Thursday 6th August 2026

दुइ सांसद चाैधरी र राैनियार निलम्बित


तितोपाटी – दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन्। यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको सपथ गराएका थिए। सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो। स्रोतका अनुसार, सभामुख महरालाई जेलमै गएर शपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए। त्यसै कारण आफ्नै कार्यकक्षमा प्रहरीको सुरक्षामा जेलबाट ल्याएर शपथ गराइएको थियो।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ अनुसार, ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ,’ भन्ने उल्लेख छ। संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।’

चौधरी निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगले उनलाई हस्तान्तरण नगरी संसद सचिवालयमा पठाएको थियो। प्रमाणपत्र पाउन चौधरीले माग गरे पनि दिइएको थिएन। सभामुख महराले पद तथा गोपनीयताको शपथपछि प्रमाणपत्र हस्तान्तरण गरेका थिए। चौधरीले शपथ गरेपछि कारागारमा लगे पनि संसद सचिवालयका तर्फबाट उनी कहाँ छन् भनी गृहमन्त्रालयलाई पत्राचार गरेको थियो। चौधरी टीकापुर घटनाको अभियोगमा थुनामा रहेको जानकारी संसद् सचिवालयलाई गृहबाट प्राप्त भएपछि उनी थुनामा रहेको जानकारीलगत्तै सभामुख महराले बैठकलाई जानकारी गराएका थिए। सभामुखले यसरी जानकारी गराएपछि स्वतः उनी निलम्वनको अवस्थामा छन्।

सत्तारुढ संघीय समाजवादी फोरमका सांसद रौनियारविरुद्ध पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्षको हैसियतमा १९ करोड रुपैयाँ बिगोसहित अख्तियारले गत असोज १९ मा मुद्दा दायर गरेयता उनी स्वतः निलम्वनको अवस्थामा छन्। संसद सचिवालयको उच्च स्रोतका अनुसार उनले मुद्दा दायर भए पनि प्रतिनिधिसभामा आउन चाहेका थिए। तर, प्रेसले उनका बारेमा लेख्न सक्ने र अख्तियारको मुद्दाबाट स्वतः निलम्वनको अवस्था हुने हुनाले बैठकमा नआउन सुझाव दिइएको थियो। ‘अख्तियारले मुद्दा हालेकाले रौनियार निलम्बित भएको र चौधरी पनि निलम्बनकै अवस्थामा रहेकाले उहाँहरूले सासदका रूपमा नियमित बैठकमा भाग लिन मिल्दैन,’ संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने।


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...