Friday 18th October 2024

मोरङमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि भिडले टिपर नै जलायो, कर्फ्यु अादेश पनि मानेन


पुर्व-पश्चिम राजमार्ग नै अवरूद्ध

तितोपाटी – स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छन्।

टिपरको ठक्‍करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो। यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ। निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन्। ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिति थप तनावपूर्ण बन्दै गएको छ। सुन्दरहरैंचा नगरपालिकाको सिसौघारी र बेलेपुरमा प्रदर्शन गरिरहेको एउटा समूहले विराटचौक पुगेर बजार र पसल बन्द गराउन थालेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडक खण्ड बन्द गरिएको छ। एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न दिइएको छैन। मुख्य राजमार्गमा प्रहरीले सडक खुलाउने र सवारी आवगामन नियमित बनाउने प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन।

घटनाको विरोधमा आक्रोसित बनेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले अहिलेसम्म ११ वटा टिपरमा आगजनी गरिसकेको बताए पनि प्रहरीले त्यसलाई पुष्टि गरेको छैन। प्रहरीले भने अहिलेसम्म सातवटामा मात्रै आगजनी गरिएको विवरण प्राप्त भएको जनाएको छ।

आगजनी गरिएको ठाउँमा आगो निभाउन भनेर विभिन्न ठाउँबाट पुगेका दमकल स्थानीय बासिन्दाको अवरोधका कारण घटनास्थलमा पुग्न सकिरहेका छैनन्। टिपरमा आगो दन्किरहँदा स्थानीयले प्रदर्शन उग्र बनाउँदै लगेपछि बेलेपुर र सिसौघारी रणमैदान बनेको छ। अन्य सवारी साधनमाथि आगजनीको घटना हुनसक्ने भन्दै प्रहरीले आन्दोलनकारीलाई रोक्ने प्रयास भने गरिरहेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको बताए। प्रजिअ केसीले जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको र निषेधित क्षेत्रमा अझै पनि प्रदर्शन नरोकिएका कारण स्थानीय प्रशासनले यस विषयमा थप निर्णय लिन सक्ने जानकारी दिए ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माईकिङ गरेर जानकारी गराएको थियो । तर आक्रोसित स्थानीय बासिन्दाले उक्त क्षेत्र छाडन् मानिरहेका छैनन्। उनीहरुले निषेधित क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्। टिपर आतंक रोक्नु पर्ने माग गर्दै सुरु भएको प्रदर्शनका क्रममा टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ।

प्रजिअ केसीले निषेधित क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न नपाइने व्यवस्था कानुनमा रहेको जानकारी दिए। ‘कुनै पनि गतिविधि र क्रियाकलाप गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ। जेसुकै भए पनि त्यहाँबाट स्थानीय बासिन्दा पछि हट्नुको विकल्प छैन,’ केसीले भने, ‘वहाँहरु पछि सर्दा राम्रो हुन्छ।’


सम्बन्धित शीर्षकहरु

आइडीएफले आफ्ना सैनिकहरूले रफाहमा हमास नेतालाई मारेको पुष्टि गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, हमासका नेता याह्या सिनवारको हत्याले इरानको नेतृत्वमा…

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने…

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

प्रतिकृयाहरू
...