होम कार्की – साँझ ६ बज्दै छ । कामदारहरू बासस्थान आउने क्रम बाक्लिँदै छ । गेटबाहिर कामदारलाई बोकेर ल्याएको बसको ताँती लागेको छ । क्याम्पभित्र जोसुकै छिर्न मनाही छ । गेटमा नेपाली सुरक्षागार्ड तैनाथ छन् । उनीहरूले अनुमति पाएका सवारी साधनको प्रवेश पास हेर्दै भित्र छिर्न अनुमति दिइरहेका छन् ।
उनीहरू कतारमा सन् २०२२ मा हुन गइरहेको रंगशाला निमार्णमा संलग्न कामदार हुन् । यसको नाम ‘शैक्षिक सहर रगंशाला’ हो । जुन कतार फाउन्डेसनको शैक्षिक क्षेत्रभित्र बन्दै गरेकाले रंगशालाको नाम नै शैक्षिक सहर रंगशाला राखेको हो । कतारमा वनिरहेको ८ रंगशालामध्ये यो एउटा हो । रंगशाला निर्माणमा संलग्न कामदारको बासस्थान गएर हेर्ने पहिलेदेखिकै धोको बल्ल यस पटक सम्भव बन्यो ।
यी कामदार बिहान ५ बजे क्याम्पबाट निस्केका थिए । क्याम्पबाट कार्यस्थल पुग्न गाडीमा १५/२० मिनेट लाग्छ । क्याम्पबाट कार्यस्थल पुर्याउने र ल्याउने काम कम्पनीले नै गर्छ । गेटबाट प्रवेश पाएका चौथो गाडीबाट मोरङका शिव मण्डल ओर्लिए । पहेंलो पोसाक लगाएका उनी सरासर आफ्नो कोठाभित्र लम्किए । उनको शरीर पसिनाले निधु्रक भिजेको देखिन्छ । उनी क्याम्पको तेस्रो तलमा बस्दा रहेछन् । क्याम्प अस्थायी प्रकृतिका बनेका छन् । बाहिरबाटै माथि जाने भर्याङ बनाइएको रहेछ । भर्याङ सफा छ । फराकिलो पनि ।
मण्डल लुगा फेर्न कोठाभित्र छिरे । म तेस्रो तलाको भर्याङमै रोकिएर बाहिरी दृश्य नियाल्नतिर लागें । यहाँबाट क्याम्पको पूरा क्षेत्र देखिन्छ । क्याम्प एकातिर लस्करै छ । यसको सामुन्ने फुटबल मैदान छ । फुटबल मैदान बलौटे छ । दुबो लगाइएको छैन । त्यस्तो रुख्खा मैदानमा पनि ज्यान फालेर उनीहरू फुटबल हानिरहेका छन् । छेउमा भलिबल र बास्केटबलको मैदान छ । दुवै खाली छन् ।
एक छिनअघिसम्म खाली भर्याङका बारमा लुगाहरू झुन्डिसकेका छन् । ‘भोलि बिहान यही लगाएर काम गर्न जानुपर्छ,’ मण्डलले पहेंलो आफ्ना पोसाक टाँग्दै भने, ‘हुन त कम्पनीबाटै लुगा धोइदिने सुुविधा छ । आज दिएमा तीन दिनमा पालो आउँछ । हिजो दिएको लुगा आएको छैन । आज नधोए भोलि फेरि लगाएर जान सकिँदैन ।’
उनी लुगा सुकाएर आफ्नो कोठाभित्र छिरे । कोठाभित्र चारवटा बेड छन् । एसीले कोठा निकै चिसो । तीन जना बेडमा पल्टिएका छन् । ‘अर्को साथीले नदेख्ने गरी बेडमाथि पर्दा टाँग्न मिल्छ । कहिले पर्दा टाङ्छौं । कहिले त्यति नै छाडिदिन्छौं,’ उनले भने, ‘अरू ठाउँमा जस्तो यहाँ एकले अर्कालाई बाधा पुग्दैन ।’
मण्डलको कोठामा अरू तीन जना नेपाली नै हुन् । सहदेव विष्ट, राकेश राई र सुनम गुरुङ । उनीहरू एउटै कम्पनीबाट यहाँ सप्लाईमा आएका हुन् । मण्डल ५ वर्षदेखि कतारमा कार्यरत छन् । उनी रगंशालाका स्कापफोल्डर हुन् । जुन रंगशाला बनाउने सबैभन्दा जटिल र जोखिम कामभित्र पर्छ ।
मान्छेहरू बाहिर रंगशाला बनाउने कामदारको विषयमा धेरै चासो दिइरहेका छन् । तपाईंहरू आफैंलाई कस्तो अनुभूति हुन्छ त ? मैले मण्डलसमक्ष प्रश्न राखें । ‘मलाई त केही लाग्दैन । जहाँ गए पनि काम नगरी हुन्न । रंगशाला भन्दैमा गर्मी कम हुने होइन । जे डयुटी अह्रयाइएको छ, हामीले त्यही गर्नुपर्छ । हाम्रा लागि विशेष केही हुन्न क्यारे,’ मण्डलले भने, ‘बाहिरी चर्चा बेकारका हुन् ।’
उनीसँगै बस्ने मोरङका राकेश राई अलि उत्साहित देखिए । ‘म त फुटबल भनेपछि हुरुक्कै हुन्छु । गरिबीले फुटबल खेल्न पाइनँ मात्रै । नत्र नेपाली राष्ट्रिय खेलाडी बन्थें होला । आज भाग्यको खेलले फुटबल खेल्न होइन मेसी, रोनाल्डो खेल्ने मैदान बनाउन आइपुगेको छु,’ उनले भने, ‘यो बनिसकेपछि भोलि छेउमा त आउन पाइँदैन होला ।
तर, विश्वकप भइरहेको दिनमा भने म खुबै सम्झन्छु ।’
सहदेव विष्टलाई भने तलबबारे चित्ता नै बुझिरहेको छैन । ‘विश्वकप रंगशाला वनाउने काम पाएपछि तलब पनि त्यस्तै होलाजस्तो लागेको थियो । कामअनुसारको हाम्रै तलबै भएन । एउटा साधारण घर बनाउँदा पाउने तलब र रंगशाला बनाउने तलबमा केही फरक छैन,’ उनले भने, ‘कमसेकम साधारण घर बनाउँदा हाम्रो ओभरटाइम दिनमा चार घन्टा हुन्थ्यो । यहाँ आएर झन् फसियोजस्तो पो लाग्छ ।’
‘केही फाइदा छैन त ?’
‘बस्ने सुविधा राम्रो छ ।,’ मण्डलले भने, ‘साइडमा पानी खाने सुविधा छ । आराम गर्ने कक्ष छ । सेफ्टीमा बढी ध्यान दिइएको छ ।’
उनीहरू काम गर्ने एकाइमा भने दुर्घटना भएको खबर सुन्नुपरेको छैन । ‘अरू ठाउँमा के भयो थाहा छैन । सबै कुरा थाहा पनि हुन्न । तर, हाम्रो साथीभाइ कसैलाई केही भएको छैन,’ उनले भने, ‘चोटपटक लाग्नु त सामान्य हो ।’
दिउँसोको खाना साइडमै आउँछ । बेलुका भने राति ९ बजेभित्र क्याम्पको खानाको मेस बन्द भइसक्छ । कोठाभित्र खाना पकाउन भने प्रतिबन्ध छ । मेसमै खाना खानु अनिवार्य । ‘दिनभर थोकेर आएको शरीरले खाना त बनाउनुपरेन । यो सहज हो,’ राकेश राईले भने, ‘अर्को साइडमा हुँदा निकै गार्हो हुन्थ्यो । ग्यास खोज्न जानुपर्ने । तरकारी किन्न जानुपर्ने । अहिले यतातिर त तनाब लिनुपरेको छैन ।’
करिब ५ सय जना अट्ने क्षमता रहेको हलमा कामदारहरू खचाखच भरिएका छन् । खाना खानेको लाइन लागिरहेको छ । म पनि मण्डलको पछाडि बसेर प्लेट लिए । चामलको भात दुईथरीको छ । मोटो र मसिनो चामल । माछा, चिकेन, सब्जी र दाल । अर्को प्लेटमा रोटी पनि । कामदारलाई चाहिने पौष्टिक तत्त्व पुग्ने गरी खानामा मात्र मिलाइएको छ भनेर सूचना पाटीमा लेखिएको छ । ‘कम्पनीलाई निकै घाटा पर्यो,’ प्लेट उठाउँदै आएका नेपाली कामदारले हाम्रो टेबुलमा आएर भने, ‘खाना सबैले फाल्छ ।’
‘नमीठो भएर खाना फाले जस्तो छ,’ मैले सोधें ।
‘योभन्दा मीठो त कसले दिन्छ ?’ उनी झोक्किए, ‘खाना गुणस्तर र मीठो छ कि छैन भनेर माथिबाटै चेक गर्न आइराख्छ । तिमीहरूलाई के थाहा ?’
मेस भएको लाइनमा तीनथरीको भवन छ । मस्जिद, कपडा धोइदिने पसल र टीभी हेर्ने हल । जिमखाना पनि छ । टेबुल टेनिस र टेबल टप मिनी फुटबल खेलकुद सामग्री पनि छन् । यी सबै प्रयोगविहीनजस्तै छ । खेल्ने कोही छैन । ‘दिनभर फलामका पाइप उठाउँदै शरीर लत्रक परिसकेको हुन्छ । हामीले जिम के काम,’ विष्टले भने, ‘क्याम्प आउनासाथ आराम गर्न मन लाग्छ ।’
रंगशाला बनाउने सबै लेबरहरू यही क्याम्पभित्र बस्छन् । ‘रात र दिनमा दुई सिफ्टमा काम भइरहेको छ,’ मण्डलले भने, ‘त्यही भएर यहाँ भीड नदेखिएको हो । आधाजसो त यतिखेर (राति ९ बजे) उतै पाइप उचाल्दै होलान् ।’
-कान्तिपुर कोसेलीबाट