Tuesday 27th October 2026

कर्णालीमा डुंगा दुर्घटना हुँदा २ जना वेपत्ता, ३ जना पाैडिएर बाँचे


तितोपाटी – कैलालीको चिसापानीमा अाज सोमबार साँझ डुंगा दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जना पाैडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ  तर खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राती उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो ।

इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले घटना स्थलमा ‘नर्मल ड्यूटी’ टोली रहेको बताउँछन् । ‘अहिले पनि एउटा टोली त त्यहाँ छ । तर, राति उद्दार सम्भव भएन’ उनले भने, ‘उनीहरुलाई स्थानीयले लाइफ ज्याकेट दिएका छन् । केही परे उनीहरु खटिन्छन् ।’

स्थानीय प्रहरीले सशस्त्र प्रहरी र सेनाको टोलीलाई खबर गरे पनि अझैसम्म घटनास्थलमा पुगेका छैनन् । स्रोतका अनुसार सशस्त्रको टोलीले सोमबार बिहान मात्रै घटनास्थलमा उपस्थित हुन सक्ने जनाएको छ ।

पाैडिएर बाँच्न सफल ३ जनाको नदीमा पौडिँदै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसी नेतृत्वको टोलीले उद्दार गरेको थियो । उद्दारपछि उनीहरुको स्थानीय कीर्ति मेडिकल हलमा उपचार गरिएको छ ।

घटनामा कैलालीको जोशीपुर–५ का पुरुषोत्तम चौधरी र जोशीपुर–२ का समिर बडेला बेपत्ता भएका छन् ।

साँझ ६ बजे भएको दुर्घटना दुर्घटनाबारे खबर पाएलगत्तै प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । तर, राति अवेरसम्म पनि उनीहरुको अत्तोपत्तो लागेन ।

स्थानीयबासीका अनुसार दुर्घटना भएको ठाउँ त्यहाँको स्थानीय पर्यटकीय क्षेत्र पनि हो । त्यहाँ पर्यटकको लागि स्थानीयले डुंगा सञ्चालन गरेका थिए ।

चौधरी, बडेलासहित ५ जनाको समूह आइतबार दशैंको उत्सव मनाउन भन्दै त्यहाँ गएको थियो । उनीहरुले नदीको एक किनारमा गएर मदिरा सवेन गरेका थिए । साँझ फर्किने क्रममा डुंगा दुर्घटनामा परेको हो ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...