Thursday 6th August 2026

सरकारले फेरी सरकारी विदाका दिन थप्ने भयो


तितोपाटी – सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो। सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले बिदा कटौती गर्ने निर्णय गरेको थियो।

आदिवासी जनजाति महासंघलगायत विभिन्न संघसंस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएको भन्दै आन्दोलन गरेपछि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बिदा पुनरवलोकन गर्न बनेको तीनसदस्यीय कार्यदलले बिदा थप्ने प्रस्ताव गरेको हो। गृहमन्त्री थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरवलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदा प्रस्ताव गरेको हो।

आगामी वर्षदेखि किरात समुदायको चाड उभौली र उधौलीमा वैशाख तथा मंसिर पूर्णिमामा सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ। आदिवासी जनजाति महासंघको मागबमोजिम सो बिदा प्रस्ताव गरिएको हो। त्यस्तै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलगायत मुस्लिम संस्थाहरुको मागबमोजिम इदुल फित्र, बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ। यसो हुँदा मुस्लिम समुदायले मनाउने तीनवटा पर्वमा बिदा हुनेछ।

अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्बो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ भने छठ पर्वमा पनि बिदा प्रस्ताव गरिएको छ। यसका साथै माघ १ गते थारु समुदायको माघी पर्व र नेपाल ब्राह्मण समाजको मागबमोजिम जनैपूर्णिमामा पनि सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...