Friday 3rd May 2024

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा


तीतोपाटी- छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गर्नुभएको हो । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो । छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी हुनभएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सक्नुभएन ।

सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गर्नुभएको थियो ।

सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिनुभयो । शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उहाँले प्रतिक्रिया दिनुभयो । नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उहाँले बताउनुभयो ।आयोजक समितिका संयोजक राजेन्द्र सिंहले आठ वर्षदेखि छठ घाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यस पटक पूजाका लागि २६० कक्ष बुकिङ भएको बताउनुभयो । सो क्रममा महेशकुमार अग्रवाल, नरोत्तम वैद्यलगायतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले आकर्षक बनेको छ । काठमाडौँका थापाथली, गौरीघाट, रानीपोखरी र कमलपोखरीमा छठ पूजा गर्ने गरिएकामा रानीपोखरी क्षतिग्रस्त छ । तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।

छठको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अघ्र्य दिइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।

साभार दैनिक नेपाल


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...