Wednesday 13th May 2026

भारतको अरूणाञ्चल प्रदेशमा सांसद, उनका छोरा, सुरक्षागार्ड सहित ११ को गोली हानी हत्या


तितोपाटी – अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा नेशनल पिपल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको मंगलबार गोली हानी हत्या गरिएको छ । एक वरिष्ठ पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । द वायरका अनुसार नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन) का अज्ञात हमलाकर्ताले उक्त हमला गरेका हुन् । अबो अरुणाचल प्रदेशको खोंसा–पश्चिम सिटबाट सांसद भएका हुन् ।

तिरपका उपायुक्त पीएम थुंगनलाई उद्धृत गर्दै द वायरले भनेको छ, ‘अबो असमबाट आफ्नो विधानसभा क्षेत्र खोंसा पश्चिम फर्किरहेका थिए र त्यतिबेला उनका छोरा र दुई पुलिसकर्मी पनि साथमा थिए । उनको गाडी बिहान लगभग साढे ११ बजे जिल्लाको बोगापानी गाउँ नजिकै पुगेपछि अज्ञात हमलाकर्ताले उनको गाडीमाथि गोली चलाए जसमा ११ जनाको तत्काल मृत्यु भयो । ’

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गरेर सांसद अबोको हत्यामाथि शोक व्यक्त गर्दै भने, ‘सांसद तिरोंग अबोजी, उनको परिवार र अन्यको हत्यामा स्तब्ध छु । यो पूर्वोत्तरमा शान्ति भंग गर्ने प्रयास हो । यो जघन्य अपराधका दोषीलाई छोडिने छैन । मेरो समवेदना पीडित परिवारसँग छ ।’

यस्तै, मेघालयका मुख्यमन्त्री कनरड संगमाले यो क्रुर हमलाको निन्दा गरेका छन् र गृहमन्त्री राजनाथ सिंहलाई दोषीलाई कारवाही गर्न आग्रह गरेका छन् । उनले भने, ‘एनपीपी श्री तिरंग अबो र उनको परिवारसाथै सुरक्षाकर्मीमाथि भएको क्रुर हमलाको कडा विरोध गरेका छन् ।’

अरुणाञ्चल प्रदेशका गृहमन्त्री कुमार वाईले भने, ‘म यो घटनाको विरोध गर्छु । यस्तो प्रकारको घटना पहिले कहिले भएको थिएन । घटनाको अनुसन्धान महत्वपूर्ण छ । एक राजनीतिक प्रतिद्वन्द्वीले यस्तो गरेको हो ।’

स्मरण रहोस् नेशनल सोशलिस्ट काउन्सिल अफ नागाल्याण्ड एउटा नागा विद्रोही समूह हो । पुलिस घटनाको अनुसन्धानमा जुटेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...