Tuesday 20th October 2026

मलेसियाका नया राजा बने सुल्तान अब्दुल्लाह


तितोपाटी – मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह चयन भएका छन् । उनी पहाङ राज्यका सुल्तान हुन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले गत जनवरी ६ मा राजगद्दी त्याग गरेका थिए । उनी केलन्तान राज्यबाट राजा भएका थिए । मलेसियामा ९ वटा राज्यका वंशाणुगत शासकमध्येबाट हरेक ५ वर्षका लागि पालैपालो देशको राजा बनाउने संवैधानिक प्रावधान छ ।

आलंकारिक राष्ट्र प्रमुखका रूपमा रहने मलेसियाको राजाको दैनिक शासन सञ्चालनमा भने कुनै भूमिका हुँदैन् । नयाँ राजाले आगामी बिहीबार शपथ लिने बताइएको छ । उनले यसै महिनाको सुरुमा पेहाङको सुल्तानका रूपमा शपथ लिएका थिए । मलेसिया बेलायतबाट सन् १९५७ मा स्वतन्त्र भएपछि राजतन्त्रात्मक शासन स्थापित भएको हो । मलेसियामा १३ राज्य छन् । तीमध्ये ९ मा सुल्तानले शासन गर्छन् भने ४ मा गभर्नरको व्यवस्था छ । ९ मध्ये ५ ले पालोमा रहेका राज्यका सुल्तानलाई छनोट गरेपछि उनी देशको राजाका रूपमा छनोट हुन्छन् । राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तानको पक्ष वा विपक्षमा मत दिन्छन् । राजा निर्वाचित हुन ९ मध्ये कम्तीमा ५ मत पाउनु पर्दछ । बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा मतदान गरिन्छ ।
४९ वर्षीय सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको तथा रूसी सुन्दरी ओक्साना भोएभोदिनासँग विवाह गरेको घोषणा गरेका थिए । यद्यपि उनले राजगद्दी त्याग गर्नुको कारण उल्लेख गरेका छैनन् । मलेसिया सन् १९५७ मा स्वतन्त्र भएयता कुनै पनि राजाले राजगद्दी त्याग गरेको उक्त घटना पहिलो हो ।

सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...