Saturday 20th April 2024

कांग्रेस महासमिति उद्घाटनः एकताको नारासँगै आरोप प्रत्यारोप


तितोपाटी डट कम-लम्बेतान भाषणकै क्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘अचम्मको प्रेम’ सुनाउँदै महासमिति बैठकको उद्घाटन समारोहमा सहभागीलाई हसाएनन् मात्र, नेताद्वयलाई हातेमालो गर्दै एकता सन्देश दिन लगाए ।

शनिबारदेखि सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा अहिलेसम्म भएका सबै पदाधिकारीले सम्बोधन गरे तर, अधिकांश नेताहरु देउवा र इतरको गुटमा प्रष्ट देखिएका थिए । देउवा समूहका नेताहरु चुनाव गराउनु यो ऐतिहासिक भएको भन्दै नेतृत्वको प्रतिरक्षामा उभिएका थिए भने इतरका नेताहरुले चुनाव हार लगायतका विषयमा नेतृत्वमाथि प्रश्न उठाएका थिए ।

तर, फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएर उपसभापति भएका गच्छदारले त्यसमा ब्रेक लगाए । ‘आजै एकताको संदेश दिनुपर्छ । दुबै नेताले कसम खाएर अगाडि बढ्नुपर्छ । अहिल्यै हात उठाएर एकताको संदेश दिनुस्’ भन्दै उनले कर गरे ।

देउवा र पोडेलले पालोपालो उभिएर हात हल्लाए तर, बोलिरहेका गच्छदारसँग दुई नेताको छेउमा रहेका उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले उछेर हात नै तानेपछि देउवा र पौडेल दुबैले उठेर हातेमालो गरे । यद्यपि वरिष्ठ नेता पौडेलले असहज मानेको प्रष्टै देखिन्थ्यो ।

उपसभापति विमलेन्द्र निधिले पनि विगतलाई विर्सिएर एकता कायम गर्न दुई नेतालाई आग्रह गरे ।

आरोप प्रत्यारोप चलिरहेको उद्घाटन समारोहमा एकाएक एकताको माहौल देखियो ।

सभापति भन्दा अगाडि बोलेका वरिष्ठ नेता पौडेलले ‘जुगाँको रेखी बस्दादेखि नै सँगै रहेको दुई नेताबीच किन एकता नहुने’ भन्दै सम्बोधन सुरु गरेका थिए । सेन्टिमेन्टल नेता भएकाले गच्छदार भन्दा प्रत्यार नलागेको तर, विमलेन्द्र निधिले पनि भनेपछि एकतामा आश पलाएको पौडेलले सुनाए ।

उनले देउवासँग हातेमालो गर्न आनाकानी गर्नुको कारण पनि घुमाउरो रुपमा सुनाए । गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले पोखरामा हातेमालो गरेको तर, काठमाडौं आएपछि दुर्घटना भएको तथा आफूले पनि पटक पटक धोका खाएको भन्दै उनले भने, अगुल्टोले हानेको कुकुर विजुली देखेर तर्सिन्छ नि ।’

वरिष्ठ नेता पौडेलले आफूसँगै एकताको पक्षमा रहेको तर, एकता केका लागि भन्ने प्रश्न गरे । उनले भने, चुनावमा नराम्ररी हारेका छौं । यो हारलाई जितमा कसरी परिणात गर्ने ? यसमा एकता गरौं । मुद्दा, कार्यशैलीमा एकता गरौं, पार्टीमा केके कमजोरी छ, त्यसलाई हटाउन एकता गरौं ।’

पार्टीमा न्याय, निश्पक्षता र पारदर्शीताबाट हुनुपर्ने र नेतृत्वमा सबैलाई मिलाएर लैजान्छु, सबैलाई याय दिन्छु भन्ने अठोट हुनुपर्ने उनले बताए । नेता पौडेलले भने, ‘यहाँ हात उठाएर मात्र हुँदैन । एकताका निश्चित आधारहरु खोज्नुपर्छ ।’

एकछिन प्लिज सुनिदिनुस्ः देउवा

पार्टी सभापति देउवाले सम्बोधन सुरु गर्दा साझँको झण्डै साढे ६ बजिसकेको थियो । साँझको गास र बास आफैं व्यवस्थापन गर्नु पर्ने भनिएकाले महासमिति सदस्यहरुलाई हिड्न हतारो भइरहेको थियो । त्यसैले सभापतिले के भनिरहेका छन् कमैले ध्यान दिए । आपसका कुराकानीले हल्लाखल्ला थियो ।

‘एकछिन प्लिज सुनिदिनुस्, चित्त नबुझे भोलि बोल्नुस्’ शान्त बस्न आग्रह गर्दै देउवाले भने ।

उनले लिखित सम्बोधन गरेको भए पनि हल्लाखल्लाका बीच भाषण सुन्न मुस्लिक थियो । यद्यपि उनले पटक पटक शान्त बस्न आग्रह गर्दै झण्डै सम्बोधन गरे ।

पार्टी सभापति देउवाले देउवाले मिलाएर लैजाने र कसैले पनि पार्टी छाड्नुपर्ने अवस्था आउन नदिने बताए । आफ्नो विरोध गर्ने छुट पनि रहेको र, गल्ती भएको भए सुधार गर्ने पनि बताए । उनले अघि भने, तर, ओलीको खिलापमा पनि बोल्नुस् । कम्तिमा माधव नेेपालले जत्ति हिम्मत गर्नुस् ।’

सम्बोधन अन्त्य गर्दै आलोचकलाई प्रश्न गरे, ‘म किन ठीक छैन ? उसो भए ओली ठीक छ त ?’

दुई गुटमा विभाजित नेता

चुनावी हारको समीक्षा, आगामी योजना बनाउने लक्ष्यका साथ बोलाइएको बहुप्रतिक्षित महासमिति बैठकको उद्घाटन सत्रका बोल्ने अधिकांश नेताहरु विभाजित देखिन्थे ।

पूर्वसहमहान्त्री अर्जुननरसिंह केसीले हुकुमी परिपार्टीबाट अब पार्टी चल्न नसक्ने बताए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसको विधान राम्रो रहेको तर, कार्यान्वयन कमजोर भएको बताए । विधान पालना गराउने सयन्त्र चाहिने उनले बताए ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले भागवण्डाका नाममा पार्टी सभापतिलाई काम गर्न नदिइएको बताए । सहमहामन्त्री प्रकाशशरण महतले पार्टी सभापतिको आलोचना गर्नेहरुले विशम परिस्थितिमा आम चुनाव गराएको नविर्सन अमाग्रह गरे ।

सरकारको चर्को आलोचना

सबै नेताहरुको सरकारको चर्को आलोचना गरेका छन् । न्यायालयमाथि हस्तक्षेप गरेको, प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको, निर्मला पन्तको हत्या प्रकरणमा अपराधीलाई संरक्षण गरेको भन्दै नेताहरुले सरकारको आलोचना गरे ।

सभापति देउवाले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै महासमितिपछि सरकारमाथि दबाव बढाउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले सरकारसँग काम गर्ने ढंग नै नभएको टिप्पणी गरे भने उपसभापति विमलेन्द्र निधिले पुस, माघ र फागुनमा एकएक दिन शक्ति प्रदर्शन गर्ने प्रस्ताव गरे ।

उपसभापति गच्छदारले सरकार संविधान खाने प्रयासमा रहेको टिप्पणी गरेका थिए । महामन्त्री शशांक कोइरालाले भने संविधानको कतिपय विषय गम्भीर रहेको बताए ।

सिंहदरबार अगाडिएको एक पार्टी प्यालेसमा भएको उद्घाटन सत्रमा करिब ३ हजार नेता कार्यकर्ताको सहभागिता थियो । कतिपय नेताहरुले भने खुला ठाउँमा आमसभा गरेर शक्ति प्रदर्शन गर्ने अवसर नेतृत्वले गुमाएको बताएका छन् ।

महासमिति बैठकमका शनिबार नै बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा उपसभापति विमलेन्ऽ निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् ।

तर, विधानमा भने अझै सहमति जुट्न सकेको छैन । महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गरेपनि सदस्यता, पदाधिकारी संख्या लगायतका विषयमा देउवा र पौडेल समूहबीच सहमतिको प्रयास जारी छ ।
-अनलाइन खबरबाट साभार


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...