खुलेको हो । उनलाई अविवाहित नागरिकता बनाउन कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् ।  वडाध्यक्ष दनुवारले धनमायालाई शीतल राईको नामबाट नागरिकता दिन जन्ममिति सिफारिस समेत गरेका थिए । जन्ममिति सिफारिस गर्न सर्जमिन मुचुल्का गर्नुपर्ने भए पनि दनुवारले आफैँले सिफारिस गरिदिएको पाइएको छ । इलाका प्रशासन कार्यालय कटारीबाट शीतल राईको नाममा लिएको १४र०२र७४र०१४१२ नम्बरको नागरिकता उनले हाल प्रयोग गर्दै आएकी छिन् ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा न्याय क्षेत्र अध्ययन समिति गठन न्यायालयभित्र देखिएका विकृति, विसङ्गति तथा भ्रष्टाचारका आरोपमाथि अध्ययन गर्न चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा…

भ्रष्टाचारविरोधी अभियन्ता राजकुमार तिम्सिनाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भवन निर्माण तथा स्वास्थ्य उपकरण खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी पुरानो…

अमेरिकी राजनीतिक टिप्पणीकार टकर कार्लसनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही दिनभित्रै इरानमाथि परमाणु आक्रमण गर्न सक्ने दाबी गरेका छन्। उनले…

प्रतिकृयाहरू
...