Monday 29th April 2024

कथाः फेसबुकको प्रेम


जानकी जानु – चिसो सिरेटोमा चियाको चुस्कीको मजा नै बेग्लै हुन्छ । चुलोमा सल्केको आगोको तापमा बसेर अल्लारे पारामा भाइ बहिनी संग जिस्कंदै भुटेको मकै टोक्दै पुराना राजा रानीका कथा मधुमालतीका कथा सुन्न र सुनाउन कति आनन्दीत हुन्थ्यो । त्यति बेला न टेलिफोनको सुबिधा नै थियो न त टेलिभिजनको नै । थियो त मात्र एक रेडियो त्यो पनि धेरै पुरानो बिहानको प्रसारण र मध्यान्तरको समचार भन्दा अरु खासै सुनिन्थेन । त्यति खेर रेडियो नेपालको ध्वनी सुन्न पनि अति आनन्द लाग्थ्यो । बिहान आठबजेको अंग्रेजी समाचार पछि नौ बजेसम्म केही पुराना गितबाट मनोरञ्जन दिन्थ्यो । लोक गित, आधुनिक गित यस्तै पुराना मिठा लय शब्दमा सुनिन्थ्यो । जाडोको समय कहिले भाइ बहिनीहरु लिएर बारीमा मकैका ढोडको आगो सल्काइ घेरै बसि अनेकौ गफ छाट्दै बसिन्थ्यो ।स्कुल पनि जानलाई मरे जस्तो हुन्थ्यो । बिचरी आमा हामालाई स्कुल पठाउन कति कोशिस गर्नु हुन्थ्यो तर हामीले आमाको वचन पनि राखेनौ ।
समय संगै म पनि हर्लक बड्दै गए । ओठमाथि जुंगाको रेखी बस्न थालेको थियो आफुले न पढे पनि भाइ बहिनीलाई पढाउने कोसिस गरे । बाबाकोहामी सानै छँदा गाउँ बाट बेसि तिज र दशैको खर्चो लिन जाँदा काली गंगा उर्लेर आएको बाढीमा परि निधन भयो । त्यस पछि गरीबिको चपेटाले कहिले कुन बहानामा भोकै बनायो त कैले जाडोयाममा आगोको तापको साहरामा जिउन बाध्य बनायो । गाउँले केटो ठिक तरिकाले आफू सिंगारिन पनि आउँथेन । न स्टाइलको कपाल बनाउन आउँथ्यो न लुगा लगाउने तरिका नै । एउटा् टिसर्ट र पाइन्ट अनि त्यो जमनाको सबैको प्यारो भक्कु चप्पल । धेरै समय पछि पायल चप्पल पनि आथ्यो तर पायल चप्पल भने शहर झर्दा लगाउने गरिन्थ्यो । त्यो बेलाको चलेको चप्पल यस्तै तिता मिठा तरिकाले गाउँले जीवन चली रहेको थियो । आफू ठूलो हुँदै गए पछि जिम्मेवारी पनि थपिदै गयो । भाइ बहिनी र आमा पाल्ने मेरो कर्तव्य पनि थियो । तर कसरी पाल्ने ? गाउँमा कुनै पनि जागिर गरि खाने त्यस्तो कुनै कारखाना थिएन ।अरुकोमा हलि बनेर पनि पुग्थेन । गाउँमा कता कति बिदेश जाने हल्ला चलेको थियो । त्यसै हल्लामामैले पनि बिदेश पलायन हुने सोच बनाएँ । बिदेश जान पनि धेरै पैसा लाग्ने कहाँ बाट जुटाउने कुनै उपयानै थिएन । तर पनि भाइ बहिनीको पढाइ र बुढेसकालकी आमा पाल्न मैले काम गर्नु नै पर्दथ्यो ।

एक जना गाउँकै दाइ बिदेश गएर धन कमाएर घरविदामा फर्केका थिए ।उनी संगै कुरा राखें, कहाँ कसरी के गर्नु पर्छ भनी ती दाइले भने अनुसार बन्दोबस्त गर्नुनै पर्ने थियो । साँझ पख आमा संग कुरा राखं,े बिचरी आमा के नै गर्न सक्थिन र !न जमिन धेरै थियो बेच्नलाइर्, न सम्पतिनै । आमालेबाले बनाइ दिएको कानको ढुम्री र घाटिका कन्ठेगेडी माला फुकाएर दिनुभयो । तिनै गहना त्यही बिदेशबाट आएका दाइकोमा धरौटी राखी उनै संग दुइचार पैसा लिएर काठमाडौ छिरें । लाग्थ्यो यहि काठमाडौ नै बिदेश हो गाउँको मान्छे काठमाडौ शहर छ भन्ने के थाह ती गाउँका दाइले नै काठमाडौं लिएर आएका थिए । उनैले कामको बन्दो बस्त मिलाएर मलाइ कुवैत पठाइदिए । त्यो बेला आमालाई खबर गर्न न फोन थियो, न हुलाक आउनको सुबिधानै थियो । बिचरी आमा गहमा आँसु लिएर आफ्नो ख्याल राखेस परदेशको ठाउँमा भोकै न बसेस भन्दै भक्कानिन् ।

आमाको आशिष शिरमा लिएर घरबाट हिँडेको म काठमाडौं बाट कुवैत उड्ने जहाज चढें आमाले भनेका शब्द सम्झेर म जहाज भित्रै सुक्क सुक्क रुदै थिए । म छेवैमा बसेका एक जना दाइले भाइ विदेशमा पैसा कमाउन जाने हो रुन हुदैन भन्दै सम्झाए । उनले मलाइ हेरि रहे, अहो भाइ तिमी सारै सोझो पाराका रहेछौ, पहिलो चोटि हो कि क्या हो तिमी विदेश हिडेको भन्दै मलाइ केही बेर कुरामा भुलाउदै गए । यतिकैमा जहाजले काठमाडौ छोड्यो आकश तर्फ उड्न थाल्यो म डरले च्याप्पै त्यो दाइलाइ सम्मत्न पुगेछु ।केही जान्न र केही बोल्न बुझ्न पढाइ लेखाइको पनि जरुरत पर्दो रहेछ । त्यति बेला पढिएन त्यसैले हरेक कुरा ठाउँ अनौठो लाग्थ्यो ।

चार घन्टाको अन्तरल मा जहाजले कुवैत टेक्यो । आफुत बिल्कुलै नया विदेशमा, जहाजबाट उत्रेपछि मलाइ र अन्य साथीहरुलाई लिन कम्पनिको मान्छे आएको थियो । मोटो अग्लो हेर्दै डर लाग्दो मान्छे आएर इङलिसमा के के सोध्यो सोध्यो न बुझे पछि हातबाट पासपोर्ट लियो ताल ताल भन्दै इसरामा बोलायो । अब ताल भन्दा त म अचम्मै मानी कहाँ छ ताल भन्दै वरिपरि हेरें ।फेरि अरु साथीहरुले बोलाउदै उस्को इसरामा पछि लागेर गइयो । कम्पनिको रुममा पुगेपछि भोलि पल्ट काममा लगायो, सेक्युरिटी जागिरमा लागायो ।१२ घन्टाको ड्युटी उभिनै पथ्र्यो । सुरु सुरुमा त एक्लै टोइलेटमा गएर रुन्थे अनि आफैलाई सम्झाउदै बस्थें । न आमालाई एक पत्रनै कोर्न सक्थे न फोन गरेर फोन नै उपलब्ध हुन्थ्यो । महिना बित्न लागि सक्यो मैले भने घरमा खबर गर्न सकिन । आमा कति रोइन होलिन? कति बिलौन गरि होलिन भनेर एक दिन रुमकै साथीलाई पत्र लेख्न लगाएँ । आफू सकुशल नै विदेश आएकोर आफू जाती सञ्चै नै भएको पत्र पठाएँ ।

३ महिना पछि चिठी आमाको हातमा परेछ । बहिनीले पढेर सुनाउँदा आमा भक्कनिएर धेरै रुनु भयो अरे । मेरो पत्रको जवाफ बैनिले कोरेर पठाइन । घरको आमाको बिलाउन सुन्दा मिल्नी भए छिनमै उडेर जाउँ जस्तै हुन्थ्यो तर कहाँ हो कहाँ छु जान कहाँ सकिन्थ्यो र यसरी नै दिन महिना बित्दै जाँदा ४ महिनापछि सम्झौता बमोजिमको तलब आयो ।दैनिक १२ घण्टा खटेर पाउने तलब पनि कुवैतको नब्बे दिनार थियो । म गाउँमा मात्रै हो रहेछ पछाडी परेको जस्तो लाग्यो । यहाँ तदुनिया कहाँ बाट कहाँ पुगिसकेको रहेछ जस्तो लाग्यो । त्यो महिना मैले आफ्नो तलब घर पठाएर अर्को महिनाको तलबले साथीको लहै लहैमा मोबाइल किने । मोबाइल पनि साथीलेनै चलाउन सिकायो । गाउँमा ३–४कक्षा पढेको थिए त्यो बेलाको पढाइ खासै दिमागमा बसेको थिएन । जब मोबाइल आज भन्दा भोलि गर्दै दिनहँु चलाउन थालें पछि हल्का केही लेख्न पढ्न आयो । १२ घन्टा ड्युटीमा खटिएर पनि रुम आएपछि मोबाइलमै ध्यान हुन्थ्यो । साथीले फेशबुक खोली दियो मेरो एउटा फोटो फेशबुकको प्रोफाइलमा राखे पछि त कसैले हेन्सम भन्छन त कोहीे हिरो भन्छन । अहो ! मनमा झन आफुलाइ निक्कै हेन्सम भएको महसुस भयो । तब जति खेर पनि आफ्नो थोपडो फेशबुकमै राख्थे, यसरी न मेरा दिनचर्या बित्दै गए ।

एक दिन एउटी युवतीले मलाइ म्यासेन्जरमा हाइ भनी म्यासेज पठाइन र मैले पनि हाइ नै जवाफ दिए। समय र युग संगै आफुलाइ निकै अगाडि बडेको महसुस संगै एउटा रहर पनि फुल्न थाल्यो । रात भर त ड्युटीमा हुन्थे रुममा आएर सुत्नको साट्टो म मोबाइलमा नै समय बिताउँथे र उनै युवतीसंग गफमा मस्त हुन्थे । एक दिन दुई दिन गर्दा गर्दा उनैको बोली सुनी रहु हुन्थ्यो । उनी विदेश आएको पनि दुई वर्ष पुगि सकेको रहेछ । म भने नयाँ उनको बोलीमा मग्न हँुदा दुनिया संसार नै भुलेर उनी सँगै डुबि रहु जस्तो हुन्थ्यो । उनी मलाइ मायाले काले कान्छू भन्थिन त कैले फुच्चे भन्थिन । आहा ! कति मिठो लाग्थ्यो त्यो शब्द जब तिनले मधुरो आवाजमा बोलाउँदा, सयद मलाइ उनी संग प्रेम भएको हुन सक्छ र त उनी संगै कुरा गरि रहु बोली सुनी रहु हुन्थ्यो । खाने बेला होस या सुत्ने बेला होस यो फेशबुककै म्यासेन्जरमा समय बित्थ्यो । ड्युटीमा पनि लुकि लुकि कुरा गर्थे। यस्तै सिलसिलामा एक दिन मैले उनलाइ भेट्न चाहे तर उनले भेट्न नसक्ने बताइन । म घरमा काम गर्छु भेट्न पाउँदैन के काले भन्दै अनेकौ बहानामा भुलाउथिन । भमरा र फुलको मिलन हुनलाई आतुर थियो तर समयले भने जैले पनि कोल्टो फेर्थ्यो । मैले कहिले काहीँ उनलाइ नामले अनुशा भनी बोलाउँथे भनी उनले माया कम भएछ मेरो लागि भन्दै ठुस्किन्थिन र मलाइ पनि त्यसो भए तिमीलाई काले भन्दिन नामले राजु भन्छु भन्थिन । मलाइ पनि कान्छू र कालेको नसा लागेको हुनाले नामले बोलाउँदा फिट्टिक्कै मन पर्दैनथ्यो ।

यसरी हाम्रो दिनहुँको फेशबुकको म्यासेन्जर कल र बोली दिनहु बढ्दै जान थाल्यो । म्यासेज र कलमा हामी यति सम्म डुब्यौं कि शरीर एक अर्कोमा साथमा नभए पनि बोलीमा हरेक कुराको पार गरेका थियौं ।कहिले काहीँ त शरीरको पसिनाले आफैलाई सिथिल बनाउँथ्यो । उनको बोली नसुनी निन्द्रा लाग्थेन । दिन भरी उनले म्यासेन्जर कलमा कल लगाएर काममा ब्यस्त हुन्थिन घरी घरी जिस्काउँथिन । म उनकै महसुशमा कहिले दिदाउँथेत कहिले स्वास मात्रै पनि सुनेर पल्टिन्थे । यति सम्म कि अब त मलाई उनको र उनको म्यासेज कलको नसा लागेको थियो । फेशबुकमा मैले आफ्नो फोटोहरु अप्लोड गर्थे तर उनले चाहिँ फोटोहरु राख्थिनन् । मेरो फोटो हेर्दै मेरो काले हिरो भन्दा कम छैन भन्दा त आफुलाई राजेश हमाल नै सम्झन्थे । यहाँ महिनाको दस दिनार तिरे पछि नेट पाउनी रहेछ ।आधा कमाइ नेटमा नै राखेर सक्थे उनलाई र मलाई गरि २० दिनार जान्थ्यो । साथीहरू पनि आफ्नै तलमा अलग्गै बिजि हुन्थे । म पनि मेरै कालीसंग बिजि हुन्थे । एक दिन मैले उनलाइ हामी यसरी फेशबुक कन्ट्याकमा कहिले सम्म रहनी काली अब नेपाल फर्किए पछि हामी बिहे गर्नु पर्छ है भन्थे तर उनी जोड्ले हाँस्दै भन्थिइन् कान्छू अहिले बिहे को कुरा नगर के, बिहे पछि यस्तो मजा र यसरी कुरा गर्न पाइँदैन भन्दै रेला गर्थिन । कुरा गर्न भनी सिपालु थिइन उनी । म उनकै आवाज र गफमा मस्त हुन्थे।किन र काली बिहे पछि पनि म तिमिलाइ यसरी नै माया गर्छु निबिहे अघि माया धेरै र पछि थोरै हुने होर? बिहे पछि झन धेरै हुन्छनी लाटी भन्दै सम्झाउँथे किनकी अब म उनी बिना एक्लै बाँच्न र बस्न नसक्ने भै सकेको थिए । त्यसैले उनलाई सदा सदाको लागि आफ्नै जिवनसंगिनी बनाएर राख्न चाहान्थे । यसरी नै उनको साथमा बडेको माया र मुटुमा मिठो आभासमा गडेको मायाले मलाइ अब त उनी बिना जीवन नै चल्दैन होला भन्ने स्थितिमा पुगेको थिए । मैले नेपाल गएर बिहे गर्नु पर्छ भन्ने सोच गरेर आधा कमाइ उनकै लागि संगालेर राखेको थिएँ।

एक दिन उनी अचानक फोन मै रुन लागिन । मैले के भयो काली, किन रोएकी यसरी? भनन म आउछु तिमी भएको ठाउँमा भन्दै हरेक बहानामा हँसाउन फकाउन खोजे । तब उनले रुँदै भन्न थालिन, कान्छू म घर जान लाको दुई दिन पछि आमा बिरामी भएर हस्पिटलमा हुनुहुन्छ अरे, हेरन कालु म संग त खासै पैसा पनि छैन गएर आमालाइ उपचार गराउन पनि भन्दै रोइन । मैले त्यो बेलामा चार पाँच महिनाको तलब घरमा पनि पुरा नपठाइ राखेको थिए उनको दःुखनै मेरो दुख हो भन्दै मैले अघि पछि केही नसोची नेपालमा हिमालय बैंकमा पैसा हाल्दिएँ ।दुई दिन पछि उनी जाँदै थिइन आफ्नै भुमिमा । एक त म मेरि काली आफ्नै देश फर्कदै छ भन्दै खुसी हुन्थे त अर्को म यहाँ उनी बिना कसरी बस्छु होला भन्दै छट्पटीमा हुन्थे । उनी संगै जाउँ भने पनि कम्पनिमा तीन वर्षको कन्ट्याक साइन गरेको अझै दुई वर्ष बाँकी थियो ।साथमा जान पनि सक्थिन त्यसैले म संग जे जति थियो उनैको नामामा पैसा हाली दिएँ।
त्यो दिने एयरपोर्टबाट अन्तिम म्यासेन्जर कल गर्दै,“कान्छु म गए पछि अन्त कतै मन त डुलाउदैनौ नि, यदि तिमीले मलाइ बिस्र्याै भने म त मर्दिन्छु भन्दै थिइन । धत लाटी यस्तो कुरा नगर म कोसिस गर्छु छिट्टै फर्केर आउनलाइ, आएर हामी बिहे गर्ने हो भन्दै अन्तिम बिदाइ भयो । भनौ उनले पनि कान्छू म तिमीलाइ नै पर्खेर बस्ने छु म अरु कसैको हुन्न भन्दै उनी अफलाइनमा गइन् । म उनी गए पछि उनको यादमा पागल भनौ या फेशबुकको र मयासेन्जरको नसा भनौ बार बार फेशबुकमा हेर्थें । कुनै स्टाटस राख्छिन् कि अनलाइनमा आउँछिन् कि भनेर यस्तै गरि दुई तीन दिन बित्यो तर उनको कुनै पत्तोनै भएन । अनलाइनमा पनि आइनन,म संग अनुशाको कुनै घरको कन्ट्याक नम्बर पनि थिएन त्यति बेला नेपालमा खासै मोबाइलको चहलपहल पनि थिएन । त्यसैले म संग उनको सम्पर्क नम्बर केही थिएन । यहि फेशबुक र अनलाइनको आधार थियो त्यो पनि हप्ता दिन बित्न थाल्यो कुनै पत्तोनै छैन । म दिनहँु म्यासेन्जरमा कुनै म्यासेज आछकी भन्दै हेर्थे तर म निराशको निराश नै हुन्थें । ड्युटीमा पनि खासै ध्यान दिएर काम गर्न मन लाग्थेन ।साथीहरू सम्झाउथे तर मन मान्थेन किनकी गाउँले केटो साँचो माया गरेको थिए उनलाइ । उनी नेपाल पुगेर पनि कुनै खबर गरिनन,उनी नेपाल गएको हप्ता दिन कटि सकेको थियो, मनले मानेन, फेशबुकम म्यासेजमा नै उनलाई खोज्न थालें तर उनले मलाई त ब्लक लिस्ट्मा पो राखिछ्न । म झन पागल जस्तो भए । उनको धोका र फरेवी माया देखेर मायामा यसरी बाँचेर पनि जिउदो लास सरि बाच्नु पर्छ भन्ने जीवनमा कल्पना सम्म पनि गरेको थिइन । गाउँले केटो गाउँले नै मन थियो र त उनलाई अनगिन्ती माया गरे तर उनले भनी विदेशमा फेशबुक अनलाइनको मजा र फाइदा उठाएकी रहिछिन । यति पनि सोचिनन कि माया गर्ने मान्छेको मन तोड्दा उस्लाइ कति पीडा होला भनेर ।सोच्थिन पनि किन , किनकी उनले त आफ्नो अलग्गै संसार बनाएर बसेकी रहिछ्न । मलाइ त फेशबुक बाट नै ब्लक गरेकी मनले न मानेर साथीको फेशबुकबाट उनको नाम सर्च गरि हेरें । कतै उनको तस्बिर हेर्न पाउछुकी भनेर तर तस्विर त देखें अर्कै संग अंगालिएको तस्बिर । उनी त अर्कैको भैसकेकी रहिछन, सिउँदोमा सिन्दुर गलामा पोते लगाएर निकै रंगिएर मेरो हजुर र म भन्दै फेशबुकको भित्तो रंगाएकी रहिछन् ।

म न रुनसक्थें न उनीलाई खुसी देखेर हाँस्न सक्थें, जुन सिउँदोमा मैले सिन्दुर भर्ने सपना देखेको थिएँ त्यो सिउँदो त अर्कैको रहेछ । मनले मनलाइ सम्झाउन धेरै कोसिस गर्यो तर आँखाले आँखालाई सम्झाउन सकेन । रोइदियो यस्तो लाग्यो कि म यो संसारको सबै भन्दा अभागी र मायामा जिउँदो लास भएर बाँचेको व्यक्ती हुँ । म नै होला जसले फेशबुकको आधारमा कसैलाइ आफ्नो जिवनको जिउनेआधार संसार सम्झी गरुङ्गो भारी बोकेको जस्को लागि बिसाउने ठाउँ नै थिएन तर उनले मेरो कोमल भवानालाई खेलौन बनाए पनि मैले त माया गरेकै थिए र गरि रहन्छु । जति म उनको यादमा तड्पिए जति रोएँ त्यो तडप त मेरो अन्तर आत्मालाइ नै थाह छ ।मलाइ र मेरो मायालाइ लत्ताए पनि उनी सदा खुसी रहुन । सायद म गाउँले केटो सिधा सादा न पढेको न सम्पत्ती वाला परिन, सायद माया बाहेक अरु चिज कमिनै भएर होला उनले मलाइ लत्ताएर गएकी । गरिब र गाउँले हुनु मेरो दोष थिएन । सायद उनको म प्रतिको भावाना धेरै गरिव भएरनै होला । मेरो मायालाई तर्पण गरेकी तर पनि उनलाइ मनबाट निकाल्न सकिन । त्यसैले कहिले साथीको फेशबुकबाट उनलाइ हेर्ने गर्छु त कहिले म्यासेन्जरमा उनी संग भएका मिठा मिठा कुराहरु दोहोराइ दोहोराइ हेर्छु । सायद यो प्रविधिले दिएको फेशबुक प्रेम भएर होला जीवन नचलेको, प्रकृतिले दिएको भए सायद जीवन भरको साथ हुन्थ्यो होला । सायद अब फेशबुकको म्यासेन्जर कल र अनलाइनमा माया लाउनेहरुको कहिँ न कहिँ जिवनको पाटोमा एक कहानी बन्छ होला । त्यसैले यदि फेशबुक मार्फत कसैले कसैको भावानालाई मिडिया र अनलाइन नबनाउ भवानामा मन हुन्छ मन टुट्यो भने जीवनमा आधा जिउने डर भयंकर भएर बस्छ । त्यसैले मेरो जस्तो फेशबुक प्रेम कसैको अधुरो अपुरो नहोस ।
यो एउटा् कथा मात्र हो, कसैको जिवनमा मेल खाना गएमा संयोग मात्र हुने छ ।

खैरेनीटार –५, तनहुँ
हालः कुवेत
(लेखिका कोसेली समुह कुवेतकी महिला उपाध्यक्ष हुन भने साहित्यमा लेखिकाको गहिरो लगाव रहेको छ ।)


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...