Sunday 28th April 2024

मालपोतकै कर्मचारीको कुकृत्यको कारण सरकारी पर्ती जग्गा व्यक्तिको नाममा दर्ता


तितोपाटी – मालपोत कार्यालयको दर्ता पुस्तिका (ढड्डा) मै किर्ते (केरमेट) गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । साबिकको अर्खौलेजितपुर गाविस र हालको महालक्ष्मी नगरपालिकाको नामको १९ रोपनीभन्दा बढी महत्त्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो ।

महालक्ष्मी नगरपालिका ७ मा रहेको १९ रोपनी १० आना स्थानीय गोकर्ण तुम्बाको नाममा दर्ता भएको हो । तिरो तिर्न नगरपालिकामा पुगेका बेला नगरकै कित्ताको जग्गा रहेको रहस्य खुलेको छ । महालक्ष्मी नगरपालिकाको सदरमुकामअर्खौलेजितपुरको मुख्य चोक नजिकको जग्गा २०६८ चैत ३० गते तुम्बाको नाममा दर्ता गरिएको नगरपालिकाका शाखा अधिकृत सन्तोष दर्जीले बताए ।

कित्ता नम्बर ११ लाई मालपोत कार्यालयको ढड्डामा भने ११० बनाइएको छ । तत्कालीन मालपोत प्रमुख सुरेश थपलिया र फाँटवाला कर्मचारीको मिलेमतोमा यस्तो गरिएको स्रोतको दाबी छ । ११ अंकको पछाडि शून्य थपेर व्यक्तिको नाममा जग्गा दर्ता गरिएको छ । २०५१ असार १७ गते तत्कालीन श्री ५ को सरकारको नाममा दर्ता भएको मालपोतको दर्ता पुस्तिकामा उल्लेख छ । सरकारको नाममा दर्ता भएको जग्गा पुन: दुई दशकपछि किर्ते शैलीमा व्यक्तिमा नामसारी भएकाले अचम्मित बनेको नगरप्रमुख पर्शुराम नेपाल बताउँछन् । ‘सरकारी जग्गालाई व्यक्तिकोमा जान हामी दिंदैनौं,’ उनले भने, ‘सम्बन्धित निकायमा छानबिन र कानुनी उपचारको बाटोमाजुटिसकेका छौं ।’

नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा व्यक्तिका नाममा दर्ता गरिएको प्रक्रियाबारे अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले बताए । नगरपालिकाले पठाएको पत्रका आधारमा अख्तियारले मालपोत कार्यालयलाई दर्ता प्रक्रियाबारे जानकारी मागेको छ । अख्तियारले दर्ताबारे छानबिन गरी रायसहितको प्रतिक्रिया पठाउन मालपोत कार्यालयलाई पत्राचार गरेको मालपोत कार्यालय धनकुटाका निमिक्त प्रमुख तिलक खत्रीले जानकारी दिए । अख्तियारले व्यक्तिका नाममा दर्ता गर्ने समयमा रहेका प्रमुख, सहायक, तामेली र मुद्दा फाँटमा कार्यरत कर्मचारीको विवरण माग गरेको छ ।

दर्ता गर्न मिल्ने वा नमिल्ने कानुनी आधार, उक्त जग्गा साबिकमा सरकारी सार्वजनिक वा नीजि कुन प्रकृतिको रहेको तथा कुन प्रक्रियाबाट दर्ता भएको लगायतका जिज्ञासा राख्दै मालपोतलाई पत्राचार गरेको छ । मालपोत कार्यालयले अख्तियारको सवालअनुसारको जवाफ पठाइसकेको कार्यालय प्रमुख खत्रीले बताए । उता जग्गा दर्ता गरिएका व्यक्ति गोकर्ण तुम्बाले पुख्र्यौली भोगचलन गरेको आधारमा आफ्नो नाममा दर्ता भएको दाबी गरे ।

उनले तत्कालीन मालपोत प्रमुखले व्यक्तिको नाममा दर्ता गर्न मिल्ने भनेकाले आफ्नो नाममा आएको बताए । मालपोत कार्यालयको दर्ता पुस्तिकामा केरमेट गरी आफ्नो नाममा दर्ता भएको थाहा नभएको उनी बताउँछन् । मालपोतका तत्कालीन प्रमुखलगायतले अर्को बदनियतपूर्ण कार्यसमेत गरेका छन् । जसमा सरकारको नामको पर्ती जग्गालाई आवादी कायम गर्दै व्यक्तिको नाममा नामसारी गरिएको जनाइएको छ ।

बजारको अग्लो स्थानमा दृश्यावलोकनका लागि समेत उपयुक्त उक्त जग्गामा नगरपालिकाले भ्यु टावर तथा पार्क निर्माणको योजना बनाइरहेको बखत व्यक्तिमा दर्ता भएपछि योजनासमेत प्रभावित बनेको नगरप्रमुख नेपालले बताए ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...