हरि कृष्ण न्यौपाने – नेपाल सरकारले सन २०१४ मार्च देखी अधिकारिक रुपमा नेपालबाट श्रम स्विकृति लिएर खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुका लागी घरेलु कामदारका रुपमा काम गर्न जान पूर्ण बन्देज लगाएको छ।तर पनि खुल्ला सिमानाको फाईदा उठाउदै एजेन्टहरुको बिभिन्न ट्रान्जिट प्वाइन्टमा मिलोमतोका साथ भारत, श्रीलंका, बंगलादेश, दुबइ हुँदै वा नेपाल एयरपोर्टमै सेटिङ मिलाएर अबैधानिक रुपमा कुवेत, साउदी, दुबइ, सिरिया,ओमन, बहराइन, इराक लगायतका मुलुकहरुमा नेपाली चेलीहरु दिन-दिनै आइरहेका छन।त्यती मात्र होइन सरकारले पछिल्लो २ बर्षमा कुनै घरमा राम्रो काम गरिरहेका र छुट्टी गएका घरेलु महिला कामदारहरुलाई पुन: फर्कन पनि नदिने नियम ल्याए पछी त धेरै चेलीहरु परिवार देखी लामो समय सम्म टाढा हुन वाध्य छन।छुट्टीमा जाने महिला कामदारहरु पनि पुन: फर्कनको लागि एजेन्टको सेटिङ मार्फत १ लाख भन्दा बढी नेपाली रुपैया बिचौलियाहरुलाई खुवाउदै आइरहेका छन।
नेपाल सरकारले अधिकारिक बाटोबाट नेपाली महिलाहरुलाई घरेलु कामदारमा पठाउन रोकेपछी चोरबाटोबाट नेपाली चेलीहरुलाई कमिशनमा बिदेश पठाउने गिरोह पनि धेरै ठुलो र शक्तीशाली भएको छ। उनीहरुको आफ्नै विश्व संजाल छ। उनीहरुले बिभिन्न समयमा बिभिन्न ठाउँलाई ट्रान्जिट र आश्रय केन्द्र बनाएका छन। त्यसो त ति अबैधानिक बाटो हुँदै आएका बैधानिक नेपाली चेलीहरुले अझै धेरै दु:ख पाएका, ज्यान गुमाएका र आफ्नो सतित्व समेत गुमाएका घट्ना-परिघट्ना अनी समाचारहरु आइरहेका छन।अहिले त देश-बिदेशका अनलाइनहरु मात्र होइन नेपालका मुलधारका संचार माध्यमहरु टेलिभिजन, पत्र-पत्रीका, रेडियो तथा विश्व भरबाट सामाजिक सन्जालको माध्यमबाट यस्ता बिचल्ली र यताना अनी मृत्युका खबरहरु हरेक दिन आउने गरेका छन । त्यसैले नेपाल सरकार तथा सम्बन्धित निकाय र त्यहाका पधाधीकारीहरु यो सबै अबैधानिक कृयाकलापबाट अनभिज्ञ अबस्य छैन।तर सरकार र सम्बन्धित निकायबाट चासोका साथ नहेरिए पछी र किटानी उजुरी पर्दा पनि राम्रो कार्यन्वयन नहुन सक्दा सरकारले ढोका थुनेर झ्याल खोले जस्तो देखिएको छ।
यसै हप्तामात्र भारतीय मानब अधिकारबादी महिला नेत्री स्वाती मालिवालको नेतृत्वमा भारतको नयाँ दिल्लीको होटलहरुबाट ३ पटक गरेर ७४ जना नेपाली महिलाहरुलाई चोरबाटोबाट खाडी राष्ट्रहरु लगायतमा अबैधानिक रुपबाट पठाउन लागेको अवस्थामा उद्दार गरिएको छ।स्वातीले स्थानिय प्रहरीको सहयोगमा आफ्नै अगुवाइमा एकै हप्ताका बिच पहिलो पटक दिल्लीको मुनिरकाबाट १६ जना, दोश्रो पटक मैदान गढीबाट १९ जना तथा पछिल्लो पटक पहाडगन्जको होटलबाट ३९ जना महिलहरुलाई उद्दार गरी सकेकी छिन। उनले एक भिडियोमा भनेकी छिन, “दिल्लीलाई कुनै न कुनै रुपले मानब तस्करीको अड्डा बनाइएको छ।श्रीलंका,दुबइ, कुवेत, इराक सिरिया, ओमन लगाएत मुलुकमा यसरी अबैधानिक रुपमा महिलाहरुलाई पठाउने बिरुद्द भारत सरकारले मानब बेबिखन जस्तो जघन्य अपराध भएकोले छिटो भन्दा छिटो कारबाही गरियोस”।
एक भारतीय चेलीले आफ्नो साहाशिक पहल कदमीबाट आफ्नो टिम र स्थानिय प्रहरीको सहयोगमा यती ठुलो संख्यामा बेचिन लागेका नेपाली चेलीहरुको उद्दार गरेर सबै तिर चर्चा-परिचर्चा चलिरहदा नेपाल सरकार वा सम्बन्धित निकायले भने अधिकारिक रुपमा केही बोलेको छैन।
कहिले सम्म स्वाती र स्वाती जस्तै बिभिन्न देशबाट समस्यामा परेका महिला कामदारहरुको राहत उद्दारमा लाग्ने सामाजिक संघ-संस्थाहरु, सामाजिक अभियन्ताहरु उद्दार गरिरहने, नेपाल सरकार ति एजेन्टहरुलाई पक्रिएर धमाधम कारबाही गर्नुको साटो टुलुटुलु हेरी रहने?कहिले सम्म नेपाली महिलाहरुलाई अबैधानिक बनाउने एजेन्टहरु भने तिनै चेलीहरुको कारोबारबाट कमाएको पैसाले शक्ति केन्द्र(पावर हाउस) धाउदै शक्तिशाली(पावरफुल) बनिरहने?
सरकार, बरु बिभिन्न तालिमहरु दिएर बिदेशिने महिला कामदारहरुमा सिप र शक्तिको बिकास गर्दै सम्बन्धित देश वा सरकारसंग सुरक्षित रोजगारिको ग्यारेन्टी गराएर आधीकारीक बाटो खुल्ला गरियोस,दिल्ली लगायतको चोरबाटो र सेटिङ मिलाउनेहरुलाई कारबाही गरियोस अनी नेपाली चेलीहरुलाई बेचिने दिल्ली जस्तै सबै चोरबाटो सधैंका लागि बन्द गरियोस।