Sunday 26th April 2026

कतार रोजगारीमा एकल सिन्डिकेट


‘सिन्डिकेट’ भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ। त्यसको समाधान ननिस्कँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ। ‘कतार भिसा सेन्टर’ नाममा सम्पूर्ण काम बिनाप्रतिस्पर्धा एउटा मात्रै संस्थालाई दिइएको छ। अब कतार जाने कामदारका लागि भिसा र त्यसअघिका प्रक्रियामा १४ हजार रुपैयाँ थप आर्थिक भार पर्न सक्ने देखिएको छ। त्यो कसले तिर्ने भन्ने अन्योल छ।

कतार भिसा सेन्टरले थम्ब प्रिन्ट, बायोमेट्रिक डाटा, स्वास्थ्य परीक्षण, करार प्रमाणीकरण, भिसा प्रोसेस सबै काम गर्नेछ। मलेसियाका हकमा यस्तै काम गर्दै आएका संस्थालाई गत वर्षको सुरुमा सरकारले धरपकड गरी मुद्दा चलाएको थियो। तिनको मुद्दा प्रायः खारेज हुँदै गएको छ।

यसबारे परराष्ट्र मन्त्रालयले २०७५ चैत २३ गते श्रमलाई पत्र लेखेको थियो। प्रत्युत्तरमा श्रमले वैशाख २९ गते पत्र पठाउँदै भनेको छ, ‘सम्पूर्ण शुल्क तथा लागत रोजगारदाताले बेहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने विषयको प्रत्याभूत हुन आवश्यक छ। उपयुक्त व्यवस्था सुनिश्चित हुने गरी कतार भिसा सेन्टरसम्बन्धी आवश्यक निर्णय प्रचलित कानुनबमोजिम साधिकार निकायबाटै हुनु उपयुक्त हुने व्यहोरा माननीय मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ।’

परराष्ट्रलाई कामदारलाई खर्च नलाग्ने गरी भिसा सेन्टर खोल्न निर्णय गरे हुन्छ भन्ने श्रमको राय छ। त्यही आधारमा परराष्ट्रले स्वीकृति दिई महाराजगन्जमा कतार भिसा सेन्टर खुलिसकेको छ।

मलेसियाका हकमा नेपाली कामदारलाई कुनै खर्च नलाग्ने दुई देशबीच श्रम सम्झौता भएको थियो। भिसा र अन्य खर्च रोजगारदाताले बेहोर्ने सम्झौतामै मलेसिया सरकारले हस्ताक्षर गरेको छ। ‘यो सरकारको दोहोरो पारा भयो। मलेसियाका लागि स्वास्थ्य परीक्षण गर्ने ३७ वटा संस्थालाई सिन्डिकेट भनियो। धरपकड गरियो। मुद्दा चलाइयो’, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने, ‘त्यही सरकारले कतारका लागि एउटालाई दियो। यसलाई सिन्डिकेट नभन्ने ? ’

उनले भने, ‘कतारको हकमा ‘नेपाली कामदारले तिर्नुनपर्ने प्रत्याभूति गर्न भनिएको छ। मलेसियाले त सम्झौतामै नेपाली कामदारले तिर्नै नपर्ने लेखेको छ। मलेसिया झन्डै एक वर्षदेखि किन रोकियो ? ’ स्रोतका अनुसार कतार भिसा सेन्टरका लागि लामो समयदेखि केही व्यवसायीले श्रम मन्त्रालयमा लबिङ गर्दै आएका थिए। श्रममन्त्री गोकर्ण विष्टले सिन्डिकेटका पक्षमा नरहेको सुरुमा बताएका थिए। तर, परराष्ट्रलाई नेपाली कामदारलाई ‘खर्चको भार नपर्ने गरी’ दिन उनकै मन्त्रालयले उनकै निर्णयको हवाला दिँदै पत्राचार गरेको छ। त्यही आधारमा अनुमति पाई जेठ १५ गते भिसा सेन्टर उद्घाटन भएको हो।

कतार भिसा सेन्टरका एसओस म्यानपावरका सञ्चालक हेमजङ गुरुङको हो। गुरुङले दुई सरकारबीच सम्झौता भएकाले कामदारलाई थप व्ययभार नपर्ने बताए।

( आजको अन्नपुर्ण पोस्ट् दैनिकबाट )


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...