Sunday 16th August 2026

७० करोड भन्दा बढीको सम्पति सहितको कम्पनी किर्ते गरेर कब्जा


तितोपाटी – शंकर इलेक्टिक इन्डष्ट्रिज कम्पनीको कागजपत्र कीर्ते गरेर ७० करोड रुपैयाँ सम्पत्ति ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनी रजिष्टार कार्यालयका चार कर्मचारी पनि छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार यो गिरोहले सुरुमा शंकर इलेक्टिकका सञ्चालक राम निरञ्जन जटियाको घरबाट कम्पनीको कागजात चोरी गरेका थिए । त्यसपछि कीर्ति गर्दै शेयर आफ्नो नाममा ल्याए ।

कम्पनीको जग्गा बेच्न वैना गरेपछि सिंगापुरमा बस्दै आएका जटिया थाहा पाएका थिए ।

उनको उजुरीका आधारमा छानविन थालेको सीआईबीको टोलीले मकवानपुर घर भई चन्द्रागिरी बस्दै आएका ४५ वर्षीय राजप्रसाद लम्साल, चन्द्रागिरीका ४० वर्षीय निरजकुमार मानन्धर, रामेछापको सुनापातीका ३३ वर्षीय जीतबहादुर मगर, मोरङको रतुवामाई घर भइ पेप्सीकोला बस्दै आएका ४० वर्षीय पुण्यप्रसाद खरेल, काभ्रेको चौबस घर भइ बुढानीलकण्ठ बस्दै आएका ४० वर्षीय साइला भनिने राजकुमार तामाङ, चन्द्रागिरीका ३१ वर्षीय हिमाल महर्जन, चन्द्रागिरी–१० का ५५ वर्षीय चिरिबाबु महर्जन र बाराको निजगढ–१ घर भइ हाल कलंकी बस्दै आएका २८ वर्षीय अमृत थापा मगरलाई पक्राउ गरेको छ ।

कम्पनी रजिष्टार कार्यालयका सहायक रजिष्टार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, आईटी शाखामा करारमा कार्यरत् आशिष महर्जन र पुष्पकला राईलाई पनि पक्राउ परेका छन् ।

थप दुई जना अझै फरार रहेको सीआईबीका निर्देशक डिआईजी नारायणसिंह खड्काले बताए ।

ब्यूरोका एसपी सानुराम भट्टराईका अनुसार शंकर इलेक्टिक इन्डष्ट्रिज कम्पनीमा १६ वर्षदेखि काम गर्दै आएका जितबहादुरको योजनामा राजन र निरजको मुख्य सहयोगले कागजपत्र चोरी गरेर कीर्ते, सहीछाप र हस्ताक्षर गरिएको खुलेको छ ।

‘कीर्ते कागजपत्र तयार गरी जटियाको नाममा रहेको सम्पूर्ण शेयर खरिद गरेको भनेर कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएर जितबहादुरको नाममा कम्पनी नामसारी समेत गराएको भेटिएको छ’, एसपी भट्टराईले थपे, ‘त्यसपछि कम्पनीको नाममा रहेको करिब ७० करोड ठगी सुरु भएको भेटिएको छ ।’

कसरी भयो ठगी ?

सीआईबीका अनुसार प्रारम्भमा कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय भनेर शेयर धनी सञ्चालक जटियाले जीतबहादुरलाई ७५ प्रतिशत बराबरको १८ हजार ७ सय ५० शेयर विक्री गरेको भनेर कीर्ते कागज खडा गरिएको थियो ।

त्यसपछि जीतबहादुरले विशेष साधारणसभाबाट आफूलाई अध्यक्ष चयन गरेको देखाइएको छ । जटियालाई सञ्चालक भनिएको थियो । २६ जेठमा जटियाको सञ्चालक पदबाट राजीनामा स्वीकृत गरिएको निवेदन पेश गरेको देखिइयो ।

‘कम्पनीको अर्को संञ्चालक समितिको बैठकले ६ हजार २ सय ५० शेयर राम निरञ्जन जटियाबाट मगरले खरिद गरेको कागज बनाइएको खुलेको छ’ एसपी भट्टराईले भने, ‘कम्पनीको अर्को विशेष बैठकबाट मगरको नाममा मात्र १ जनाको सञ्चालक समिति हुने भनी निर्णय गरेको देखिएको छ ।’

त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट २९ र ३२ जेठको निर्णयबाट कम्पनीको शेयर लगत जटियाको नामबाट मगरको नाममा नामसारी गरेको पाइएको छ ।

त्यसपछि कम्पनीको सम्पत्ति विक्री गर्ने प्रक्रिया सुरु भयो । शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको शेयरधनी सञ्चालक भएको भन्दै कागजात देखाएर मगरले बालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा विक्रीका लागि बालुवाटारका राजभाइ श्रेष्ठसँग बैना लिए ।

‘प्रति आना २१ लाख २५ हजारको दरले खरिदका लागि बैंकमार्फत १ करोड वैना लिएको देखिएको हो’ ब्यूरोका एक अधिकारी भन्छन्, ‘त्यस्तै, चितवनको भरतपुर–४, घर भइ लामो समयदेखि जापानमा व्यवसाय गरी बस्ने प्रेमसागर सापकोटालाई पनि कम्पनीको कागजपत्र देखाएर मगरसहितले चन्द्रागिरी–१५, सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले विक्रीका लागि २ करोड वैना लिएको भेटिएको छ ।’

यद्यपि, त्यसक्रममा राजधानीमा रहेका आफन्तले कम्पनीको सम्पत्ति विक्री हुँदै गरेको थाहा पाएपछि जटियालाई खबर गरे । त्यो सुनेर सिंगापुर बस्दै आएका जटिया तीन छक्क परे र, अनुसन्धानका लागि प्रहरीलाई गुहारेका थिए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...