Wednesday 29th July 2026

इन्डोनेसियामा थकाइजन्य रोगको कारण निर्वाचनमा खटिएका २७२ कर्मचारीको मृत्यु


तितोपाटी – इन्डोनेसियामा थकाइजन्य रोगबाट २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता एरिफ पि्रयो सुसान्तोका अनुसार १८ सय ७८ कर्मचारी बिरामी छन् । अप्रिल १७ मा सम्पन्न निर्वाचनको मतगणना र रेखदेखका लागि ७० लाख मानिस खटिएका थिए ।

कर्मचारीहरूको मृत्यु हुनुको कारण गर्मी र खराब परिस्थितिमा रातभरि काम गर्नु रहेको बताइएको छ । अधिकारीहरूका अनुसार यी कारणले कर्मचारीमा शारीरिक समस्या देखा परेको थियो । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा चुनाव प्रक्रियामा हुने खर्च कम गर्नका लागि एकैसाथ विभिन्न निर्वाचन गराइएको बीबीसीले जनाएको छ । त्यस्तै करिब १९ करोड ३० लाख मतदाता रहेको यो मुलुकमा चुनाव क्रममा ८० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए । निर्वाचन आयोगका अनुसार मुलुकभर ८ लाख मतदान केन्द्र राखिएका थिए ।

इन्डोनिसया चुनावी प्रक्रियाका लागि अधिकांश अस्थायी कर्मचारीको नियुक्ति गरिएको थियो । नियुक्तिका क्रममा सरकारी कर्मचारी सरह तिनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन । प्रवक्ताले भने, ‘चुनाव प्रक्रियामा खटिएका २७२ कर्मचारीको मृत्यु ओभरटाइम काम गर्दा भएको हो । तिनीहरूमध्ये अधिकांश काम गर्दागर्दै बिरामी भएका थिए ।

निर्वाचन आयोगले मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । आलोचकहरूले सरकारले एकै पटक विभिन्न चुनाव गर्दा पूर्वतयारी नगरेकाले ठूलो संख्यामा कर्मचारीले ज्यान गुमाएको बताएका छन् । उनीहरू भन्छन्, ‘सरकारले ठूलो संख्यामा अस्थायी कर्मचारी नियुक्ति गर्नु पनि समस्याको कारण हो । यो सरकारी निर्णय गलत थियो ।’ उल्लेख्य संख्यामा मतदान भएकाले मतगणना सम्भवतः २२ मेमा पूरा हुने आयोगले जनाएको छ । त्यसपछि मात्रै राष्ट्रपति र संसदीय चुनावहरूमा विजेताको घोषणा गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...