Wednesday 26th August 2026

थाइल्याण्डमा सैनिक सरकारले आगामी मार्च २४ तारिक आम निर्वाचन गराउने


तितोपाटी – थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन हुने भएको छ। थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन संसदको आमनिर्वाचन गर्ने सहमति भएको जानकारी दिए । यो निर्वाचन सैनिक शासनलाई वैधानिकता दिने या प्रजातन्त्र स्थापना गर्ने विषयको जनमत संग्रहका रूपमा लिइएको छ । मिति घोषणापछि प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसै वर्षको मध्यसम्ममा देशले संसद् र नयाँ सरकार पाउने जनाएको छ ।

सन् २०१४ मा ६ महिनाको सडक आन्दोलनपछि पूर्व सैनिक जनरल प्रयुत चान ओचाले सैनिक ‘कु’ मार्फत तत्कालीन प्रधानमन्त्री यिङलक सिनावात्रालाई बर्खास्त गर्दै सत्ता हातमा लिएका थिए । त्यसयता उनले नागरिक प्रजातान्त्रिक शासन पुनस्र्थापना गर्ने प्रतिबद्धता पटकपटक जनाउँदै आएका थिए ।

आगामी निर्वाचनमा वर्तमान प्रधानमन्त्री एवं पूर्व सैनिक जनरल ओचाले पनि भाग लिने अनुमान गरिएको छ । बुधबार उनले आफू कुनै एक पार्टीमा आबद्ध हुने संकेत गर्दै त्यस्तो पार्टी मुलुकलाई अझ राम्रो बाटोमा लैजान प्रतिबद्ध भएको र नि:स्वार्थ हुनुपर्ने बताएका छन् ।

सेनाले २०१७ मा तयार पारेको संविधान विपक्षी फिउ थाई पार्टीलाई पुन: शक्तिमा आउन रोक्ने योजनाका साथ ल्याइएको विश्लेषण गरिएको छ । थाइल्यान्डमा ५ सय सदस्यीय तल्लो सदन र २ सय ५० सदस्यीय माथिल्लो सदन छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...