Thursday 17th September 2026

बिल्कुलै नयाँ विमान कसरी दुर्घटनाग्रस्त भयो ?


बीबीसी

एक सय ९० यात्रु सवार लायन एयर फ्लाइट जेटी ६१० विमान इन्डोनेशियाको जकार्ताबाट सोमबार उडेको केही क्षणमै समुन्द्रमा दुर्घटनाग्रस्त भयो ।

बोइङ ७३७ म्याक्स एट बिल्कुलै नयाँ हुँदा हुँदै पनि कसरी दुर्घटनाग्रस्त भयो भन्ने कुरामा अहिले थुप्रैको ध्यान केन्द्रीत छ ।

विमान दुर्घटनाको पूर्ण अनुसन्धान नहुञ्जेल यसबारे ठोस् कारण पत्ता लाग्न नसक्ने धेरैको विश्वास छ ।

विमान दुर्घटना विशेषतः दुई कारणले हुन्छ । पहिलो विमानमा प्राविधिक गडबडीका कारण र दोस्रो मानवीय गल्तीका कारण । तर के विमान नयाँ हुँदा दुर्घटना नै हुँदैन र ?

बोइङ ७३७ म्याक्स एट सन् २०१७ पश्चात् मात्र व्यापारिक प्रयोजनमा आएको थियो ।

लाइन एयरले इन्डोनेशियामा पहिलो विमान उतार्न सकेकोमा आफू अत्यधिक गौरवान्वित भएको बताउँदै आफूले यस्ता दुई सय १८ वटा विमान अर्डर गरेको जानकारी दिएको थियो ।

सोमबार दुर्घटना भएको विमान अगस्ट १५ बाट संचालनमा आएको थियो ।

‘विमान आठ सय घण्टामात्र उडेको थियो’, नेशनल ट्रान्सपोर्टेशन सेफ्टी कमिशन, सोइर्जान्तो तिजाहजानोले बताए ।

विमान उडेको केही समयमै पाइलटले जकार्ताको एयर ट्राफिक कन्ट्रोलसँग फर्कन अनुमती मागेका थिए ।

एक दिनअघि अर्थात् आइतबार नै विमानमा खराबी देखिएको खबर पनि आइरहेका छन् ।

यद्यपी, लाइन एयरले यसबारे पुष्टि गरेको छैन । तर डेनपासरबाट जकार्ताको लागि उडान भरेको विमानमा अज्ञात प्राविधिक समस्या निम्तिएको हुनसक्ने कम्पनीका मुख्य कार्यकारी अधिकारीले बताए ।

एडवार्ड सिरेइतले उक्त समस्या ‘प्रक्रिया अनुसार समाधान गरिएको’ बताएका छन् ।

उनले थपे, ‘लाइन एयरले उस्तै मोडलका ११ विमान सञ्चालनमा ल्याइरहेको छ तर त्यसमा अहिलेसम्म केही समस्या देखिएका छैनन् ।’

गडबडी तत्काल समाधान गरिन्छः

उड्डयन विश्लेषक गेरी सोइजात्मानले बीबीसीलाई दिएको जानकारी अनुसार साधारणतया पुराना विमान दुर्घटना हुने सम्भावना उच्च हुन्छ तर बिल्कुलै नयाँ विमानमा पनि समस्या देखिन सक्छ ।

‘यदि यो नयाँ हो भने कहिलेकाँही गडबडी हुनसक्छन् जुन प्रयोगपश्चात् मात्र पत्ता लाग्छ । यस्ता गडबडी पहिलो तीन महिनाभित्रै समाधान गरिन्छ,’ उनले भने ।

उक्त विमानले केही हप्ताभित्रै तीन महिना पूरा गर्दै थियो ।

उड्यन प्रकाशन द एयर करेन्टका विश्लेषक जोन ओस्ट्रोवरले भने, ‘नयाँमा समस्या देखिनु सामान्य कुरा हो तर विमानको सुरक्षालाई नै चेतावनी दिनु त्यो कुनै पनि स्थितीमा साधारण हुनसक्दैन ।’

उनले थपे, ‘साधारणतया, नयाँ विमानलाई मर्मतका लागि अत्यधिक बिदा दिइएको हुन्छ किनभने सबैकुरा निकै नौला हुन्छन् तर विपरित होइन ।’

दुबै विश्लेषकले फ्लाइट जेटी ६१० मा के समस्या भएको थियो भनेर अहिले नै निष्कर्ष निकाल्न नसकिने बताए ।

‘यो विमान दुर्घटना हुनुको कारण के हो, त्यसबारे मलाई थाहा छैन,’ ओस्ट्रोवले बीबीसीलाई बताए । ‘यस्तो दुर्घटनाका लागि विभिन्न कारण हुनसक्छन् ।’

यता सोइजात्मानले ‘यसका लागि प्राविधिक गडबडी हुनसक्छन् तर अहिले नै यकिनका साथ भन्न सकिँदैन ।’

‘यसबारे थप जानकारी आएपछि मात्र वास्तविक कारण के थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ,’ उनले भने ।

बोइङले आफ्नो विमान दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना दर्साएको छ । आफूले दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने पनि जानकारी दिएको छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...