Wednesday 23rd January 2019

सन्धुपाल्चोक विगत र वर्तमान, संक्षिप्त जानकारी


मञ्जु नेपाल भण्डारी, सुनकोशी ३, सिन्धुपाल्चोक

पृष्ठभुमीः

सिन्धुपाल्चोक जिल्ला २०१८ साल बैशाख १ मा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजन गर्दा स्थापना भएको जिल्ला हो । क्षेत्रफलका हिसाबले यो जिल्ला हालको ३ नम्बर प्रदेशको सबैभन्दा ठुलो जिल्ला पनि हो । २०६८ को जनगणना अनुसार कुल जनसंख्या २८७,७९८ रहेको यो जिल्लाले २५४२ बर्ग किलोमिटर क्षेत्र ओगटेको छ । नेपालको कुल क्षेत्रफलको करिब १.७३ प्रतिशत भुभाग यस जिल्लामा पर्दछ । मुलुकको राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको हिमालय श्रृंखला जुगल हिमश्रृंखला यसै जिल्लामा पर्दछ । यो जिल्ला समुद्र सतहदेखि ८५० मिटर उचाई देखि ७०८० मिटरसम्मको उचाइमा अवस्थित छ । जुगलको शीर देखि इन्द्रवतिको तीर सम्म, याङ्लाकोटदेखि सिन्धुकोटसम्म र सुनकोशीको काँठदेखि भीमटारको फाँट सम्म फैलिएको यो जिल्लामा तामांग जातिको बाहुल्यता सहित ब्राम्हण, क्षेत्री, गुरुंग, मगर, थामी, पहरी, माझी, दनुवार, कामी, दमाईं, सार्की, शेर्पा, ह्योल्मो लगायत विविध जातजातिको बसोबास रहेको छ ।

राणाकालः

राणाकालमा यो जिल्ला पुर्व १ नम्बरको नामले चिनिन्थ्यो । हालको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको भुभाग तत्कालिन पुर्व १ नम्बर जिल्लामा पर्दथ्यो । राणाहरुले मुलुकको प्रशासनिक रेखदेखको लागि नेपाललाई पहाडमा २३ जिल्ला र तराईमा १२ तहसिल (जिल्ला) मा विभाजन गरेका थिए । त्यहि २३ जिल्ला मध्येका एक जिल्ला थियो –पुर्व १ नम्बर । राणाहरुले जिल्ला अन्तरगत विभिन्न गाउँको समुह बनाई अर्काे विभाजन समेत गरेका थिए । गाउँहरुको समुहलाई पुर्वमा थुम, पश्चिमका दर्रा, गर्खा र पुर्वको तराईमा प्रगन्ना, पश्चिमको तराईमा तप्पे भनिन्थ्यो । त्यसबेला पुर्व १ नम्बर जिल्लामा १४ वटा थुम थिए । पछि ति १४ थुम मध्ये सात थुमलाई सिन्धुपाल्चोकमा र बाँकि सात थुमलाई काभ्रेपलाञ्चोकमा पारी २ जिल्ला बनाइयो । सिन्धुपाल्चोकमा परेका सात थुमहरुमाः लिस्ति, तौंथली, फुलपिंग, चौतारा, सिपा, सिन्धु र पाल्चोक थुम हुन् । त्यस्तै काभ्रेपलाञ्चोकमा परेका सात थुमहरुः चौंरी, कोटतिमाल, पलाञ्चोक, धुलिखेत, पनौती, पाँगु र चाकल हुन् । हालको मेलम्ची नगरपालिकाको वडा नम्बर १, २ र ३ (साविक भोटेचौर र हैबुंग गाविस) चाहिँ काठमाडौं जिल्ला अन्तरगत पर्दथ्यो ।

पहिलो आम निर्वाचन २०१५ः

नेपालको इतिहासमा पहिलो पटक २०१५ सालमा प्रतिनिधि सभाको लागि आम निर्बाचन भएको थियो । यो निर्वाचनमा मुलुक भर १०९ वटा निर्वाचन क्षेत्र बनाइ चुनाव गराइएको थियो । एक सय नौ निर्वाचन क्षेत्र मध्ये “चौतारा उत्तरपुर्व”, “चौतारा उत्तरपश्चिम”, “चौतारा दक्षिण”, “चौतारा मध्ये पुर्व” र “चौतारा मध्ये पश्चिम” गरी ५ निर्वाचन क्षेत्र पुर्व १ नम्बरमा पथ्र्याे । त्यसमा “चौतारा उत्तरपुर्व ” र चौतारा उत्तरपश्चिम ” २ क्षेत्र हालको सिन्धुपाल्चोक जिल्लामा पथ्र्याे । उक्त निर्वाचनमा क्षेत्र नम्बर ६ “चौतारा उत्तरपश्चिम” बाट सिन्धुकोटका गुणनीधि र क्षेत्र नम्बर ७ “चौतारा उत्तरपुर्व”बाट चौतारा देउरालीका चन्द्रलाल श्रेष्ठ विजयी हुनुभएको थियो । स्मरणीय के छ भने मुलुकमा पहिलो पटक भएको आम निर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरि विश्वेश्वर प्रसाद कोइराला मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्रि बनेका थिए । अपसोच दुइतिहाई बहुमत प्राप्त पहिलो जननिर्वाचित सरकारले करिब डेढ वर्षपनि देश चलाउन सकेन ।

पञ्चायत कालः

पञ्चायतकालको शुरुवात सँगै मुलुकलाई १४ अञ्चल र ७५ जिल्लामा बाँडियो । त्यसबेला साविकको पुर्व १ नम्बर जिल्लालाई सिन्धुपाल्चोक (सिन्धु थुम र पाल्चोक थुमको संयुक्त नामबाट नामाकरण भएको) र काभ्रेपलाञ्चोक (कोटतिमाल थुम अन्तरगतको काभ्रेकोट र पलाञ्चोक थुमको संयुक्त नामबाट नामाकरण भएको) गरी दुई जिल्ला बनाइयो जुन हालसम्म कायमै छ । जिल्लाभित्रका गाउँहरुलाई थुम,गर्खा र प्रगन्ना भन्दा सानो एकाई गाउँपञ्चायत र नगरपञ्चायतमा विभाजन गरियो । पञ्चायतको अन्तिमसम्म आइपुग्दा सिन्धुपाल्चोकमा ७९ गाउँपञ्चायत रहेका थिए । र गाउँपञ्चायतलाई पनि ९ वटा वडाहरुमा (नगर पञ्चायतलाई बढिमा ३५ सम्म) विभाजन गरिएको थियो । पञ्चायतकालमा पटक पटक भएका राष्ट्रिय पञ्चायतको निर्वाचनमा सिन्धुपाल्चोकबाट नेत्रविक्रम थापा र पशुपति शमशेरले प्रतिनिधित्व गरेको इतिहास छ ।

प्रजातन्त्रकालः

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरी स्थापना गरेको निर्दलीय पञ्चायती व्यवस्थाले देशमा करिब ३० वर्ष शासन गर्यो । २०४६ सालमा मुलुकमा भएको आन्दोलनको बलमा प्रजातन्त्रको पुनर्वहाली भयो । यसपछि पहिलो पल्ट २०४८ साल बैशाखमा आम निर्वाचन भयो । यो निर्वाचनका लागि मुलुकभर २०५ निर्वाचन क्षेत्र तोकिएकोमा सिन्धुपाल्चोकलाई ३ क्षेत्र छुट्याइएको थियो । तीन क्षेत्रको नतिजा आउँदा क्षेत्र नम्बर १ बाट तत्कालिन नेकपा एमालेका अमृत कुमार बोहरा, क्षेत्र नम्बर २ बाट तत्कालिन नेकपा एमालेका कृष्णराज श्रेष्ठ र क्षेत्र नम्बर ३ बाट तत्कालिन राप्रपा (चन्द समुह)का पशुपति शम्शेर जबराले जित हासिल गर्नुभएको थियो । ०४८ पछि भएका (०५१, ०५६, ०६४ र ०७०) सबै निर्बाचनहरुमा सिन्धुपाल्चोकमा तीन निर्वाचन क्षेत्र नै कायम भयो । ०४६ सालपछि पञ्चायतकालमा जस्तै जिल्लाभित्रका गाउँहरुलाई गाउँ विकास समितिको रुपमा नामाकरण गरी स्थानीय प्रशासनको जिम्मा दिइएको थियो । जुन २०७२ सालको नयाँ संविधान जारी भइ राज्यको पुनर्संरचना नहुन्जेलसम्म कायम रह्यो ।

नयाँ संरचनामा सिन्धुपाल्चोकः

२०७२ सालमा नयाँ संविधान जारी भएसँगै मुलुकले पुनर्संरचनाको काम अघि बढायो । संविधानले तीन तहको सरकारको परिकल्पना गरे बमोजिम तल्लो तहको सरकारको रुपमा गाउँपालिका र नगरपालिकाहरुको व्यवस्था गरियो । साविकका गाविस र नगरपालिकाको भन्दा विस्तारित क्षेत्र समेटेर मुलुकभर ७५३ वटा स्थानीय तहको गठन गरियो । ३ नम्बर प्रदेश अन्तरगत पर्ने यो जिल्लामा १२ वटा स्थानीय तह (३ नगरपालिका र ९ गाउँपालिका) बनाइएको छ । ती गाउँपालिका र नगरपालिकामा जम्मा १०३ वडा रहेका छन् । यसरी नयाँ संरचना अन्तरगतका स्थानीय तहहरुमा पहिलो पटक गत २०७४ सालमा निर्वाचन सम्पन्न भएको छ ।

जिल्लाको विकास र चुनौतिहरुः

पञ्चायतकालमा अरु धेरै विकास हुन नसके पनि २०३० को दशकमा अरनिको राजमार्ग बन्नु नै सिन्धुपाल्चोक जिल्लाको विकासको पहिलो खुड्किलो मान्न सकिन्छ । त्यसपछि बनेको सुनकोशी जलविद्युतले जिल्लामा विकासको अर्काे इट्टा थपेको देखिन्छ । केहि विद्यालयहरु खुल्नु र सानातिना योजना बनेका भएपनि २०५१ सालपछि गाउँविकास समितिहरुमा आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम अन्तरगत बार्षिक रकम आउन थालेपछि यहाँको विकासमा केहि फट्को मारेको पाउन सकिन्छ । तर अझै यहाँको विकासको लागि अनगिन्ति सम्भावनाहरु रहेका छन् । खासगरी राजधानीको नजिकै रहेको भएपनि यहाँको पर्यटकीय सम्भावनाहरु अझै उजागर हुन सकिरहेका छैनन् । ग्रामिण औद्योगिकिकरणका लागि थुप्रै प्रयास जारी राख्नुपर्ने आवश्यकता रहेको छ । कृषिमा आश्रीत जनसंख्या अधिक भएपनि कृषिमा व्यवसायिकरण र आधुनिकिकरण हुन सकिरहेको छैन । तथापि स्थानीय सरकारको रुपमा अधिकार सम्पन्न जनप्रतिनिधिको बहाली भएपछि जिल्लाको विकासका लागि स्थानीय तहहरुमा आपसि प्रतिस्पर्धा देखिएको छ । जसले गर्दा जिल्लाको समग्र विकासमा सकारात्मक योगदान हुन सक्नेछ ।

चुनौतीहरुः

२०७२ सालको भुकम्पले देखका विभिन्न १४ जिल्लामा क्षति गरे पनि सबैभन्दा बढि मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नुपर्यो । ३५५० बढी मानबीय क्षति सँगसँगै आर्थिक क्षति पनि ठुलो मात्रामा भयो । विकासको पथमा लम्किन खोजेको जिल्लाले ठुलो चुनौतिको रुपमा यो भुकम्पको सामना गर्नुपर्यो । भुकम्प मात्रै होइन यहाँको भौगोलिक जटिलता पनि विकासका लागि अर्काे चुनौति मान्न सकिन्छ । कम्युनिष्ट आन्दोलनको उर्वर भुमि मानिने यो जिल्ला सशस्त्र द्धन्दकालमा पनि उत्तिकै पिडाभित्र रहन बाध्य भयो जसले गर्दा विकासका कामहरु तिब्र गतिमा अगाडि जान सकेन । पार्टिहरु बीचको आपसी राजनितिक खिचातानिले पनि विकासका ठुला योजनाहरु प्रभावित भएका छन् । लामो समयसम्म जनप्रतिनिधि विहीन अवस्थामा कर्मचारीको मनोमानी र आर्थिक चलखेल हुँदा विकासका काम प्रभावित हुनु यो जिल्लाको लागि अर्काे चुनौतिको रुपमा लिन सकिन्छ ।

अबको प्राथमिकताः

अहिले नयाँ संविधानले अधिकार सम्पन्न गाउँपालिका तथा नगरपालिकाहरु गठन भइ निर्वाचन समेत सम्पन्न भइसकेको छ । जनप्रतिनिधिहरु स्थापित भैसकेको अवस्थामा गाउँपालिका तथा नगरपालिकाहरुले आफ्नो अधिकारको पुर्ण र सकारात्मक प्रयोग गरि जिल्लाको अग्रगामी विकासको लागि योजना निर्माण गर्नुपर्दछ । र जिल्लाको समन्वयकारी निकाय जिल्ला समन्वय समितिले पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच पुलको काम गर्दै विकासका लागि आवश्यक पहलकदमी लिनुपर्दछ । खासगरी सिन्धुपाल्चोक जिल्लाको विकासको लागि मुख्यरुपमा दुईवटा विषयमा जोडदार रुपमा योजना बनाइ कार्यान्वयन गर्नु उपयुक्त हुन्छः

क) पर्यटन विकासः देशको करिब एक चौथाइ भन्दा बढि जनसंख्या बसेको राजधानी शहरको नजिकै रहेको यो जिल्लामा प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । प्रसिद्ध पाल्चोकी माइ, पाँचपोखरी, लिस्तीमाइ, त्रिपुरासुन्दरी, गौराति भिमेश्वर, कालिका भगवति लगायतका स्थानमा धार्मिक पर्यटनलाई अगाडि ल्याउनुपर्छ । सुनकोशी, ब्रम्हायणी र इन्द्रावति नदीहरुमा र्याफ्टींग तथा यस सँग सम्बन्धित विषयहरुलाई जोड दिनुपर्छ । पाँचपोखरी, हेलम्बु, जुगल, मुडे–खरिढुंगा, भैरबकुण्ड, तातोपानी आदी क्षेत्रमा दृश्यावलोकन तथा विश्राम स्थलहरुको रुपमा विकास गर्न सके सिन्धुपाल्चोक जिल्लाको विकासको लागि एक उपयुक्त प्रयास हुनसक्छ ।

ख) उद्यम विकासः विकासको कुरा गर्ने वित्तिकै हाम्रो दिमागमा सडक खन्ने र खानेपानीको धारा जोड्ने कुरा घुम्न थाल्छ । तर देस विकासको प्रमुख मेरुदण्ड भनेको उद्योगधन्दा कलकारखाना हो । हाम्रो जिल्लामा पनि धेरै किसिमका उद्योग (लघु, घरेलु तथा साना र केहि ठुला समेत) खोल्न सकिने अवस्था छ तर हामीमा सोच छैन । हाम्रो समुदायमा उद्यमशीलताको सोचको अभाव छ । यसले गर्दा यहाँको अमुल्य श्रोतहरु खेर गैरहेका छन् । यहाँको प्राकृतिक श्रोत, बनजन्य श्रोत, कृषिजन्य श्रोत तथा अन्य श्रोतबाट प्राप्त हुने कच्चा पदार्थहरुको सही सदुपयोग गरेर लघु वा घरेलु उद्योगहरु खोल्नसके मात्रै पनि धेरै भन्दा धेरै रोजगारी सिर्जना हुन सक्ने देखिन्छ ।

यति मात्रै होइन, यहाँको हजारौं सम्भावनालाई यथार्थमा बदल्न जरुरी छ । घरघरमा उद्यम, व्यक्ति व्यक्ति रोजगारको एउटा अभियान नै चलाउनु पर्ने देखिन्छ । यहाँ भएका हजारौं सामुदायिक वन उपभोक्ता समुहहरुमा श्रोतको दोहन मात्रै होइन संरक्षण सहितको सदुपयोग गर्न जरुरी छ । वन क्षेत्रमा काष्ठजन्य उत्पादन मात्रै होइन च्युरी, लप्सी, रिठ्ठा, ओखर, सुन्तला लगायतका फलफुलजन्य विरुवा रोप्ने र त्यसबाट स्थानीयले प्रशस्त आम्दानी लिन सकिन्छ । हामीसँग भएका श्रोत साधनको अधिकतम उपयोग गरी लाभ लिनका लागि योजना बनाउनु पर्दछ । हाम्रो शिक्षा नीतिलाई क्रमशः आत्मनिर्भरमुखि बनाउँदै जानुपर्दछ । भौतिक पुर्वाधार निर्माण गर्दा बातावरण मैत्री तथा अधिकतम उपयोगमुखि बनाउनुपर्छ । यस्ता कामका लागि स्थानीय सरकारले नेतृत्व गरी दीर्घकालिन तथा आवधिक योजना निर्माण गरी कार्यान्वयनमा जानुपर्दछ ।


Loading...
सम्बन्धित शीर्षकहरु

Titopati - Snowfall coupled with breezing wind since Tuesday has troubled normal life in several mountainous districts in the country. General…

तितोपाटी - यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको…

तितोपाटी - पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ ।  आधुनिक…

प्रतिकृयाहरू