Tuesday 20th October 2026

आइएस लडाकुद्वारा सिरियाली सत्ता समर्थक २७ जना लडाकुहरूको हत्या


तितोपाटी – इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन्। सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ।

बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चार जना सिरियाली सैनिक सहित सरकार समर्थित २७ जना लडाकूको हत्या भएको जनाएको छ । सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकूले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आइएसका अखडाहरु ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताउनुभएको छ । अब्जरभेटरीका अनुसार भिडन्तमा आइएसका ६ जना लडाकूको समेत मृत्यु भएको छ ।

विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा शहरहुँदै इराकी सीमा नजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ । यो क्षेत्रमा पछिल्लो समय आइएसले आश्रयस्थल बनाएको छ । (रासस)


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...