Saturday 30th May 2026

नवरात्र शुरू, अाज घटस्थापना


तितोपाटी – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ। यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

नवरात्रमा नवदुर्गाको पूजा 

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ। दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ।

“दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”–धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भने।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ। बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ।

नवरात्र भनेर समेत चिनिने विजया दशमीसम्मको १० दिनमा यस वर्ष तिथिको घटवढ नरहेकाले नौ रात्रीकै छ। तिथिको घटबढ भएका वर्ष नवरात्र र १० दिनको समयमा फरक पर्छ।

टीकाको साइत कात्तिक २ गते बिहान ९ : ५१ मा 

आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए। विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ। यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ। परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर चाड मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ।

आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन्। घटस्थापनाका अवसरमा दिने बिदा भने यस वर्ष कटौती गरिएको छ। यस वर्ष दशैँको बिदा पनि असोज ३० गते फूलपातीदेखि कात्तिक ३ गते एकादशीसम्म दिइएको छ।

दशैंको टीका लगाउँदा कता फर्किने ?

त्यसो त देवी दूर्गाको प्रसाद भएकाले टीका लगाउन दिनभरि नै शुभ मानिएको छ तर उत्तम साइत हेर्नेहरुका लागि भने ९ बजेर ५१ मिनेट निर्धारण गरिएको हो ।

स्थानअनुसार टीका लगाइदिने व्यक्ति दक्षिणतर्फ फर्किने र टीका थाप्ने व्यक्ति पूर्वतर्फ फर्किने गर्नुपर्दछ । अथवा टीका थाप्ने व्यक्ति दाहिने चन्द्रमा पारी टीका थाप्न बस्नुपर्दछ ।

आमा-बुवा, गुरु तथा मान्यजनहरुबाट देवीको प्रसादस्वरुप रातो टीका र जमरा ग्रहण गर्ने तथा आशिर्वाद ग्रहण गर्ने चलन छ ।

कात्तिक ६ गते मंगलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैं समापन हुन्छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिका र इरानबीच एउटा नयाँ सम्झौताका लागि सहमति जुटेको खबर सार्वजनिक भएको छ । प्राप्त विवरणहरूका अनुसार यस सम्झौतामा जारी…

अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकीले इरानको बन्दर अब्बासमा आक्रमण गरेपछि इरानले प्रतिकार स्वरूप कुवेततर्फ मिसाइल र ड्रोन हमला…

श्रीलंका सरकारले नेपाली नागरिकका लागि निःशुल्क पर्यटक भिसा (ETA) सुविधा घोषणा गरेको छ। काठमाडौंस्थित श्रीलंकन दुतावासले  जारी गरेको सूचनाअनुसार २५…

प्रतिकृयाहरू
...