Saturday 20th April 2024

रविन्द्र मिश्रलाइ राजनीति फापेन, फुट्यो विवेकशील साझा पार्टी


तितोपाटी – एकीकरण भएर बामे सर्न नपाउँदै १७ महिनामै विवकशील साझा पार्टी फुटेको छ । संयोजक उज्ज्वल थापा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएसँगै उक्त पार्टी विभाजन भएको हो । संयोजक थापाले १६ केन्द्रीय सदस्यसहित आयोगमा निवेदन दिएका छन् । विवेकशीलका नेता पुकार बमले आफूहरु नयाँ पार्टी दर्ताको लागि कानुनी प्रक्रियामा गएको पुस्टि गरे। उनले भने, ‘जति ढिलो गर्‍यो त्यतिनै हाम्रो राजनीतिक स्वच्छतामा आँच आउने हुँदा बाध्य भएर यो कदम चालेका हौं।’

असन्तुष्ट पक्षले नेतृत्वले विधानविपरीत काम गरेको, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रीय सदस्य भर्ती गरेको, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु विघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै विभिन्न भातृ संगठन गठन गर्नेतर्फ अघि बढ्ने क्रियाकलाप गरेको आरोप लगाएका छन्।

थापा समूहमा रन्जु न्यौपाने (दर्शना), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरी छन्।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरणको घोषणा भएको थियो।एकता घोषणा हुँदै गर्दा मिश्रले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गराएको दाबी गरेका थिए।

पार्टि फुटाएकाहरूको विज्ञप्तिको पूर्णपाठ-

विवेकशील साझा पार्टीका नेतृत्व, सदस्य, शुभचिन्तक एवं समस्त विवेकशील नागरिकहरुमा अपिल

मिति : २०७५/०९/२७

नेपालमा नविन तथा सुसंस्कृत राजनीतिको आवश्यता छ र सम्भावना पनि छ भन्ने विश्वासकास साथ वि.सं. २०६९ सालदेखि विवेकशील नेपाली अभियान अघि बढेको व्यहोरा यहाँहरु सबैमा विदितै छ। संबिधान सभाको दोश्रो निर्वाचन, महाविनाशकारी भुकम्प र त्यसपछीको उद्दार एवं राहत अभियान, लुटतन्त्रविरोधी सडक अभियान, डा. गोविन्द केसीसङ्गको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने अभियान हुँदै तात्कालिन विवेकशील नेपाली दलले २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उमेद्वारी दिएर अघि बढ्योl उक्त निर्वाचनमा विवेकशील नेपाली दल र २०७३ मा खुलेको साझा पार्टीले हासिल गरेको नतिजाले वैकल्पिक पार्टीहरुलाई नेपालको राजनीतिक परिदृश्यमा अलग स्थान बनाउने सम्भावना रहेको स्पष्ट संदेश दियो। त्यसैको फलस्वरुप, समान उदेश्यको लागि भिन्दाभिन्दै दलको साटो एकै भएर जानुपर्ने निस्कर्षमा विवेकशील नेपाली दल र साझा पार्टी आइपुगे। वि.सं. २०७४ श्रावण ११ गते विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको सम्झौता भई विवेकशील साझा पार्टी गठन भयो। एकीकृत पार्टीले संघीय एवं प्रादेशिक निर्वाचनमा भाग लियो र उल्लेखनीय नतिजा पनि हासिल गर्यो। तर विगत १७ महिनाको दौरानमा पार्टीमा वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठुलो भिन्नता रहेको प्रष्टै देखियोl मूल्यमान्यता आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी बिकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो। अत: अहिले कै ढंगले अघि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामुलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रविर्तीले प्रश्रय पाउने भयो ।

यस पृष्ठभूमिमा सुसंस्कृत र सहभागितामुलक राजनीतिलाई केन्द्रबिन्दू बनाएर अघि नबढ्दा राजनीतिमा ताजा विकल्प खोजिरहेका युवा पुस्ता एवं जागरुक नागरिकको आशामा तुसारापात हुने निश्चित छ। नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रिय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु बिघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै बिभिन्न भातृ संगठन गठन गर्ने तर्फ अघि बढ्ने जस्ता क्रियाकलापले समयकालमा ह्रास हुदैँ गएको हाम्रो आशा पनि पुरै निराशामा बदलिएको अवस्था अहिले हो। अत: यो जटिल परिवेशमा हाम्रै कालमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामुलक संवृद्धि हासिल गर्ने उदेश्यमा विचलित नभई अघि बढ्न अहिले अपरिहार्य भएकाले हामी विवेकशील साझा पार्टीका देहाय अनुसारका १६ जना केन्द्रीय समितिका सदस्यहरु आज २०७५/०९/२७ मा निर्वाचन आयोगमा गई बैधानिक तवरले नयाँ दल गठनको कानुनी प्रक्रिया शुरु गर्नको लागि निवेदन दिएका छौं।

सुसंस्कृत राजनीतिलाई संस्थागत गर्न हामी अझै डटेर लाग्ने प्रतिवद्दता व्यक्त गर्दछौं र सो कार्यमा विवेकशील साझा पार्टीका नेता एवं सदस्यहरु, शुभचिन्तकहरु एवं आम सचेत नागरिकहरुलाई आम-नागरिकहरुबाट साथ र सहयोगको अपेक्षा गर्दछौं।

मुल्यमान्यतामा अडिग रही जन अपेक्षाको संवोधन गर्ने सवालमा ईच्छुक सबै पक्षसँग विगतमा झैँ भविष्यमा पनि संवाद एवं सहकार्य गर्न हामी सधैँ खुला रहनेछौँ।साथै डा केसीले भरखर आम नेपालीको स्वास्थ्य र शिक्षाको लागि गर्नु भएको सत्याग्रहमा हामीले एकबद्ध जनाउदैँ यस अभियानमा शसक्त तरिकाले लाग्ने प्रतिवद्धता जनाउनेछौँ। नागरिकको सेवामा सहकार्यको उदाहरण तपाईँ-हामी यहिँबाटै शुरु गरौँ।

धन्यवाद।
नमस्ते।
नेपालको जय होस् !

संस्थापन पक्षले पनि निकाल्यो विज्ञप्ति

विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक उज्वलबहादुर थापाले आज पौष २७ गते निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ।

विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ।

निश्चयनै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए। पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो। नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो।

पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो। हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो।

पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ। उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।

यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तिव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।

हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ।

विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गरी देशको नेतृत्वदायी भूमिकामा पुर्याउने कुरामा हामी दृढ संकल्पिक छौं। हामीलाई संधैझैं माया गर्ने मतदाता, सुभेच्छुक सुभचिन्तक तथा आम सदस्यहरुसंग निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्दछौं। विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचलीत रहने छौँ। नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छौ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, विवेकशील साझा पार्टी
मितिः २७ पौष २०७५


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...